मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा निर्माण अभियान

समाजवादी मोर्चा अभियानमा आफैँ छुटे बाबुराम

सोमबार, ०४ असार २०८०, १५ : २९
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले विगत २ वर्षदेखि समाजवादी मोर्चा बनाउने अभियान थालेका थिए । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग टकराबका बखत बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका थिए । यद्यपि बाबुराम त्यतिबेला जसपाकै सङ्घीय परिषद् अध्यक्षको रूपमा जिम्मेवारीमा थिए । 

‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह ः मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो ? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला ? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि ?’ यो भनाई २०७८ साल साउन २४ गते सामाजिक सञ्जाल ट्वीटरमा राखेर  बाबुरामले समाजवादी मोर्चाको प्रस्ताव गरे । पछि उपेन्द्रसँग मिल्नै नसक्ने गरी अन्तरद्वन्द्व चर्किँदै गएपछि बाबुरामले २०७९ साउन १३ गते आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरेका हुन् ।

एमाले बाहेकका पार्टीबीच मिलेर समाजवादी मोर्चा बनाउन माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेसपाले संवाद समिति बनाएका थिए । संवाद समिति मार्फत समाजवादी मोर्चा बनाउन निरन्तर छलफल भइरहेको थियो ।

बाबुरामले समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेको ठ्याक्कै २ वर्ष पछि आज दिउँसो ४ बजे समाजवादी मोर्चा बनाउने प्रस्तावले मूर्त रूप पाउँदै छ । तर, समाजवादी मोर्चा बनाउन वकालत गर्दै आएका बाबुराम उछिट्टिएर बाहिरिएका छन् । बाबुरामलाई ल्याउन उनकै पूर्व सहकर्मी उपेन्द्र यादव तगारो बनेको नेताहरूले बताएका छन् । अन्तिममा बाबुरामलाई मोर्चामा ल्याउने भए उपेन्द्रले नबस्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । ‘हामीले बाबुरामजीलाई मोर्चामा ल्याउन निक्कै जोड गरियो । बाबुरामजी समेत मोर्चामा आउन अत्यन्तै इच्छुक हुनुहुन्थ्यो’ ती नेताले भने, ‘बारम्बार उपेन्द्रजीले बाबुराम ल्याउने भए म बस्दिन तपाईँहरू मोर्चा बनाउनुहोस् भन्नुभयो ।’ मोर्चामा बाबुराम ल्याउन उपेन्द्र तगारो बनेपछि उनलाई समेट्न नसकिएको भन्दै ती नेताले दुःख व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डले सकेसम्म उपेन्द्र र बाबुराम दुबैलाई समेट्ने प्रयास गरेका थिए । अन्तिममा उपेन्द्र र बाबुराममध्ये एक रोज्नुपर्ने अवस्था आएपछि प्रचण्डले उपेन्द्रलाई रोजेका छन् । उपेन्द्र नेतृत्वको जसपाको संसद् सङ्ख्या १२ जना र बाबुरामको एक सिट पनि माओवादीकै चुनाव चिन्हबाट निर्वाचित भएकाले उपेन्द्र रोजाइमा परेका हुन् ।

यस्तै नेसपाका नेता गङ्गानारायण श्रेष्ठले आफूहरूलाई मोर्चामा नसमेट्नु दुःखद भएको प्रतिक्रिया दिए । ‘समाजवादी मोर्चा बनाउन बाबुराम सर लाग्नुभयो । उहाँलाई मोर्चामा समेट्न कतिपय तगारो बन्नुभयो’ श्रेष्ठले भने, ‘फुल पार्ने कोइली अण्डा कोरल्ने काग जस्तै हुन पुग्यो । निषेधको राजनीति बुझि नसक्नुभयो ।’ तर, जसपा प्रवक्ता मनिष सुमनले समाजवादी मोर्चामा बाबुरामलाई समेट्न उपेन्द्र यादवले रोकेको विषयमा थाहा नभएको बताए । ‘अध्यक्षज्यूसँग हिजोदेखि भेट भएको छैन । मोर्चामा के के भयो थाहा भएन ?’सुमनले भने-‘अध्यक्षज्यूलाई भेटेपछि मात्रै सबै थाहा हुन्छ ।’ अब समाजवादी मोर्चामा माओवादी केन्द्रसहित जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मात्रै हुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप