सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मोर्चा

समाजवादी मोर्चामा नसमेटिएपछि नेसपाका नेताहरु माओवादीसँग एकता गर्नुपर्ने पक्षमा

बुधबार, ०६ असार २०८०, २१ : १२
बुधबार, ०६ असार २०८०

काठमाडौँ । समाजवादी मोर्चामा नसमेटिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरुले माओवादी केन्द्रसँग एकता गर्न जोड दिएका छन् । गत मंसिरको चुनावदेखि नै सहकार्य हुँदै आएकाले माओवादीसँग एकता गरेर जानुपर्ने उनीहरुको तर्क छ ।

समाजवादी मोर्चा बनाउने अवधारणा नेसपाका नेता डा. बाबुराम भट्टराईले अघि सारेका थिए । २०७८ साल साउन २४ गते सामाजिक सञ्जाल ट्वीटरमा लेखेर बाबुरामले विचार मिल्ने कम्युनिस्ट पार्टीहरुलाई समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका हुन् । त्यस यता समाजवादी मोर्चा बनाउन बाबुरामले लगातार मेहनत जारी राखे ।

तर, अन्तिममा जसपा अध्यक्ष उपेन्द्र यादवका कारण समाजवादी मोर्चा निर्माणका अभियन्ता बाबुराम भट्टराई नै मोर्चाबाट बाहिर भएका छन् । समाजवादी मोर्चामा बाबुराम छुटेपछि माओवादी र नेसपाका दोस्रो तहका नेताहरु पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

माओवादी केन्द्रका सचिव मातृका यादवले बाबुराम भट्टराई समाजवादी मोर्चामा छुटे पनि माओवादी केन्द्रसँग एकता गरेर जानुपर्ने बताए । ‘बाबुरामजीलाई मोर्चामा समेटेको भए ठिकै हुन्थ्यो । मोर्चामा नसमेटिए पनि हामीसँग चुनावदेखि सहकार्य भइराखेको छ । एकता गर्ने कुरा भएको थियो । त्यसमा हाम्रो पार्टीबाट केही कमजोरी भयो कि के भयो ! पार्टी एकता गर्न फाइनल भइसकेको अवस्थामा रोकियो,’ यादवले भने, ‘कुनै नेताको संकिर्णता र निषेधको राजनीतिले समेटिनु भएन । बाबुरामको व्यक्तित्व, उचाइ र लगानी कसैले माइनस गर्दैमा माइनस हुन सक्दैन ।’

बाबुराममात्रै नभएर सबै माओवादी पृष्ठभूमिका नेताहरु एक ठाउँमा उभिएर जनयुद्धका उपलब्धिको रक्षा गर्नुपर्ने यादवले बताए । ‘मैले सबै माओवादीहरु एक ठाउँमा बस्नुपर्छ भन्दै आएको छु । सबै माओवादी एक भएर बहस र छलफल गरी निकास दिनुपर्छ,’ उनले भने, ‘माओवादी जनयुद्धले ल्याएका उपलब्धिको रक्षा गर्न मिल्नुको विकल्प छैन ।’

बाबुरामलाई माओवादीमा ल्याउन नहुने भन्दै कतिपय सक्रिय भए पनि उनीहरु निर्णायक नभएको यादवको दाबी छ ।

बाबुरामसँग लामो समय सहकार्य गरेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बाबुरामलाई समाजवादी मोर्चामा समेट्दा राम्रो हुने बताए । ‘समाजवादी मोर्चा बनाउन बाबुरामजी लाग्नुभयो । राजनीतिक उतारचढावका कारणले छोडियो । सकेसम्म उहाँलाई मोर्चामा समेट्नु पर्छ,’ पौडेलले भने, ‘यदि बाबुरामलाई मोर्चामा समेट्न नसकेमा माओवादीसँग एकता गर्ने वातावरण बनाउनुपर्छ ।’

बाबुराम आफैँले बनाएको घर (माओवादी)मा फर्किन अप्ठ्यारो मान्न नहुने पौडेलले बताए । ‘माओवादी बाबुरामजीले पनि बनाएको घर हो । नामकै कारण आउँदिन भन्नु हुँदैन । पुनर्विचार गरेर माओवादीमा फर्किनुपर्छ,’ पौडेलले भने, ‘उहाँ फर्किदा देश, जनता र माओवादी आन्दोलन विकास गर्न सहयोग पुग्छ ।’

यस्तै माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले बाबुराम माओवादीमै फर्किएर योगदान गर्नुपर्ने बताए । ‘बाबुराम कमरेडको माओवादी आन्दोलनमा लामो इतिहास छ । जनमोर्चा हुँदै जनयुद्ध, शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्नुभयो,’ शेर्पालीले भने, ‘परिस्थितवस वा अन्य कुनै कारणले माओवादी छोड्नुभयो । पछिल्लो चरणमा एउटै चुनाव चिह्न लिएर लडेपछि एउटै पार्टी हुने भन्ने भयो । समाजवादी मोर्चा बन्दासम्म उहाँ समेटिनु भएन ।’

बाबुरामको ऐतिहासक योगदान, योग्यता र क्षमता बमोजिम भूमिका दिएर माओवादीमा फर्काउनुपर्ने शेर्पालीले बताए ।

तर, नेसपाका एक प्रभावशाली नेताले मोर्चामा नसमेटिए माओवादी केन्द्रसँगै एकता गरेर जाने गरी पहल गरिने बताए । ‘समाजवादी मोर्चा बनाउन बाबुराम सर लाग्नुभयो । कतिपयको निषेध र संकिर्णताले बाहिरिनुप¥यो,’ ती नेताले भने, ‘अब माओवादीसँग एकता गरेमा स्वतः मोर्चामा समेटिन्छौँ ।’ योगदान गर्न चाहने नेतालाई कसैले निषेध गर्दैमा नरोकिने ती नेताले जिकिर गरे ।

माओवादीसँग एकता गर्न बाबुरामले मानेका छैनन् । मोर्चा मार्फत सहकार्य गर्दै एकतामा जाने योजना बाबुरामले बनाएका थिए । त्यसो भएमा फेस सेभिङ हुनुका साथै पार्टी एकता गर्न सहज हुने बाबुरामको आकलन थियो ।

समाजवादी मोर्चामा नसमेटिएपछि बाबुराम माओवादीसँगको एकतामा जान आनाकानी गरेको नेसपाका नेताहरु बताउँछन् । उनीहरुका अनुसार बाबुराम सबै मान्न तयार भए पनि माओवादी नामको पार्टीमै फर्किन तयार नभएकाले समस्या परेको हो । यदि नेसपा र माओवादी दुवै पक्षका नेताहरुको प्रेसर बढ्दै गएमा बाबुरामले के गर्छन्, अहिले नै भन्न सक्ने अवस्था छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप