शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको १०२ वर्षे यात्रा, पार्टी सदस्य सङ्ख्या १० करोड नजिक

शनिबार, १६ असार २०८०, ०८ : ४८
शनिबार, १६ असार २०८०

चीन । चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापना भएको १०२ वर्ष अवसरमा शनिवार चीनमा वार्षिकोत्सव समारोह आयोजना गरिएको छ । सन् १९२१ जुलाई १ तारिखमा दिन अहिले चीनको सबैभन्दा विकसित र आधुनिक वाणिज्य सहर शाङहाईमा उक्त पार्टी स्थापना भएको थियो । 

एक सय दुई वर्षे कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा चीनका राष्ट्राध्यक्ष एवं सीपीसीका महासचिव सी चिनफिङले विशाल कम्युनिस्ट पार्टी रहेको कठिनाइको सामना गरी गम्भीर रूपमा पार्टीको व्यवस्थापन गर्ने प्रणालीको पूर्णता दिलाउने र उच्च गुणस्तरीय पार्टी सदस्य टोली स्थापना गर्नुपर्ने कुरामा जोड दिएका छन् । 

वार्षिकोत्वको अघिल्लो दिन शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति संगठन विभागले गरेको घोषणाअनुसार पार्टीको सदस्य ९ करोड ८४ लाख पुगेको जनाएको छ । 

सन् २०२१ देखि यो सङ्ख्या लगभग १ दशमलव ३३ मिलियन अथवा १ दशमलव ४ प्रतिशतले बढेको छ । आगामी वर्ष सदस्यसंख्या १० करोड भन्दा माथि पुग्ने अनुमान समेत गरिएको छ । हाल चीनको जनसङ्ख्या करिब एक अर्ब ४० करोड रहेको छ । 

वार्षिकोत्सवको अवसरमा सीपीसीका महासचिव एवं राष्ट्राध्यक्ष सीले पार्टीको निर्माण र व्यवस्थापन कार्यप्रति निर्देशन दिएका छन् । उनले भनेका छन् ‘ एउटा सत्तारुढ पार्टीको क्रान्ति छोटो समयमा पूरा हुन सक्दैन ।’ पार्टीको गम्भीर व्यवस्थापन गर्ने सीको विचारधारामा कडा अनुशासनबाट पार्टी सदस्यको व्यवहारलाई सुधार गर्ने, भ्रष्टाचारीलाई विरोध गर्ने र व्यवस्थापन प्रणालीलाई पूर्णता दिलाउनु पर्ने छ । 

चिनियाँ कम्युनिस्ट पार्टी आत्मक्रान्ति मार्फत बलियो मुलुक निर्माण गर्ने र चिनियाँ जनताको सेवा गर्ने कुरामा प्रत्याभूति दिने सीले सन्देश मार्फत उल्लेख गरेका छन् ।

सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीका १८ औँ  राष्ट्रिय महाधिवेशनपछि सी महासचिवमा निर्वाचित भएपछि लगातार राष्ट्राध्यक्ष भएका छन् । 

विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको चीनले आफूलाई विकासोन्मुख मुलुक भन्दै आएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०३५ सम्म मध्यम स्तरको विकास गर्ने र सन् २०४९ सम्ममा आधुनिक विकसित मुलुक बन्ने लक्ष्य तय गरेको छ । सन् २०४९ नयाँ चीन स्थापनाको शत वार्षिकोत्सव पनि हो । 

गत वर्ष सन् २०२२ को अक्टोवरमा बेइजिङमा सम्पन्न सीपीसीको २० औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा चीनले सन् २०४९ सम्मको मार्गचित्र प्रस्तुत गरेको छ । 

सन् १९७८ मा चीनमा तङ स्याओफिङले अवलम्बन गरेको सुधार र खुल्लापनका कारण चीनले समाजवादी व्यवस्था र विकासको नमुना देखाउन सफल भएको हो । 

स्याओपिङको नीति अनुसार अगाडि बढेको सीपीसीले  चीनलाई विश्वको कारखाना बनाउने काम गरेको छ । विश्वभर उत्पादन हुने अधिकांश वस्तु चीनमा निर्माण हुने भएकाले त्यसो भनिएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको नीति अनुसार चीनमा केन्द्रीय सरकार, प्रान्तीय, नगरपालिका र जिल्ला स्तरीय गरी तहहरूमा कम्युनिस्ट पार्टीबाट सञ्चालन गर्ने प्रणाली छ । 

पछिल्लो समयमा सीपीसीले नेतृत्वमा गरिबी निवारणमा पनि उल्लेख काम गरेको छ । सन् २०१२ देखि सी सत्तामा पुगेपछि करिब ९ करोड ८९ लाख ९० हजार गरिब चिनियाँ नागरिकलाई गरिबबाट मुक्त गराइएको तथ्यहरू चिनियाँ सञ्चारमाध्यमहरुले प्रसारण गरिरहेका छन् । चीनमा ८ सय ३२ वटा काउन्टी र एक लाख २८ हजार गाउँघर गरिबबाट मुक्त भएका छन् ।      

यस्तो छ सीपीपीको इतिहास 

सन् १९२१ जुलाई १ तारिकका दिन चिनियाँ युवा श्रमिकहरूले सर्वहारा जनताको मुक्तिका लागि भनेर चीनको पूर्व क्षेत्रमा रहेको शाङहाई सहरमा पार्टी स्थापना गरेका थिए । राजतन्त्रात्मक शासन र विदेशी हस्तपेक्षका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । 

सीपीसीको पहिलो राष्ट्रिय महाधिवेशन सन् १९२१ को जुलाई महिनाको २३ देखि अगस्ट २ तारिकसम्म शाङहाई च्यासिङमा डुङ्गाभित्र आयोजना भएको थियो । पहिलो महाधिवेशनमा ५७ जना सदस्य थिए । त्यति बेला शाङहाई फ्रान्सको अर्ध उपनिवेश जस्तै थियो । सो सम्मेलनमा माग लिने प्रतिनिधिहरू सन् १९४९ मा जनवादी गणतन्त्र घोषणा हुँदा केवल दुई जना माओ चतोङ र तोङ पिवु मात्र सहभागी थिए । 

चिनियाँ मिडिया ग्रुप (सीएमजी) नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यले हालै प्रकाशित गरेको ‘नयाँ युगमा चीन’ पुस्तकका अनुसार सन् १९४९ अक्टोबर १ मा चीन गणतन्त्र भयो र सीपीसी सम्पूर्ण रूपमा चीनको सत्तामा आयो । 

सत्तामा आएपछि खुल्ला रूपमा आयोजित सीपीसीको पहिलो महाधिवेशनका रूपमा बेइजिङमा आठौँ महाधिवेशन आयोजना भयो । त्यसअघि सीपीसीको महाधिवेशन दोस्रो शाङहाई, तेस्रो, क्वाङचौ, चौथो शाङहाई, पाँचौँ वुहान, छैटौं मस्को (रुस) सातौँ यानआनमा भएको थियो । आठौँ महाधिवेशनपछि सन् २०२२ अक्टोबर १६ देखि २२ सम्म भएको २० औँ महाधिवेशनसम्म आइपुग्दा सबै महाअधिवेशन राजधानी बेइजिङ्गमा सम्पन्न भएको छ । सीपीसीको छेटौं महाधिवेशन सन् १९२८ जुन १८ देखि जुलाई ११ सम्म मस्कोमा भएको थियो । सीपीसीको इतिहासमा चीन बाहिर भएको महाधिवेशन यो पहिलो थियो । सन् १९२७ मा सीपीसीको नेतृत्वमा  जनमुक्ति सेनाको स्थापना गरिएको थियो । सन् १९३१ देखि चीनमा जापानले लगातार आक्रमण गरेको थियो । मस्को महाधिवेशनको १७ बर्षपछि मात्र सन् १९४५ मा सीपीसीको सातौँ महाधिवेशन यानआनमा सम्पन्न भएको थियो ।  

सन् १९९७ सेप्टेम्बर १२ देखि १८ सम्म आयोजित सीपीसीको १५ औँ राष्ट्रिय महाधिवेशनले मार्क्सवाद, लेनिनवाद र माओ चेतोङ विचारका साथै तङ स्याओफिङ सिद्धान्तलाई चिनियाँ कम्युनिस्ट पार्टीको मार्गदर्शन विचारधारा बनाउने निर्णय गर्दै विधानमा समावेश गरेको हो ।

त्यसपछि सन् २०१२ नोभेम्बर ६ देखि १५ सम्म भएको सीपीसीको १८ औँ राष्ट्रिय महाधिवेशनबाट सी चिनफिङ महासचिव निर्वाचित भए । सन् २०१३ मार्चदेखि सी चिनियाँका राष्ट्राध्यक्ष छन् । सन् २०१७ अक्टोबर १८ देखि २४ सम्म आयोजित सीपीसीको १९ औँ राष्ट्रिय महाधिवेशनले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादमा सी चिनफिङ विचारधारा’ नामक नयाँ मार्गदर्शक विचारधारालाई पार्टीको विधानमा समेटेको छ । 

सीको विचारधाराअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले चीनले विकास निर्माण अभियानमा सन् २०४९ सम्म ‘विकसित चीन’ लक्ष्यमा अगाडि बढेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप