आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

मजदुरलाई सुनको ‘भरिया’ बनाएर काठमाडौँमा होटल, लहानमा ‘रेमिट’

४ जनाको कारोबार २ अर्ब ३७ करोड
सोमबार, २५ असार २०८०, १७ : ५५
सोमबार, २५ असार २०८०

काठमाडौँ । कतारबाट मजदुरी गरेर स्वदेश फर्किनेहरूलाई साना–साना परिमाणको सुन बोकाएर एउटा समूहले करोडौँ रकम असुलेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रूपमा कतारबाट सुन ल्याउने गिरोहका मुख्य लगानीकर्ता सिराहाको लहान नगरपालिका–४ घर भएका शिव सुन्दर राउतसहित १२ जनालाई पक्राउ गरेको छ ।

लहान–४ स्थित कुमहाल टोल बस्ने राउत ‘रितेश जनलर स्टोर’ र लहान स्थित ‘आई पे रेमिट’को सञ्चालक हुन् । २०१९ पछि राउतले ४१ वटा बैङ्क खाता मार्फत १ अर्ब ९३ करोडको कारोबार गरेको भेटिएको छ । अवैध सुन कारोबार गरेर सम्पत्ति आर्जन गरेका शिव सुन्दरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

काठमाडौँमा उनका मुख्य ‘एजेन्ट’ छन् । उनी हुन् सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर–२ घर भएर सिनामंगल बस्ने २८ वर्षीय विनोद कुमार शाह । विनोद शाह र उनकी पत्नी २५ वर्षीया सञ्जु कुमारी शाहले कतारबाट मजदुरले ल्याउने सुन सङ्कलन गर्छन् अनि, शिव सुन्दरलाई पठाउँछन् । शिव सुन्दरले भनेको ठाउँमा बेचेर उनीहरूले नगद पनि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

विनोद कुमार शाहले पछिल्लो केही वर्षमा ४१ करोड ५४ लाख कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा. मनोज केसीले रातोपाटीलाई बताए । सिनामंगलमा विनोद र पत्नी सञ्जुले होटल चलाएका छन् । ‘होटल हिमालयन स्पायर’ नामको होटल उनीहरूले सुन कारोबार गरेर खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताए । डा. केसी भन्छन्, ‘कतारबाट सुन पठाउन लगाउने र नेपालमा ल्याएपछि मजदुरलाई न्यूनतम रकम दिएर गिरोहले नाफा खाने गरेको देखिन्छ, त्यो चक्रलाई हामीले तोड्न खोजेका छौँ ।’

सिक्रीको आकारमा सर्टको कलर र जुत्तामा लुकाएर ५ जनाले ल्याएको र गाल्ने ठाउँमा बेचेको सहित ८ सय २८ ग्राम प्रहरीले बरामद गरेको छ । आरोपीहरू विरुद्ध ‘सङ्गठित तस्करी’ विरुद्धको कसुरमा अनुसन्धान गरिने एसएसपी डा. केसीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नेमा विनोदका सहयोगी सप्तरीको बोदेवसाइन–१ घर भएका देवानन्द शाह सहित १० जना छन् । लहानबाट शिव सुन्दर र उनका सहयोगी सिराहा हनुमानम–५ घर भएका मोहन कुमार यादव छन् । कतारबाट फर्किएका ५ जना मजदुरको साथबाट प्रहरीले ५८ ग्राम दरको सिक्री आकारका सुन बरामद गरेको छ । विदेशबाट फर्किनेहरूलाई सुन ल्याइदिएबापत मुख्य योजनाकारले सिनामंगल स्थित ‘होटल हिमालयन स्पायर’मा एक रात बस्ने सुविधा र  १० हजार नगद दिने गरेको उनीहरूले प्रहरीसँग बताएका छन् । विदेशबाट सुन पठाउनेले ‘भरिया’को फोटो काठमाडौँमा सञ्जु र  विनोदको मोबाइलमा पठाउँथे । त्यसपछि उनीहरू रिसिभ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जान्थे ।

४ जनाको कारोबार २ अर्ब ३७ करोड

सुन तस्करीमा संलग्न गिरोह आइतबार पक्राउ परेका हुन् । तस्करीमा संलग्न ४ जनाको कारोबार २ अर्ब ३७ करोड ८२ लाख भन्दा धेरै भेटिएको छ । शिव सुन्दर राउतले संचालन गरेको ‘रितेश जनरल स्टोर’को नामबाट १ अर्ब ८१ करोड ५७ लाख आर्थिक कारोबार गरेको भेटिएको छ । राउतले व्यक्तिगत खाता मार्फत १२ करोड ११ लाख र विनोद कुमार शाहले ४१ करोड ५४ लाख कारोबार गरेको फेला परेको छ ।

विनोद शाहकी पत्नी सन्जु कुमारी शाहले बैंकमार्फत २ करोड १० लाखको आर्थिक कारोबार गरेको भेटिएको छ । शिव सुन्दरका सहयोगी मोहन कुमार यादवको खातामार्फत ४८ लाख कारोबार गरेको भेटिएको एसएसपी डा. केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप