सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान्‌को साटो प्रायः श्रीमतीले नै किन गर्छन् करियर र जागिरको त्याग ?

बुधबार, १० साउन २०८०, १४ : २६
बुधबार, १० साउन २०८०

नौ वर्षअघि, स्मृति (नाम परिवर्तन) काठमाडौँको एक इन्जिनियरिङ कम्पनीमा निर्माण प्रबन्धक थिइन् ।  पारिश्रमिक राम्रै थियो र उनलाई आफ्नो काम पनि मन पर्दथ्यो । तर, बिहे गरेको एक वर्षमै उनले जागिर छाडिन् ।

उनी भन्छिन्, ‘श्रीमान् नवलपरासीको एउटा गाडी निर्माण कम्पनीमा काम गर्थे । त्यसपछि उनलाई अर्को कम्पनीबाट जागिरको अफर आयो तर त्यसका लागि उनी चितवन जानुपर्ने भयो । यो प्रस्तावबाट उनी निकै खुसी भएको मैले देखेँ । यस्तो अवस्थामा मैले जागिर छोडेर उनीसँगै चितवन जाने निर्णय गरेँ ।’

स्मृतिले इन्जिनियरिङ पढेकी थिइन् र कडा मेहनतपछि राम्रो स्थितिमा पुगेकी थिइन् । तर जब उनको श्रीमानको करियर र उनको खुसीको कुरा आयो, उनले आफ्नो करियर र आफ्नो खुसीलाई तिलाञ्जली दिइन् ।

शिक्षाको क्षेत्रमा महिलाहरू पुरुषभन्दा अगाडि छन् तर जागिर र रोजगारीको हकमा भने धेरै पछाडि छन्  । र विवाह पछि कोही एकलाई जागिर वा व्यवसाय छान्नुपर्ने हुन्छ तब प्रायः महिलाले नै त्याग गर्नुपर्ने हुन्छ । 

अनुसन्धानकर्ताहरूले ग्लोबल कन्सल्टिङ कम्पनी डेलोइटको ‘वुमन एट वर्क २०२३’ प्रतिवेदनका लागि १० देशका ५ हजार महिलामाथि सर्वेक्षण गरेका थिए । जसमध्ये ९८ प्रतिशत महिला पुरुषसँग सम्बन्धमा थिए ।

सर्वेक्षणमा ४० प्रतिशत महिलाले आफ्नो पति वा पुरुष पार्टनरको करियरलाई प्राथमिकता दिने गरेको पाइएको छ ।

working coupleआम्दानीमा अन्तर

यसका धेरै कारण महिलाले दिएका छन् । केही आर्थिक र केही सामाजिक कारण थिए । यसमा घरायसी जिम्मेवारी सम्हाल्नु र परिवारका सदस्यहरूको हेरचाह गर्नु समावेश थियो । तर यो सर्वेक्षणमा सबैभन्दा ठुलो कारण बाहिर आएको छ – पुरुष पार्टनरले उनीहरूभन्दा बढी पैसा कमाउनु । 

यो अचम्मको कुरा होइन किनभने केही अनुसन्धानले देखाएको छ कि विश्वभरका महिलाले पुरुषले कमाएको १ रुपैयाँको तुलनामा ७७ पैसा मात्र कमाउँछन् ।

डेलोइटमा विश्वव्यापी विविधता, समता र समावेशिता हेर्ने एमा क्वाड भन्छिन्, ‘जब आम्दानीमा भिन्नता हुन्छ, कठिन समयमा कम कमाउनेहरू पछि पर्नु स्वाभाविक हो । चाहे त्यो निर्णय जानेर वा नजानेर लिइएको नै किन नहोस् । ’

न्यूयोर्क सहरको हन्टर कलेजकी सामाजिक विज्ञानकी प्राध्यापक पामेला स्टोन भन्छिन्, ‘महिलाहरू दूरदर्शी छैनन् वा उनीहरू उदार र प्रगतिशील छैनन् भन्ने होइन । उनीहरू त कोसँग राम्रो मौका छ भनेर हेर्छन् । तपाईंले दाउ नै लगाउनुपर्छ भने तपाईं राम्रो सम्भावनालाई हेर्दै महिलाको साटो पुरुषको करियर दाउमा लगाउनुहुन्छ । यसको कारण हो – लिङ्गको आधारमा हुने भेदभाव ।’

श्रीमान्‌को आम्दानीको तुलनामा महिलाको आम्दानी बढ्न थाले पनि उनको करियरले श्रीमानकोभन्दा बढी प्राथमिकता पाउँछ भन्ने ग्यारेन्टी छैन ।

डेलोइटको प्रतिवेदनमा यस्ता धेरै घटनाहरू उल्लेख गरिएको छ जहाँ महिलाहरूले आफ्ना पुरुष साथीभन्दा बढी कमाउँदा पनि आफ्नो करियरलाई महत्त्व दिएनन् । १० मध्ये एक महिलाले आफ्नो पार्टनरले भन्दा बढी कमाउँथे तर ती मध्ये २० प्रतिशत आफ्नो पार्टनरको करियरलाई प्राथमिकता दिन दबाबमा थिए ।

एम्मा कोड भन्छिन्, ‘यी तथ्याङ्कले हामीलाई स्तब्ध बनायो । यसको पछाडि सांस्कृतिक कारण हुन सक्छ ।’

working manपुरुषको सोच

प्राध्यापक पामेला स्टोन र उनका सहकर्मीले हार्वर्ड बिजनेस स्कुलमा अध्ययनरत विभिन्न उमेर समूहका २५,००० भन्दा बढी मानिसहरूसँग कुरा गरे ।

कुराकानीको क्रममा उनीहरूले के पत्ता लगाए भने अधिकांश महिलाहरूले एग्यालिटेरियन म्यारिज अर्थात् समतावादी विवाहको अपेक्षा गरेका थिए, जसमा पति र पत्नी दुवैको करियरलाई समान महत्त्व दिइन्छ । जबकि आधाभन्दा बढी पुरुषले श्रीमतीभन्दा आफ्नो करियरलाई बढी महत्त्व दिनुपर्ने बताएका छन् ।

पुरुषबाट ब्रेड विनर अर्थात् कमाई गर्नुपर्ने अपेक्षा राखिन्छ तर यो शब्दको अर्थ धेरै पैसा कमाउने सम्ममा मात्रै सीमित छैन । उनीहरूमाथि महिला साथीभन्दा बढी कमाउने दबाब पनि रहन्छ । 

बेलायतको युनिभर्सिटी अफ बाथले गरेको एक अनुसन्धानका अनुसार पुरुषको मानसिक स्वास्थ्यमा पनि उनीहरू आफ्नो महिला पार्टनरको तुलनामा बढी पैसा कमाउन सक्षम छन् कि छैनन् भन्ने कुराले असर गर्छ ।

प्यु रिसर्च सेन्टरद्वारा सन् २०२३ मा गरिएको एक सर्वेक्षणमा भनिएको छ  – कुनै जोडीले बराबर पैसा कमाइरहेको छ भने पनि उनीहरू लिङ्गमा आधारित पारम्परिक भूमिका निभाउन थाल्छन् । जस्तै पुरुष पैसा कमाउने र मनोरञ्जक गतिविधिमा बढी समय बिताउँछन् भने महिला घरको काम, बच्चाको हेरविचारमा व्यस्त हुन्छन् ।

दिल्लीको जामिया मिल्लिया इस्लामिया युनिभर्सिटीका सरोजिनी नायडू सेन्टर फर विमेन्स स्टडिजमा असोसिएट प्रोफेसर डा.  फिरदौस अजमत सिद्धिकीका अनुसार महिलाले विवाहपछि करियरलाई प्राथमिकता दिएमा फरक किसिमको सामाजिक सङ्कट आउन थाल्छ ।

उनी भन्छिन्, ‘महिलालाई लक्षित गर्दै पश्चिमी शैली अपनाएको परिवार फुटाएको र सम्बन्धविच्छेद बढिरहेको भन्दै विभिन्न लाञ्छना लगाइन्छ । जबकि यस्तो यस कारण भइरहेको छ किनभने पुरुष परिवर्तनका लागि तयार छैनन् । आफू कामबाट फर्किँदा श्रीमती चिया लिएर तयार होस् भन्ने उनीहरू चाहन्छन् जबकि घर र अफिस दुवैको काम सम्हाल्नका लागि महिला सुपरवुमन नै हुनुपर्छ । ’

motherकामको दोहोरो बोझ

महिला आफैँ पनि कहिलेकाहीँ आफ्नो करियरलाई कम महत्त्व दिन्छन् । कहिले काहीँ सम्बन्धमा कलह नआओस् भनेर जानाजानी यस्तो गर्छन् । धेरै पटक यो अनजानमा हुन्छ किनभने उनीहरूलाई थाहा नै हुँदैन कि उनीहरुले कहिले आफ्नो करियरलाई कम मूल्याङ्कन गर्न सुरु गर्छन् ।

डेलोइटकी अधिकारी एम्मा कोड भन्छिन्, ‘मानिसहरू महिला र पुरुषहरूका लागि समाजले बनाइदिएको मापदण्डमा फस्छन् र यस्तो अनजानमा पनि हुनसक्छ ।’

डेलोइटको प्रतिवेदन अनुसार सर्वेक्षणमा भाग लिने ८८ जना महिलाले फुल टाइम काम गरे पनि तीमध्ये झन्डै आधाले घरायसी कामहरू जस्तै सरसफाइ र बालबालिका वा वृद्ध वृद्धाहरूको हेरचाहका कामहरू पनि गर्नुपर्छ । केवल १० प्रतिशतले यी काम उनीहरूका पुरुष साथीले सम्हाल्छन् भनेका छन् ।

डेलोइटका कार्यकारी एम्मा कोड भन्छिन्, ‘हामीलाई थाहा छ कि अगाडि बढ्नु भनेको अफिसमा आएर आफ्नो काम गर्नु मात्र होइन । यसका लागि तपाईंले अगाडि बढ्नका लागि अवसरहरू समात्नु पर्छ । तर जब तपाईं जागिर खाएपछि घर गएर पनि काम गर्नुहुन्छ, सप्ताहान्तमा पनि काम गर्नुपर्छ भने थकान र बर्नआउट (लामो समयदेखि बनिरहेको भावनात्मक, शारीरिक र मानसिक तनाव) का कारण तपाईंले अघि बढ्ने अवसरलाई यो भन्दै छोड्ने सम्भावना हुन्छ कि यसका लागि तपाईंसँग ऊर्जा नै बाँकी छैन ।’

आफ्नो उदाहरण दिँदै डा. फिरदौस अजमत सिद्धीकी भन्छिन्, ‘म र मेरो श्रीमान् दुवै कामकाजी हौँ र घरको काम पनि दुबै जना मिलेर गर्छौँ । तर सबै घरमा यस्तो हुँदैन ।’

उनी भन्छिन्, ‘एकल परिवारमा महिलाको करियरले पनि महत्त्व पाउने सम्भावना बढी रहन्छ किनभने श्रीमान् श्रीमती मिलेर केही न केही उपाय निकाल्छन् । तर जहाँ अन्य आफन्तको धारणाले निर्णयलाई प्रभावित पार्छ त्यहाँ महिलाले आफ्ना इच्छा र आकांक्षालाई मार्नुपर्छ । जहाँ यस्तो हुँदैन, त्यहाँ तपाईंले महिलाले राम्रो प्रदर्शन गरिरहेको देख्नुहुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप