शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रभु साहको आक्रोश

गौर घटना प्रकरणमा माओवादीले किन दियो उपेन्द्र यादवलाई साथ ?

बुधबार, १० साउन २०८०, १४ : ४८
बुधबार, १० साउन २०८०

काठमाडौँ । २०६३ चैत ७ गते रौतहटको गौर बजारमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । त्यसमा ११५ जना घाइते भएका थिए । उक्त घटनालाई ‘गौर हत्या काण्ड’ को रुपमा चिनिन्छ ।

‘गौर हत्या काण्ड’ भएको १७ वर्ष पुग्दासमेत घटनाका दोषीलाई कारबाही भएको छैन । वर्षौं बित्दा पनि दोषीमाथि कारबाही नहुँदा पीडितले न्यायको अनुभूति गर्न सकेका छैनन् । उनीहरुले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।

पीडितहरुले गौर हत्याकाण्ड पीडित संघर्ष समिति नै गठन गरेर ध्यानाकर्षण गराउँदै आएका छन् । संघर्ष समितिले साउन १ गते गौरमा वृहत् प्रदर्शन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । संघर्ष समितिले गौर हत्या काण्डमा मुख्य दोषी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै आएको छ । यादव त्यतिबेला मधेसी जनअधिकार फोरमका अध्यक्ष थिए ।

यसरी पीडित संघर्ष समितिले अध्यक्ष यादवमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका थिए । मंगलबार सत्ता गठबन्धनमा रहेका दलहरुले पनि गौरमा प्रदर्शन गरी आम जनता पार्टीका अध्यक्ष प्रभु साहमाथि कारबाहीको माग गरेका छन् । अध्यक्ष साहले काशीनाथ तिवारीलगायतका व्यक्तिको हत्या गरेको उनीहरुको आरोप छ ।

यसरी गौर घटनालाई लिएर गौरमा यतिखेर आम जनता पार्टीका अध्यक्ष प्रभु साह र जसपाका अध्यक्ष उपेन्द्र यादव आमनेसामने भएका छन् । उपेन्द्र यादवलाई यतिखेर माओवादी केन्द्रका नेताहरुले पनि साथ दिएका छन् । जबकि सो घटनामा मारिएका सबै माओवादीका नेता तथा कार्यकर्ता हुन् ।

मंगलबार सत्ता गठबन्धनले गौरमा गरेको प्रदर्शनमा माओवादीका कार्यकर्ता तथा नेता पनि सहभागी थिए । रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा माओवादी नेता विरेन्द्रको हस्ताक्षर छ । जुलुस निकाल्दा प्रयोग गरिएको ब्यानरमा पनि माओवादीको लोगो छ ।

तर माओवादीका रौतहट जिल्ला इन्चार्ज समीर भट्टराई मंगलबारको जुलुसमा माओवादी केन्द्रको संलग्नता नरहेको दाबी गर्दछन् । उनी भन्छन्, ‘हिजो भएको प्रदर्शनमा माओवादीको संलग्नता थिएन, सीडीओ कार्यालयमा बुझाएको ज्ञापनपत्रमा माओवादीको तर्फबाट हस्ताक्षर गरेका विरेन्द्र पाण्डे माओवादीका सामान्य कार्यकर्ता हुनुहुन्छ, उहाँलाई झुक्याएर हस्ताक्षर गराइएको छ ।’

गौर हत्या काण्डमा माओवादीको धेरै ठूलो क्षति भएको उल्लेख गर्दै भट्टराईले त्यसका दोषीलाई कारबाहीको माग गरिरहेको अवस्थामा सत्ता गठबन्धनले निकालेको जुलुसमा संलग्न हुने सवाल नै नआउने बताए ।

तर रौतहटका माओवादीका जिल्ला अध्यक्ष विन्देश्वर यादवले मंगलबारको प्रदर्शनमा माओवादीको संलग्नता रहेको प्रस्ट पारे । उनले भने, ‘हिजोको प्रदर्शन गौर हत्या कण्डको दोषीको बाचाउमा थिएन, प्रभु साहको विरोधमा थियो, उहाँले रौतहटमा थुप्रै जनाको हत्या गर्नुभएको छ । त्यही भएर उहाँलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो । त्यसमा हाम्रो संलग्नता थियो ।’

प्रभु साहले गौर हत्या काण्डको कुरा उठाएर आफ्नो संगठन बनाउन चाहेको यादवको आरोप छ । प्रभु साहले सिधै उपेन्द्र यादवलाई दोषी देखाउँदै कारबाही गर्ने भनेका छन् तर माओवादीका नेता विन्देश्वर यादवले उपेन्द्र यादवको नाम लिन चाहेका छैनन् । उनी भन्छन्, ‘जुन दिन गौरमा त्यो घटना भएको थियो, त्यो दिन त्यहाँ उपेन्द्र यादवको उपस्थिति थिएन त्यसैले उहाँ दोषी हो कि होइन, हामीले भनेर हुँदैन ।’ ६ जनाको विरुद्धमा प्रहरी प्रशासनमा उजुरी आफूले नै दिएको तर त्यसमा उपेन्द्र यादवको नाम छ कि छैन भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप