मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व हेपाटाइटिस दिवस

हेपाटाइटिसलाई सामान्य नठानौँ : ड्यामेज हुन सक्छ कलेजो

हेपाटाइटिस रोग के हो, कसरी सर्छ  ?
शुक्रबार, १२ साउन २०८०, ११ : १९
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । १२ साउन अर्थात् आज विश्व हेपाटाइटिस दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रायःलाई हेपाटाइटिस एकैथरीको रोग हो भन्ने लाग्छ । तर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भाइरल हेपाटाइटिस ए, बी, सी, डी तथा ई गरी पाँचथरी हुने बताउँछन् ।

नेपालमा डी बाहेक अन्य चार थरिको हेपाटाइटिस देखिने गरेको छ । सबै भाइरल हेपाटाइटिस सर्ने तरिका फरक भए पनि लक्षण भने प्रायः एउटै हुने डा.पुन बताउँछन् ।

भाइरल हेपाटाइटिस ए र ई खाने कुरा र पानीमार्फत सर्छ । यहाँ बर्सेनि गर्मी र वर्षात् मौसममा  ए र ई का बिरामी देखापर्ने उनको भनाइ छ । 

उनी भन्छन्, ‘यो हेपाटाइटिस सङ्क्रमण भएको खण्डमा यही औषधि खाने भन्ने त हुँदैन । तीन चार हप्ताको अवधिमा आफै निको भएर जाने गर्छ । यस बीचमा केही गरी कसै कसैको कलेजो बिग्रिने सम्भावना भने हुन्छ । तर, यस्तो केस ज्यादै न्यून हुन्छ ।’

सामान्यतया विकसित राष्ट्रमा भाइरल हेपाटाइटिस ए र इ एउटै खाले र एउटै समयमा देखिने उनको ठम्याइ छ । जस्तै भारत, बङ्गलादेश, पाकिस्तान, नेपालमा ए र ई  देखिइरहने रोग हो ।

उनका अनुसार हेपाटाइटिस ई देखिएका सङ्क्रमित गर्भवतीमध्ये करिब २५ प्रतिशत महिला मृत्युको मुखमा पुग्न सक्न सक्छन् ।

जन्डिस सामान्यतया भाइरल हेपाटाइटिसका रूपमा लाग्ने गर्छ । जन्डिस हुनुका प्रमुख कारणमध्ये हेपाटाइटिस ए हो । ए र ई बर्सेनि मनसुनको सिजनमा  देखिने रोग भन्दा पनि फरक नपर्ने डा पुनको भनाइ छ । 

ए र ई चार देखि छ सातामा निको हुने गर्छ । यस बीचमा लक्षणमा आधारित केही त्यस्तो समस्या भएमा चिकित्सकको सल्लाह तथा उपचार गर्न उनको सुझाव छ ।

हेपाटाइटिस बी बारे सावधानी 

भाइरल हेपाटाइटिस बी र सी स्क्रिनिङ गरेपछि मात्रै हुन्छ । यहाँबाट विदेश जानेहरूले अनिवार्य रूपमा बी र सी परीक्षण गर्नुपर्छ । धेरैले त्यस क्रममा मात्रै बी र सी लागेको धेरै थाहा पाउने डा.पुनको भनाइ छ । 

यस्तै कसैलाई गर्भावस्थामा पनि रोग लाग्न सक्छ । हेपाटाइटिस बी भएका आमाबाट जन्मिएका बच्चालाई पनि हुने सम्भावना धेरै हुने उनले सुनाए ।

हेपाटाइटिस बी सङ्क्रमण भएका व्यक्तिको सरसामान अरू व्यक्तिले प्रयोग गर्न हुँदैन । बी सङ्क्रमण पुष्टि भएको व्यक्तिले आफ्ना परिवारका सदस्यलाई समेत तत्काल खोप लगाउनु पर्छ । 

यस्तै, सन् २००४ अघि जन्मिएकाहरूले परिवार वा साथीहरूमा बी देखिएमा खोप लगाउन उनको सुझाव छ । 

कसरी सर्छ हेपाटाइटिस बी र सी ?

डा. पुनका अनुसार भाइरल हेपाटाइटिस बी र सी रगत, शरीरको तरल पदार्थबाट सर्छ । यौन सम्पर्कबाट, रगत लिँदा, दिँदा पनि सर्छ । 

‘सामान्यतया बी र सी हुनेहरू मलाई यस्तो लक्षण देखियो भनेर आउनेहरू ज्यादै न्यून छन्,’ उनले भने ।

शरीरमा कमन सिरिन्ज प्रयोग गर्नेहरू अर्थात् एउटै सुई धेरैले प्रयोग गर्दा हेपाटाइटिस सी सर्ने गर्छ । यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्दा जसले रगत लिने दिने गर्छन्, अप्रेसन गर्दा घोच्ने क्रममा सर्ने सम्भावना धेरै हुने उनले बताए ।   

भाइरल हेपाटाइटिसका लक्षण

भाइरल हेपाटाइटिस ए, बी, सी, डी तथा ई को लक्षण सामान्यतया एउटै हुने सरुवा रोग विशेषज्ञ पुनले जनाए । बी र सी मा लामो समयसम्म लक्षण देखिँदैन । 

बी र सी मा लक्षण देखिएपनि ग्यास्ट्रिक भनेर बस्ने हुँदा हत्तपत्त लक्षण थाहा नपाउने उनले बताए । जस्तै पेट डम्म हुने, उकुस मुकुस हुने, खान मन नलाग्ने भएकाले तत्काल बी र सी भएको थाहा नहुने उनको भनाइ छ । 

यद्यपि पाँचवटै हेपाटाइटिस रोग लागेका व्यक्तिमा तलका यस्ता लक्षण पनि देखिन्छः

–वाकवाक लाग्ने

–खान मन नलाग्ने

–शरीर चिलाउने 

–दिसा खैरो रङको आउने 

–पिसाब अघि पछि भन्दा कालो कालो आउने

–आँखाको सेतो भाग पहेँलो भएर आउने

सिरिन्ज सेयर अर्थात् एउटाले लगाएको सुई अन्य व्यक्तिले पनि लगाएमा धेरैजसोलाई भाइरल हेपाटाइटिस सी, डी, एचआईभी सङ्क्रमण भएको पाइएको उनले बताए । उनी भन्छन्, ‘जो कुलतमा फसेर सुई प्रयोग गरेका छन्, उनीहरूलाई भाइरल हेपाटाइटिस सी लागेको पाइएको छ ।’

यस्तै, उल्लेखित लक्षण देखिए भाइरल हेपाटाइटिस भएमा भविष्यमा कलेजोको क्यान्सर हुने उनले बताए । तत्काल नभएर वर्षौँपछि क्यान्सरसँगै कलेजो फेल हुन सक्ने उनको भनाइ छ । 

उनले भने, ‘शरीरमा भाइरल लोड जाँच गरेर त्यस आधारमा औषधि सेवन गर्न सकिन्छ । विगतमा हेपाटाइटिस  सी भएकाहरूलाई निको पार्ने औषधि पाउन गाह्रो भए पनि पछिल्लो समय विकास भएकाले सहज भएको छ ।’ 

यद्यपि भाइरल हेपाटाइटिस सी को हालसम्म पनि खोप बनेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप