आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको ओएनएम सर्वेक्षण स्वीकृत भएसँगै बढ्यो दरबन्दी

शुक्रबार, २६ साउन २०८०, १० : ०४
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलले तयार पारेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गरेसँगै दरबन्दी बढेको छ । दरबन्दी बढेसँगै धेरै पदहरू समायोजन भएका छन् ।

मन्त्रीपरिषद्ले साउनको पहिलो साता गरेको निर्णय अनुसार सशस्त्रमा ९८ दरबन्दी थप भएका हुन् । दरबन्दी बढेपछि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म बढुवाको सूचीमा परेका छन् ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एवं वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार साधारण समूहतर्फ एक सय ७५ दरबन्दीको समायोजन भएको छ । जसमा एसएसपीको ११ वटा नयाँ दरबन्दी थप गरिएको छ । त्यसै गरी एसपीको ४१ डीएसपीको २८, इन्स्पेक्टरको ४७ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक वरिष्ठ सईको ५८ वटा दरबन्दी सृजना गरिएको जानकारी एसएसपी खड्काले दिए । 

यस प्रक्रियासँगै सिसं २ मा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको टोली अहिले उपरीक्षक छन् । उनीहरू  नै एसएसपीमा बढुवा हुन योग्य मानिन्छन् । २०६० मा भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको ठुलो टोली डिएसपी छन् । दरबन्दी बढेसँगै उनीहरू नै एसपी पदका लागि योग्य मानिन्छन् । २०६४ सालमा भर्ना भएको सिसं ७ का ईन्पेक्टरहरु डिएसपीमा बढुवा हुन योग्य मानिन्छन् । यसैगरी जुनियर अधिकृत, बिल्लादार र जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा तल्लो दर्जासमेत यसबाट लाभान्वित हुने जानकारी एसएसपी खड्काले दिए । 

सशस्त्रमा लामो समयपछि ठुलो सङ्ख्यामा एकै पटक बढुवा हुन लागेको यो पहिलो पटक हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेदेखि नै खाली पद नराख्ने नीति लिएका थिए । पछिल्लो एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार सशस्त्र प्रहरी कर्मचारी बढुवा भइसकेका छन् । त्यसै गरी ३ हजार १ सयभन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जनाको नयाँ भर्ना भएको      सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । यो वर्ष नयाँ थप तथा समायोजन भएको दरबन्दीको कारण साढे ६ हजार भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू बढुवा भई लाभान्वित हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप