शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
गाईजात्रा

कलाकारको गाईजात्रा तयारी : डिजिटल कन्टेन्टदेखि देश विदेशको स्टेज शोसम्म

गणतन्त्र आएपछि हरेक दिन गाईजात्रा देख्न पाइएकोले कार्यक्रम गर्न छोडेँ : सन्तोष पन्त
मङ्गलबार, ३० साउन २०८०, ११ : ५९
मङ्गलबार, ३० साउन २०८०

काठमाडौंँ । ‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व हो । मृतकको सम्झनामा विभिन्न झाँकीलगायत प्रदर्शन गरिने यो दिनलाई वाक् स्वतन्त्रताका रूपमा समेत लिइन्छ ।

कलाकारका लागि यो दिनले विशेष अर्थ राख्छ । किनभने वर्षभरिका राजनीतिक, सामाजिक लगायतका विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने दिन जो हो यो । त्यसैले, यस दिनलाई व्यङ्ग्य कलाकारको पर्वसमेत भन्ने गरिन्छ ।

त्यसो त नेपालमा हरेक समय गाईजात्रा छ । तर पनि वर्षमा एक दिन पर्ने ‘गाईजात्रा’ पर्वले विशेष महत्त्व राख्छ । 

यस वर्ष ‘गाईजात्रा’ आगामी भदौ १४ गते परेको छ । गाईजात्रा आउन अझै दुई साता बढी बाँकी भए पनि हाम्रा कमेडी कलाकारलाई भने गाईजात्राको रौनकले छोइसकेको छ । 

कोही कलाकार भौतिक रूपमा ‘गाईजात्रा कार्यक्रम’ गर्न जुटेका छन् भने कोही डिजिटल । कोही यही मौकामा देश तथा विदेश कमेडी टुरको तयारीमा छन् । कलाकारको गाईजात्रा तयारी के छ त ? यहाँ चर्चा गर्न खोजिएको छ ।

प्रज्ञा भवनदेखि विदेशसम्म कार्यक्रम 

कोरोनापछि गर्न भौतिक रूपले गर्न नसकेको ‘गाईजात्रा’को तयारीमा लोकप्रिय हास्यकलाकार मनोज गजुरेल जुटेका छन् । ‘८० सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम प्रज्ञा भवनमा हुनेछ । 

प्रज्ञाबाहेक उपत्यका बाहिर विराटनगरदेखि दाङसम्म ५ शो हुनेछ ।  ‘८० सालको गाईजात्रा’ ९ भदौबाट सुरु हुने र पहिलो चरणमा पूर्वी नेपाल, दोस्रो चरणमा काठमाडौँ र तेस्रो चरणमा पश्चिम नेपाल गरेर २३ भदौमा सकिने कलाकार मनोज गजुरेलले बताए । 

कोरोनाको महामारी समय उनले डिजिटल कार्यक्रम गरेका थिए । मनोजको गाईजात्रा कन्टेन्टमा सबैको चासो रहँदै आएको छ । दर्शक निराश नहुने खालको कन्टेन्ट हुने उनले सुनाए ।

‘८० सालको गाईजात्रा’ कार्यक्रममा मनोजको अलावा शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, दीपक आचार्य ‘काकु’, प्रभात लामा, रुबिना अधिकारी लगायतको सहभागिता रहनेछ ।

कलाकार सुरेन्द्र केसी ‘मुला साग’ पनि यो ‘गाईजात्रा’मा नेपालको पूर्वी भेगमा कमेडी टुर गर्ने तयारीमा छन् । ‘रुस्लान कमेडी यात्रा’ नामकरण गरिएको कार्यक्रममा आफूले समसामयिक विषयमा व्यङ्ग्य गर्ने केसीले बताए ।

त्यस्तै, हास्य कलाकारिताबाट फिल्म निर्देशकसम्मको यात्रा तय गरेकी दीपाश्री निरौला गाईजात्राको दिन रेडियो अडियोमा हुने कमेडी कार्यक्रममा सहभागी भएर केही प्रस्तुति दिनेछिन् । 

हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ पनि देशको विभिन्न स्थानमा भदौ १६ गतेबाट ‘गोल्डेन वाक कमेडी यात्रा’ गर्दैछन् । विशेष गरी पछिल्लो समय राजनीतिमा देखिएको विकृति विसङ्गति र नेताहरूको चरित्र आफ्नो कमेडीको विषय बन्ने रिजालले बताए । 

रिजालको यो टुरमा कलाकार जीतु नेपाल, निरज नेपाल, गायिका मिलन नेवार लगायत सहभागी हुँदैछन् । रिजालले केही अगाडि जाईजात्रे एल्बम ‘लुछाचुँडी’ पनि सार्वजनिक गरेका छन् । 

हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ यो गाईजात्रामा युरोपका करिब दर्जन सहरमा कमेडी प्रस्तुति दिँदै छिन् । यसका लागि केही दिन अगाडि युरोप उडेकी उनलाई कलाकार दमन रुपाखेतीले साथ दिँदै छन् । ‘हास्य धमाका’ नाम दिइएको कार्यक्रम करिब दर्जन बढी स्थानमा १९ अगष्टबाट सुरु हुनेछ ।

त्यस्तै, कलाकार सुबोध गौतम  ‘८० सालको गाईजात्रा’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने तयारीमा छन् । उनको टिम एपी वान टेलिभिजनमा ‘डिजिटल गाईजात्रा’ पनि देखाउनेछ । 

नेपालमा अहिले भएका कांग्रेस, कम्युनिस्ट, राजा चाहने र विकल्प खोज्ने चार राजनीतिक शक्तिको राष्ट्रिय मेलमिलाप विषयमा आफ्नो प्रस्तुति केन्द्रित रहने गौतमले बताए । 

त्यस्तै, कमेडी च्याम्पियन विजेता हिमेश पन्त पनि कमेडी कार्यक्रम गर्ने तयारीमा छन् । 

डिजिटलमा गाईजात्रा

‘गाईजात्रा’ कार्यक्रम भन्ने बित्तिकै दर्शकलाई प्रज्ञा भवन र सभा गृहको याद आउँछ । एक समय यी दुई स्थानमा थुप्रै हास्यकलाकार ‘गाईजात्रा’ कार्यक्रममार्फत पेट मिची मिची दर्शक हँसाउँथे । गाईजात्रा आउनु केही दिन अगावै सुरु हुने यस्ता कार्यक्रम महिना दिनसम्म चल्थ्यो । 

पछिल्लो समय प्रविधिको विकास र केही वर्ष अगाडिको कोरोना महामारीको कारण कतिपय कलाकारले ‘गाईजात्रा’ देखाउन डिजिटल प्रविधि अपनाएका थिए । यस वर्ष पनि कतिपय कलाकार गाईजात्रा कार्यक्रम डिजिटलमार्फत ल्याउँदैछन् ।

कमेडीमा बेग्लै छाप छोड्न सफल कलाकार शैलेन्द्र सिम्खडा पनि केही वर्षदेखि आफ्नो गाईजात्रा कमेडी युट्युवमार्फत् ल्याउने गरेका छन् । यो वर्ष पनि उनी युट्युबमा केही विशेष प्रस्तुति ल्याउने तरखरमा छन् । विगतका भन्दा उत्कृष्ट र फरक प्रस्तुति दर्शकका लागि दिने आफ्नो तयारी रहेको सिम्खडाले बताए ।

‘कोरोनाले मानिसलाई डिजिटल हुन बाध्य बनायो । अहिले युट्युबको जमाना पनि हो’, सिम्खडाले भने, ‘डिजिटल कार्यक्रमले विश्वव्यापी बनाउँछ ।’ भौतिक रूपमा गरेको गाईजात्रा जस्तो अभिनयमा निखार नआएपनि दर्शक भने डिजिटल गाईजात्रामै बढी हुने सिम्खडा बताउँछन् ।

त्यसो त सिम्खडा भौतिक रूपमा आयोजना हुने ‘८० सालको गाईजात्रा’ कार्यक्रममा पनि सहभागी हुँदैछन् ।

हास्य कलाकार जीतु नेपाल पनि गाईजात्रा कमेडी डिजिटलमा ल्याउँदैछन् । उनले ७ भागमार्फत ७ दिन फरक फरक गाईजात्रा कमेडी डिजिटल प्लेटफर्ममा ल्याउन लागेका हुन् ।

‘मैले ७ दिन ७ प्रकारका गाईजात्रा सामाग्री तयार पारेको छु,’ जीतुले भने ‘केही प्रस्तुति हेरेर नेताहरूलाई केही सोच्न बाध्य बनाउनेछ ।’ अहिलेसम्म टेलिभिजन फाइनल नभएकोले आफ्नो कमेडी युट्युबबाट आउने जीतुले खुलाए । 

जीतुले आफ्नो यसपालीको गाईजात्रा कार्यक्रमको घोषणा तथा ट्रेलरसमेत एक कार्यक्रममार्फत छिट्टै सार्वजनिक गर्दैछन् ।

डिजिटल गाईजाको अलावा उनी ‘रुस्लान कमेडी यात्रा’मा कलाकार सुन्रेन्द्र केसीको टिममा पनि छन् ।

त्यस्तै, कलाकार दिनेश काफ्ले पनि गाईजात्रा कमेडी डिजिटलमार्फत ल्याउने तयारीमा छन् । यो पटक केपी ओली, डा बाबुराम भट्टराई र प्रचण्डको क्यारिकेचर गरेर गाईजात्रा कमेडी तयार गर्न लागेको काफ्लेले बताए ।

‘अहिले भौतिक कार्यक्रम गर्न प्रायोजक छैन । बजारमा आर्थिक मन्दी छ’, काफ्लेले भने, ‘अहिले राम्रो र नराम्रो मूल्याङकन युट्युवको भ्यूजसँग हुन थाल्यो । त्यसैले, यसैमार्फत् कार्यक्रम गर्न लागेको हो ।’ 

टाढिदै पुराना कलाकार   

गाईजात्रा कार्यक्रम भन्ने बित्तिकै दर्शक कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, किरण केसी, राजाराम पौडेल, दीपकराज गिरी, दीपाश्री निरौलालगायत सम्झन्छन् । 

किनभने यी कलाकारले ‘गाईजात्रा कार्यक्रम’मार्फत धेरै वर्ष नियमित रूपमा दर्शक हसाएका छन्, जसको छाप दर्शकमा अहिले पनि छ ।

तर मनोज र शैलेन्द्रबाहेक माथि चर्चा गरिएका अन्य कुनैपनि कलाकारको यो वर्ष गाईजात्रा कार्यक्रम छैन । आफूले यस वर्ष गाईजात्रा कार्यक्रम नगर्नुमा कोही व्यस्तताको कारण बताउँछन् भने कोही अहिलेको गाईजात्रा कार्यक्रम पहिले जस्तो महत्त्व नभएको धारणा राख्छन् ।

कलाकार दीपकराज गिरी आफूले पछिल्लो समय गाईजात्रा कार्यक्रम नगर्नुमा व्यस्त दिनचर्या भएको बताए । 

‘पहिलो कुरो अहिले फिल्म हल निर्माण लगायतको कामले निकै व्यस्त छु’, दीपकले भने, ‘अर्को कुरो गाईजात्रा कार्यक्रम गर्दा परम्परागत भन्दा पनि फरक तरिकाले गरेन भने मज्जा पनि हुँदैन । अहिले धेरै कुरो परिवर्तन भइसक्यो ।’ 

पहिले कलाकारले मात्र गाईजात्रा गर्थे, अहिले नेताहरूले हरेक दिन गर्न थालेको कारण पनि त्यसको औचित्य पहिले जस्तो नरहेको दीपकको धारणा छ ।

दीपकको कुरोसँग कलाकार सन्तोष पन्त पनि सहमति जनाउँछन् ।  गणतन्त्र आएपछि हरेक दिन गाईजात्रा देख्न पाइएकोले आफूले कार्यक्रम गर्न छोडेको पन्त बताउँछन् ।

‘देशको हरेक क्षेत्रमा अहिले जात्रैजात्रा छ । त्यसैले, गाईजात्रा कार्यक्रमको औचित्य लागेन’, पन्तले थपे, ‘पहिले सिधा भन्न पाउने, देखाउन नमिल्ने कुरो गाईजात्राको कार्यक्रममार्फत भन्नुपथ्र्याे । अहिले जहिले जसरी भन्दा पनि मिल्छ ।’ 

‘पहिले हामीले व्यङ्ग्य गथ्र्याै । सरकारले सुन्थ्यो र सुधार गथ्र्याे’, उनले थपे, ‘अहिले बोल्न मिल्छ । तर, सुधार त त्यस्तै हो ।’

पछिल्लो समय गाईजात्रा कार्यक्रम नगर्नुमा दीपक र सन्तोषको भन्दा फरक धारणा राख्छन् वरिष्ठ कलाकार हरिवंश आचार्य । उनी व्यस्तता र उत्कृष्ट कार्यक्रम दिनुपर्ने प्रेसरका कारण पनि आफूले कार्यक्रम नगरेको बताउँछन् ।

‘हामीले पछिल्लो समय गाईजात्रा भन्दा पनि महजात्रा भनेर गर्ने गरेका थियौ । त्यो पनि नगरेको धेरै भयो’, आचार्यले भने, ‘अहिले कार्यक्रम बनाउने तयारीमा त छौ तर फिजिकल्ली रूपमा मदन दाइको पहिले जस्तो कार्यक्रम गर्न गाह्रो हुने भएकोले मिलाएर तयार गर्छौ ।’ 

गाईजात्रा नभएपनि ५/६ महिनापछि पहिले विदेश र त्यसपछि नेपालमा कमेडी कार्यक्रम गर्ने तयारीमा आफूहरू रहेको आचार्य सुखद खबर सुनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप