मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
डेंगुको प्रकोप

डेंगु सङ्क्रमण : काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्न वातावरणमैत्री औषधि छर्किँदै

बुधबार, ३१ साउन २०८०, ०९ : ४३
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । गत पुस महिना यता नेपालमा डेंगु सङ्क्रमित सङ्ख्या १३ हजार पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगु फैलिँदा १३ हजार २९२ जना सङ्क्रमित भएका छन् । डेंगु सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको छ ।

७४ जिल्लामध्ये सुनसरीमा डेंगु सङ्क्रमण प्रकोपका रूपमा फैलिएको छ ।  ईडीसीडीका अनुसार सुनसरी जिल्लामा मात्रै सात हजार ८९ केस पुष्टि भएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा १० हजार १८२ केस पुष्टि भएको छ भने कर्णाली प्रदेशमा ३६ केस पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

पुस महिना यता  बागमती प्रदेशमा १ हजार ७९३, गण्डकी प्रदेशमा ५१०, सुदूरपश्चिम प्रदेशमा ४१७, लुम्बिनी प्रदेशमा २६३, मधेस प्रदेशमा ९२ र कर्णाली प्रदेशमा ३६ केस पुष्टि भएको छ । 

नेपालमा डेंगु सङ्क्रमण देखा पर्न थालेको १९ वर्ष पुग्यो । सन् २०२२ मा ५४ हजार ७८ केस पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।  यस वर्ष पनि डेंगु सङ्क्रमण दरले तीव्रता पाउने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

d1

काठमाडौँ महानगरपालिकाले के गर्दैछ ?

काठमाडौँ जिल्लामा डेंगु सङ्क्रमणका १९६ वटा केस पुष्टि भएको छ । जसमध्ये हाल काठमाडौँ महानगरपालिकामा ४० वटा केस पुष्टि भएको स्वास्थ्य विभागका विभागीय प्रमुख रामप्रसाद पौडेलले बताए ।

सङ्क्रमण पुष्टि भएकामध्ये ४ जना अस्पतालमा उपचाररत रहेको उनले बताए ।

यस्तै, ललितपुर महानगरपालिकामा अहिले २१ जना डेंगु सङ्क्रमित पुष्टि भएको महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईले बताए । महानगर क्षेत्रमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको उनले बताए ।

यस्तै, डेंगु परीक्षण गर्नका लागि महानगरपालिकाभित्र ४ स्थानमा ल्याब राखिएको समेत उनले जानकारी दिए ।

सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई सञ्चालन गर्न निर्देशन दिएको छ । ललितपुर महानगरपालिकाका वडाहरूले साताको एक पटक आफ्नो समय अनुकूल पारेर अभियानलाई तीव्रता दिएको उनको  जिकिर छ ।

उता काठमाडौँ महानगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख पौडेलले महानगरभित्र पानी जमेको स्थानमा स्वास्थ्य स्वयंसेविकासँगै अन्य कर्मचारीले पुर्ने काम गरिरहेको जानकारी दिए ।

महानगरपालिकाका तर्फबाट खोज र नष्ट गर अभियानलाई प्रत्येक वडामा हरेक दिन सञ्चालन गरिएको उनले बताए ।

महानगरका स्वास्थ्य स्वयंसेविकाहरू, अन्य कर्मचारी र वडा प्रतिनिधिहरू निरन्तर डेंगु सङ्क्रमण हुन नदिनका लागि खटिएको उनको जिकिर छ ।

महानगरपालिका निरन्तर खोज र नष्ट गर अभियानमा खटिएकाले काठमाडौँमा डेंगु सङ्क्रमितको सङ्ख्या कम भएको उनको भनाइ छ ।

महानगरपालिका सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको उनको भनाइ छ । महानगरपालिकासँगै अन्य सामाजिक संघसंस्थाहरूले नियमित रूपमा लार्भा नष्ट गर्ने काम गरिरहेको विभागीय प्रमुख पौडेलले बताए ।

महानगरले वातावरणमैत्री औषधि छर्किँदै

काठमाडौँ महानगरपालिकाले पानी पर्न रोकिएपछि वातावरण मैत्री औषधि प्रयोग गरी लार्भा नष्ट गर्ने कार्ययोजना अघि बढाउने भएको छ ।

वातावरणमैत्री औषधि प्रयोग गरिने भएकाले यसले अन्य कुनै पनि किटजन्य किरालाई नोक्सान नगर्ने उनको जिकिर छ ।

‘पानी अब ५–६ दिन पर्दैन भन्ने भयो भने प्रत्येक वडामा यो औषधि छर्किने काम गर्छौँ,’ उनले भने ।

प्रमुख पौडेलले  लामखुट्टेबाट बच्नका लागि काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झूल टाँगेरमात्र सुत्न नगरवासीलाई सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप