आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बराह बाहिनीमा गोताखोर तालिम सुरु

आइतबार, १७ भदौ २०८०, २२ : २७
आइतबार, १७ भदौ २०८०

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको सशस्त्र प्रहरी बलको बराह बाहिनीमा आजदेखि गोताखोर तालिम सुरु भएको छ ।  कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वय तथा सहकार्यमा सुरु भएको तालिमको कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले उद्घाटन गरे । 

नेपालमा चौथो पटक सुरु भएको ‘सिसम–४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवान प्रशिक्षार्थीके रूपमा सहभागी भएका छन् । गोताखोर तालिम पाँच हप्तासम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल १ नं बराह बाहिनीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेलले बताए ।

तालिम अवधिमा प्रशिक्षार्थीलाई पोखराको फेवा ताल, कुलेखानीसहित नेपालका विभिन्न ठूला नदीमा प्रशिक्षण दिइने बताइएको छ । डुबेर हुने मानवीय घटनामा विपद् प्रतिकार्यका लागि गोताखोर तालिम अपरिहार्य भएकाले सशस्त्र प्रहरीले नेपालमै चौथो पटक यस किसिमको तालिम सुरु गरिएको डिआइजी पोखरेलले बताए ।

सशस्त्र प्रहरी बलका २५ सुरक्षा अधिकारीले पहिलो पटक २०६९ वैशाखमा बङ्गलादेशमा गोताखोर तालिम लिएर आएका थिए । उनीहरूकै सहयोगमा नेपालमा पहिलो पटक २०७६ असोजमा सशस्त्र प्रहरी बल नम्बर–१ बराह बाहिनी सुनसरीमा गोताखोर तालिम भएको थियो । त्यति बेला १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए । 

बराह बाहिनीमा अहिले पुनःदोस्रो पटक गोताखोर तालिम आयोजना गरिएको पोखरेलले जानकारी दिए । नेपालमा भएको दोस्रो र तेस्रो तालिम सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालयमा सम्पन्न भएको थियो । उक्त तालिमबाट ३९ जना दक्ष जनशक्ति उत्पादन भएको थियो । कूल ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीसँग अहिले ८३ मात्र गोताखोर तालिम लिएका सुरक्षाकर्मी रहेका छन् ।

मुलुकका विभिन्न गहिरो ताल, तलैया, पोखरी तथा नदीमा डुबी बेपत्ता तथा घाइतेको खोजतलासलगायत उद्धार कार्यमा संलग्न हुँदै आइरहेका छन् । उक्त जनशक्तिले मात्रै सबैतिर नभ्याउने अवस्था भएपछि थप जनशक्ति उत्पादन गर्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएको बताइएको छ । नेपालमै हुने यस किसिमको गोताखोर तालिमले विदेशबाट गोताखोर झिकाई उद्धार गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको डिआइजी पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप