सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा

मङ्गलबार, २६ भदौ २०८०, १३ : १०
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग मुख्य प्राथमिकतामा परेको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा यो सुरुङमार्गलाई मुख्य प्राथमिकतामा राखेको हो ।

मन्त्रालयले चीन भ्रमणमा राख्नुपर्ने मन्त्रालय मातहतका एजेन्डा तय गरेर परराष्ट्रतर्फ पठाइसकेको छ । चीन भ्रमणका लागि भनेर भौतिक मन्त्रालयले मुख्य ४ एजेन्डा प्राथमिकताामा राखेको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भौतिक मन्त्रालयबाट आएको चीन भ्रमणको एजेन्डामा ४ किलोमिटर लामो टोखा–छहरे सुरुङमार्ग निर्माण मुख्य  एजेन्डामा छ ।

प्रधानमन्त्री दाहाल न्यूयोर्कको भ्रमण सकेर उतैबाट चीन पुग्ने कार्यतालिका बनेको छ । सो भ्रमणका लागि विभिन्न मन्त्रालयले आ–आफ्ना योजना र एजेन्डा अघि बढाइरहेका छन् । 

चीन भ्रमणका क्रममा अनुदान र सहुलियतपूर्ण ऋण सहयोगमा आयोजना अघि बढाउने सम्बन्धित मन्त्रालयहरुको योजना छ । सो अनुसार, योजना बनाउँदै परराष्ट्र पठाइरहेका छन् ।

‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा टोखा–छहरे सुरुङमार्गलाई प्राथमिकतामा राखेर भौतिकबाट एजेन्डा आएको छ,’ स्रोतले भन्यो, ‘अब मन्त्रालयले आवश्यक छलफल गरेर कुन आयोजना राख्ने/नराख्ने निक्र्यौल गर्छ ।’ 

नेपाल र चीन सरकार टोखा–छहरे सुरुङमार्ग बनाउँदै चीनतर्फको उत्तरी व्यापारिक नाका रसुवागढी–केरुङलाई मजबुत बनाउन चाहन्छन् । यो व्यापारिक मार्ग तातोपानीपछि चीनसँग सडकमार्ग जोड्ने दोस्रो मार्ग हो ।

सुरुङमार्गका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ४२ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । यो आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । 

हाल टोखा–छहरे सुरुङमार्ग आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको भौतिक मन्त्रालय बताउँछ । चीन सरकारसमेत ऋण सहयोगमा यो सुरुङमार्गको काम अघि बढाउनका लागि तयार देखिएको छ ।

चिनियाँ टोली २०७६ सालमै टोखा–छहरे सुरुङमार्गको फिल्ड सर्भेका लागि आएका थियो । तत्कालीन समयमा चिनियाँ राष्ट्रपति सी जिङ पिङ सामु नेपालले टोखा–छहरे सुरुङमार्ग बनाउन प्रस्ताव गरेको थियो । सो प्रस्तावमा सी सकारात्मक देखिएपछि टोली काठमाडौं आएको थियो । 

तर, पूर्व–सम्भाव्यता अध्ययनबाट भने आयोजना ‘भायाबल’ नदेखिएको सरकारी अधिकारीहरु नै बताउँछन् ।

यसबाहेक, प्रधानमन्त्रीको भ्रमणका क्रममा हुम्लाको सिमकोट–हिल्सा सडक खण्डको योजनासमेत प्राथमिकतामा राखिएको छ । ९२ किलोमिटर लामो यो सडक खण्ड बनाइदिन चीन सरकारसमक्ष नेपालले प्रस्ताव गर्ने तयारी गरिएको छ । 

यो भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत हुम्लामार्फत् व्यापारिक नाका स्थापनाको प्रस्ताव गरेको छ ।

यसबाहेक, अरनिको राजमार्गअन्तर्गत (धुलिखेल–तातोपानी) खण्डसमेत बनाइदिन नेपालले प्रस्ताव गर्ने स्रोत बताउँछ । हाल चीनसँगको व्यापारिक नाकाका रुपमा तातोपानी र रसुवागढी गरी दुई वटा नाका छन् । 

धुलिखेलसम्म हाल ४ लेनको सडक विस्तारको काम धमाधम चलिरहेको छ । धुलिखेलबाट तातोपानीसम्मको सडकमार्गको स्तरोन्नति गरिदिन चीनलाई प्रस्ताव गर्ने तयारी छ ।

यसबाहेक, कोशी राजमार्ग अन्तर्गतको किमाथांका–खाँदबारी सडक खण्डमा समेत चीनसँग सहयोग माग्ने गरी भौतिक मन्त्रालयले योजना बनाएको बताइएको छ । 

‘किमाथांका–खाँदबारी सडक खण्डसमेत योजनामा छ,’ स्रोत भन्छ, ‘यसबाहेक खुटिया–दिपायल–युराई भञ्ज्याङ सडकमार्गसमेत बनाइदिन प्रस्ताव राखेका छौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चीनसँगको तीन नाका मुख्य प्राथमिकतामा राखेर उत्तरतर्फको सडकमार्गलाई स्तरोन्नतिको योजना बनाएको देखिन्छ । भारततर्फको सडक खण्ड स्तरोन्नति चलिरहेको र भावी दिनमा थप काम हुने भएकाले चीनसँग समेत ‘कनेक्सन’ बनाउने मन्त्रालयको योजना रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप