मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

मुरे भन्छिन्- ‘आर्यनाको भिडियो सार्वजनिक गरिनु गलत हो’

बुधबार, २७ भदौ २०८०, १३ : २६
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । पछिल्लो समय विश्व टेनिसमा एउटा भिडियो निकै चर्चित बनेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको उक्त भिडियोलाई लिएर विभिन्न प्रक्रिया सार्वजनिक भइरहेका छन् । खेलकुद क्षेत्रमा सक्रिय कतिपय ब्यक्तिले कुनै पनि खेलाडीको ब्यक्तिगत कुरालाई यसरी सार्वजनिक गरिनु गलत भएको टिप्पणी पनि गरेका छन् । 

खासमा त्यो भिडियो विश्व टेनिसको चर्चित ग्रान्डस्लाम प्रतियोगिता ‘यूएस ओपन’ सँग जोडिएको छ । बेलारुसकी खेलाडी आर्यना साबालेन्का यूएस ओपनको महिला एकलतर्फ फाइनलमा पुगेकी थिइन् । तर, २५ वर्षीया आर्यना फाइनलमा पराजित हुन पुगिन् ।  दोस्रो वरीयताकी आर्यनालाई फाइनलमा १९ वर्षीया अमेरिकी किशोरी कोको गौफले २—६, ६—३, ६—२ ले हराएकी थिइन् । छैटौं वरीयताकी गौफले जितेको त्यो पहिलो ग्रान्डस्लाम उपाधि थियो । फाइनलमा पराजित भएपछि आर्यना निकै निराश देखिएकी थिइन् । 

आर्यना पुरस्कार वितरण समारोहमा पनि सहभागी भइन् । त्यसपछि उपविजेताको ट्रफी लिएर उनी आफ्नो ट्रेनिङ रुपमा गइन् । त्यहाँ पुगेपछि आफूले पाएको ट्रफीलाई उनले ब्यागमाथि फालिन् । लगत्तै उनले आफ्नो ब्यागबाट र्‍याकेट निकालिन् र त्यसलाई जोडजोडले भुइँमा हिर्काउन थालिन् ।  त्यसपछि उनले आफ्नो त्यो र्‍याकेटलाई डस्ट बिनमा लगेर फालिन् । तर, उनका हरेक गतिविधि त्यहाँ रहेको सीसीटीभी क्यामेरामा रेकर्भ भइरहेको थियो । उनले त्यो कुरालाई ख्याल नै गरिनन् । हो, उनको त्यही भिडियो नै पछि सामाजिक सञ्जालमा सेयर गरिएको थियो । 

त्यो भिडियो सार्वजनिक भएपछि धेरैले त्यो आर्यनाको नितान्त ब्यक्तिगत गतिविधि भएकाले त्यसलाई सार्वजनिक रुपमा प्रशारण गरिनु गलत भएको टिप्पणी गरेका छन् । टेनिसकी पूर्वप्रशिक्षक जुडी मुरेले पनि यसरी खेलाडीको भिडियो सार्वजनिक गरिनु आपत्तिजनक भएको टिप्पणी गरेकी छन् । 

६५ वर्षीया जुडी मुरे चर्चित टेनिस खेलाडी एन्डी मुरे र जामी मुरेकी आमा हुन् । ‘यो आपत्तिजनक कार्य हो । खेलाडीले ट्रेनिङ रुपमा देखाएको नितान्त ब्यक्तिगत ब्यवहारलाई सार्वजनिक गर्नु सरासर गलत कार्य हो,’ उनले भनेकी छन् । 

आर्यनाले सन् २०२३ मा अर्को ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् । ‘फाइनलमा पराजित भएपछि खेलाडी आक्रोसित हुनु स्वभाविक हो । उनले त्यो आक्रोश सार्वजनिक रुपमा प्रदर्शन गरेकी थिइनन् । त्यसैले उनले ट्रेनिङ रुपमा गएर आफ्नो आक्रोस पोखिन् । त्यो उनको ब्यक्तिगत क्षण हो । त्यसलाई कुनै पनि हालतमा सार्वजनिक गरिनु हुँदैनथ्यो,’ मुरले भनेकी छन् । 

त्यो भिडियो फुटेज सबैभन्दा पहिले युरोस्पोर्टस फ्रान्सले ट्वीटरमा सेयर गरेको देखिन्छ । सामाजिक सञ्जालमा धेरैले मुरेको धारणासँग सहमति जनाएका छन् । ‘कुनै पनि कुराको सिमा निर्धारण गरिनु पर्छ । कुन क्षण सार्वजनिक हो र कुन क्षण खेलाडीको नितान्त ब्यक्तिगत हो भन्ने कुरा सबैले छुट्याउन सक्नु पर्छ,’ एक ट्वीटर प्रयोगकर्ताले आफ्नो प्रतिक्रियामा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप