मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकहरुलाई सडकबाट कक्षाकोठामा फर्काउनुपर्छ : सचिव  भट्टराई

बुधबार, ०३ असोज २०८०, २१ : ०४
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले शिक्षकहरुलाई सडकबाट कक्षाकोठामा फर्काउनुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले शिक्षकहरुलाई विश्वासमा लिएर सडकबाट कक्षा कोठामा फर्काउन सरकारले ठोस पहल गर्नुपर्ने बताएका हुन् । 

मन्त्रिपरिषदबाट पास भएर संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको चर्को विरोध गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बुधबारदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन् । 

सचिव भट्टराईले विधेयक निर्माण गर्दा सरकारले सरोकारवालासँग प्रयाप्त छलफल तथा समन्वय नगर्दा र पारदर्शी नहुँदा शिक्षकहरु सडकमा आउनु परेको बताए । उनले शिक्षकहरुले उठाएका कतिपय विषयहरु जायज भएकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए । सरकारले गरेन भने संसद्ले गर्ने उनले बताए । 

‘ऐन मूलतः संविधानले निर्दिष्ट गरेका सिद्धान्तको कार्यान्वयनमा केन्द्रित हुनुपर्दछ ।  शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्वसुलभ र गुणस्तरीय शिक्षामा राज्यको भूमिकालाई बढाउनु पर्दछ’, उनले भनेका छन्,  ‘श्रमप्रति आस्था र राष्ट्रियताप्रति गर्व गर्ने नागरिक निर्माणमा शिक्षा प्रणालीलाई केन्द्रित गर्नु पर्दछ । शिक्षाका तीन पक्ष विद्यार्थी, शिक्षक र अभिभावक बीचमा लक्ष, गन्तव्य र कार्यमा एकरूपता हुनुपर्दछ ।’ 

सचिव भट्टराईले शिक्षाको नीतिगत तथा संरचनागत सुधार र रुपान्तरण आवश्यक रहेकाले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई यसै आधारमा छलफल गर्नुपर्ने बताए । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप