बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
फिचर

गायकदेखि नायकसम्म : किन विवादमा तानिइरहन्छन् प्रकाश सपुत ?

‘गीत विवादित भन्नेहरूसँग एक एक गरेर छलफलमा बस्न तयार छु’
शुक्रबार, ०५ असोज २०८०, १० : ०३
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । ‘दर्शकमाझ पुग्नुको आनन्द अरू केहीसँग तुलना हुन सक्दैन । पछिल्लो ४ वर्ष मैले देश–विदेशमा छरिएर रहनुभएका नेपालीहरूको अथाह माया प्रत्यक्ष महसुस गर्न पाएको छु । यो सफलता मेरो लागि अमूल्य र अकल्पनीय छ’, यी शब्द गायक प्रकाश सपुतको फेसबुक वालबाट लिइएको हो ।

केही दिन अगाडि पतञ्जलि योग पीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको एक विशेष कार्यक्रम गरेको थियो, जसमा भारतीय योगगुरु रामदेवबाट प्रशंसा पाएका सपुतले आफ्नो खुसी पोखेका हुन् । कार्यक्रममा रामदेवले सपुतलाई नेपालका सलमान, शाहरुख र आमिर खानभन्दा पनि ठुलो स्टार भनेर चर्चा गरे ।

केही दिन अगाडि अस्ट्रेलियाको कार्यक्रम सक्याएर फर्किएका सपुत लगत्तै दिल्लीको कार्यक्रममा पुगेका थिए । पछिल्लो समय उनलाई स्वदेश तथा विदेशका कार्यक्रमले भ्याइ न भ्याइ छ । नेपालीको भावनासँग जोडिन आफू देश विदेशको कार्यक्रममा पुगिरहेको उनी बताउँछन् ।

‘अहिलेसम्म जति ठाउँ पुगेँ, त्यहाँको विकास, समुन्द्र र बिभिन्न देशको बनावटले मलाई यो देशमा आए भन्ने त हुन्छ’, सपुतले भने, ‘तर कार्यक्रममा भेट्ने, नचाउने नेपाली दाजुभाइ नै भएकोले पोखरा छु कि, अस्ट्रेलिया, यसले केही फरक पर्दैन ।’

विदेशमा सेटल भएका नेपालीहरू नेपाली कलाकार बोलाएर राम्रै रकम खर्च गरी कार्यक्रम गर्न थालेको धेरै भएको छैन । त्यसैले, विदेशमा कलाकार बोलाएर कार्यक्रम गर्ने जेनेरेसन प्रायः युवा नै हुने गरेका छन् । सपुतको अनुभव पनि त्यही छ । उनले पनि अहिलेसम्म विदेश जति ठाउँमा गए, ती ठाउँका आयोजक लगभग उनी सरहका पाए ।

कलाकारका लागि स्वदेश तथा विदेशको साङ्गीतिक टुर आर्थिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ । चलेको बेला टिप्नुपर्छ भन्ने उखान नेपाली कला क्षेत्रमा छ । उनी अहिले नेपाली संगीतिक क्षेत्रमा हिट छन् । त्यसैले पनि उनी अहिले सबैतिरको कार्यक्रममा प्राथमिकतामा पर्ने गरेका छन् । साथीभाइले अहिलेको अफर भेल पानी हो, छोप्नुपर्छ भनेर भन्ने गरेको उनले बताए ।

सपुतको परिचय गायकबाट नायकसम्म पुगेको छ । अभिनेताको रूपमा उनको डेब्यु फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । उनी गायनसँगै यो फिल्मको प्रचार प्रसारमा समेत पछिल्लो समय व्यस्त छन् ।

‘म अहिले फलेको फलतिर त लागेको छु । अझै यसमै व्यस्त भएँ भने रुखको ख्याल गर्न सक्दिन कि भन्ने डर छ’, सपुतले भने, ‘ त्यसैले, पाकेको फल टिप्ने मात्र होइन, फल फलाउने बिरुवाको संरक्षणमा पनि लागिरहेको छु ।’ उनले आफू नियमित गायनको साधनमा समेत लागिरहेको जनाए ।

‘म खाल्डोबाट आएको मानिस । धेरै वर्षको मिहिनेतपछि अहिले एउटा स्थानमा पुगेको छु । दर्शकको माया महसुस गर्न विश्वको कुना कुनासम्म पुगौँ भन्ने पनि छ,’ उनले स्वदेश तथा विदेशको स्टेज कार्यक्रमको उद्देश्य प्रष्ट्याए ।

बोतल प्रहारपछि ट्रमा

उनी जति सफल छन् उनी नै विवादमा पनि तानिइरहन्छन् ।  हुन पनि समय सधैँ एकनास हुँदैन । कहिलेकाहीँ स्टेज कार्यक्रममा नसोचेको घटना पनि हुन्छ । जुन घटनाबाट बाहिर निस्कन कलाकारलाई वर्षाैँ लाग्न सक्छ ।

यस्तै घटना सपुतको जीवनमा पनि परेको छ । केही अगाडि रोमानियाको एक कार्यक्रममा प्रस्तुतिकै क्रममा उनीमाथि बोतल प्रहार भयो । यो अप्रत्याशित घटनाबाट बाहिर निस्कन उनी अझै सकेका छैनन् । 

उनको दिमागमा उक्त घटनाले गहिरो डेरा जमाएको छ । मेरो जीवनमा किन यस्तो घटना घट्यो ? मैलाई किन यस्तो भयो ? मैले के गल्ती गरेँ र ? भन्ने उनको मनमा अहिले पनि अनेक प्रश्न खेलिरहन्छ । आमा, श्रीमती, साथीभाइले समय खराब चलेको भनेपछि उनी ग्रहदशा हेराउनसमेत पुगेका थिए ।

‘घटनाले केही लामो समय ट्रमा जस्तो भयो । यस्तो घटना किन घट्यो भन्ने कुराले  निराशामा पुर्‍यायो’, उनले थपे, ‘हालै क्यानडाको कार्यक्रममा मैले गाउँदै गर्दा पछाडि एक व्यक्ति  क्यान बियर हातमा लिएर नाचिरहेको थिए । त्यो देख्ने बितिक्कै मलाई ट्रमा भयो ।’ पछि पुरै कार्यक्रम कसरी गरेँ, आफैलाई थाहा नभएको उनले सुनाए ।

‘म कार्यक्रममा गाइरहेको थिएँ, दिमागमा भने विभिन्न कुरा खेलिरहेको थियो’, उनले अनुभव शेयर गरे, ‘मैले एउटै समय दिमागले दुई फरक फरक प्रसङ्ग गर्न सक्दो रहेछ । त्यही समय बुझे ।’

विवाद मेरो चाहना होइन

सपुत हरेकजसो सिर्जना उत्कृष्ट पस्किन्छन् । तर, प्रायः सिर्जना भने विवादित भइदिन्छन् । उनका पछिल्ला तीन गीत ‘सकम्बरी’, ‘दमाई महाराज’ र ‘जाले रुमाल फाट्यो’ पनि विवादबाट टाढा रहन सकेन । कहिले शब्द त कहिले भिडियो विवादको विषय भयो ।

‘सकम्बरी’मा एउटा रेस्टुरेन्टमा काम गर्ने महिलाको पिडा उठाइएको छ भने ‘दमाई महाराज’मा दलितको विषय । आफूले गीतमा उठाउने विषय बाहिरबाट नल्याएर यही समाजकै प्रस्तुत गर्ने गरेको सपुत बताउँछन् । 

‘एक किसिमले भन्ने हो भने हाम्रो समाजमा चेतनाको विकास भएकै छैन । समाजले अहिले पनि लय पक्रिएकै छैन’, उनी भन्छन् ‘मलाई कुनै समाचारले प्रभावित गर्छ, मन छुने पात्र भेटे भने गीत बनाउँछु । तर, श्रोता, दर्शकसँग पुग्दा सोच अर्को हुन सक्छ । बुझ्ने तरिका फरक हो । मैले उठाएका गीतको प्रस्तुति समाजमा छैन भन्न मिल्दैन ।’

हुन त उनलाई विवादित विषय उठाउने गरेको आरोप पनि लाग्ने गरेको छ । 

‘यो विषयमा विवाद हुन सक्छ भनेर समाजका कुरा नगर्ने त ? अन्यायमा परेकालाई अन्यायमा बाँच्न दिने ? थिचोमिचोमा रहेकालाई त्यसै छोड्दिने ?’, उनी भन्दै थिए, ‘म एउटा कलाकारिता गर्ने व्यक्तिले सामान्य गीत बनाएको भए पनि हुन्थ्यो । त्यो अपेक्षा राख्न पाइन्छ । तर, कथा ल्याउने क्रममा किन महिलाको चरित्रको पाटोमा देखाएको भन्न भने मिल्दैन ।’

समाजमा बृहत् छलफल गर्नुपर्ने कुरा धेरै छन् । जसमा आफूले केही कुरा गीतमार्फत उठाउँदै आएको उनी तर्क राख्छन् । राज्यले छलफल गर्नुपर्ने, संविधानमा सम्बोधन गर्नुपर्ने कुरा आफ्नो गीतको विषय बन्दै आएको उनको भनाइ छ ।

‘गीतमा विषय प्रस्तुत गर्दा कलाकारले व्यावसायिकता दिन खोजेको हुन सक्छ । तर, सपुतले विषय नै विवादित ल्याउँछ भन्न मिल्दैन’, उनले भने, ‘यदि कसैले त्यसो भन्छ भने म एक एक गरेर छलफल गर्न तयार छु ।’

‘मेरो गीतमा कहाँ कहाँ नियतवश विवाद उठाएको देख्नु भयो ? यही समाजले विषय दिन्छ । त्यही विषयमा गीत बनाउँदा भने थाहा नभएजस्तो गरेर आरोप लगाउने ?’ उनले अलि ठुलो भोलुम पारे ।

कतिपयले चर्चा र विवाद सफलतासँग जोडेर पनि हेर्न गरेका छन् । उनी आफू यो मोड भन्दा माथि पुगिसकेकोले अहिले चर्चा र विवादले कुनै अर्थ नराख्ने बताउँछन् ।

‘एक पटक हिट हुन पाए हुन्थ्यो भन्ने चाहना थियो जीवनमा । म अहिले त्यो भन्दा माथि उठिसके । आफ्नो सन्तुष्टि र विचार अभिव्यक्तिका लागि काम गरिरहेको छु । मेरो कुरा सबैसँग पुगोस् भन्ने चाहना राख्छु’ उनले स्पष्ट पारे, ‘जानी जानी यो विषय ल्याइयो भने चर्चित र विवादित भइन्छ भन्ने हिसाबले काम गर्दिनँ ।’

हिरोको रहर

सपुतको परिचय गायकबाट नायकसम्म पुगेको छ । अभिनेताको रूपमा उनको डेब्यु फिल्म ‘परदेशी २’ आगामी असोज २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । उनी गायनसँगै यो फिल्मको प्रचार प्रसारमा समेत पछिल्लो समय व्यस्त छन् ।

यस अगाडि पनि फिल्मको अफर धेरै आए पनि गरेनन् । फिल्मको कथा र टिम राम्रो भएकोले ‘परदेशी २’मा अभिनय गरेको उनी बताउँछन् । फिल्म अभिनय व्यावसायिकता लागि भन्दा पनि रहर पुरा गर्न रोजेको उनको जिकिर छ ।

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल लगायतको अभिनय छ । फिल्मको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी छन् ।

फिल्म अभिनय ‘परदेशी २’ पहिलो भए पनि भिडियो अभिनय भने उनले थुप्रै गरेका छन् । अभिनय र गायन दुवै विधामा उनी यतिबेला सफल छन् । 

एकैसाथ कलाका दुई विधा किन त ?

‘गीत गाउने होस् वा अभिनय । दुवै कलाकारिताको आयाम हो । अभिव्यक्तिको माध्यम हो । आफ्ना विचार, भावना राख्ने दुवै माध्यम सशक्त लागेर दुवै अगाडि बढाइरहेको छु’ सपुतले उत्तर फर्काए । तर, अभिनय भन्दा गायनमै सजिलो र बढी मजा आउने उनले सुनाए ।

‘गायन धेरै मानिससँग सजिलोसँग पुग्न सकिने विधा हो । राम्रो गीतले सजिलै सबैलाई बाँध्न सक्छ । यसमा शब्द र भावनाको अलावा  संगीत र लय पनि हुन्छ’, उनी भन्दै थिए, ‘संगीतले मानिसलाई छिटो तरङ्गित बनाउँछ । त्यसैले गायन सजिलो र प्रभावकारी माध्यम लाग्छ ।’ तर, गायन भन्दा पनि अझ प्रभावकारी र गहिरो छाप छोड्ने माध्यम अभिनय भएकोमा उनी सहमति जनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप