आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षको गुगलका ७० भन्दा बढी सन्तान, यीमध्ये कतिलाई तपाईंले दैनिक भेट्नुहुन्छ

बुधबार, १० असोज २०८०, १५ : ५७
बुधबार, १० असोज २०८०

गुगलले आज अर्थात् २७ सेप्टेम्बरमा आफ्नो २५ औँ जन्मदिन मनाइरहेको छ । यसको सुरुवातको कथा पनि कम चाखलाग्दो छैन । गुगललाई लञ्च गर्ने सर्गेई ब्रिन र ल्यारी पेजको पहिलो भेट जनवरी सन् १९९७ मा स्ट्यानफोर्ड युनिभर्सिटीमा भएको थियो । गुगलको अस्तित्व उनीहरूको भेटबाट सुरु भयो र यी दुई मिलेर होस्टेलको एउटा कोठामा सर्च इन्जिन बनाउन सुरु गरे । यसको एक वर्षभित्र दुवैले आफ्नो सर्च इन्जिनको पहिलो प्रोटोटाइप बनाउन सफलता हात पारे । 

ब्रिन र पेजको सर्च इन्जिन प्रोटोटाइपतर्फ आकर्षित भए सन माइक्रोसिस्टम्सका सह–संस्थापक एन्डी बेचटोल्सहेमले यी दुईलाई अगस्त सन् १९९८ मा १ लाख डलरको चेक दिए । यससँगै गुगल इंकको आधिकारिक रूपमा जन्म भयो । त्यसपछि यी दुईले आफ्नो नयाँ टिमलाई होस्टेलको कोठाबाट निकालेर आफ्नो पहिलो अफिसमा सिफ्ट गरे । यो अफिस कुनै भव्य भवनमा थिएन । कम्पनीका पहिलो अफिस मेनलो पार्कको सब–अर्बन एरियाको एक ग्यारेज थियो । त्यसपछि गुगल तीव्र रूपमा फस्टायो । आज कम्पनीको अफिस क्यालिफोर्नियाको माउन्टेन भ्युमा गुगलप्लेक्सको नामले चिनिन्छ । 

रजत जयन्ती र ७१ उत्कृष्ट उत्पादन

गुगलले एउटा ब्लगमा लेखेको थियो – दुई कम्प्युटर वैज्ञानिकको अचानकको भेटले इन्टरनेट र अर्बौँ मानिसको जीवनको दिशा नै फेरिदियो । अमेरिकी मल्टिनेशनल टेक कम्पनीले पछिल्लो २५ वर्षमा थुप्रै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । एक साधारण सर्च इन्जिन प्रोटोटाइपबाट सुरु भएको कम्पनी गुगलले पछिल्लो २५ वर्षमा करिब ६ दर्जन उत्पादन लञ्च गरेको छ, जसले मानिसको जीवन पहिलेभन्दा निकै सहज बनाएको छ । 

गुगलका ७१ उत्पादनमध्ये दर्जनौँ यस्ता छन् जसलाई हामी हाम्रो दैनिक जीवनमा व्यापक प्रयोग गर्छौँ । यीमध्ये केही महत्त्वपूर्ण उत्पादनबारे आज कुरा गरौँ । 

गुगलका केही उत्पादन र अधिग्रहण

गुगल इन्टरनेटमार्फत जानकारी जुटाउने दिशामा आफ्नो सर्च इन्जिनमार्फत क्रान्ति ल्याएपछि पनि रोकिएको छैन । आफ्नो २५ वर्षको यात्रामा गुगल इंकले गुगल क्रोम, गुगल डक्स, एन्ड्रोइड, एन्ड्रोइड टिभी, गुगल अर्थ, क्रोमकास्ट, गुगल ड्राइभ, गुगल म्याप्स, गुगल क्यालेन्डर, गुगल मीट, जीमेल, गुगल क्लाउड, गुगल प्लेस्टोर, गुगल स्टोर इत्यादि लन्च गरेको छ । 

यीमध्ये धेरैजसो उत्पादन बिना हामी आफ्नो दैनिक जीवनबारे सोच्न पनि सक्दैनौँ । यस्तै, कम्पनीले युट्युबबाट उत्कृष्ट अडियो भिडियो प्रोडक्टको अधिग्रहण गरेर विस्तार पनि गरेको छ । 

क्रोम विश्वमा सबैभन्दा बढी प्रयोग गरिन्छ

गुगल क्रोम एक वेब ब्राउजर हो, जसको मद्दतले इन्टरनेटमा उपलब्ध जानकारीको भण्डारसम्म सजिलै पुग्न सकिन्छ । गुगल क्रोम सबै इन्टरनेट प्रयोगकर्ताका लागि निःशुल्क छ । क्रोमको प्रयोग डेस्कटप, ल्यापटप, स्मार्टफोन, ट्याबलेटजस्ता डिभाइसमा गर्न सकिन्छ । स्मरण रहोस्, गुगल क्रोम विश्वको सबैभन्दा बढी प्रयोग हुने वेब ब्राउजर हो । यसलाई सबैभन्दा पहिला सेप्टेम्बर २००८ मा माइक्रोसफ्ट विन्डोजका लागि लञ्च गरिएको थियो । त्यसपछि यसलाई म्याक, लिनक्स, एन्ड्रोइड र आइफोनका लागि पनि विकसित गरियो । 

गुगलले सन् २००७ मा पेस गर्‍यो निःशुल्क इ–मेल सेवा

गुगल इंकले १ अप्रिल सन् २००४ मा एक निःशुल्क इमेल सेवा जिमेलको बिटा भर्सन सार्वजनिक गर्‍यो । त्यसपछि ७ फेब्रुअरी सन् २००७ देखि यसलाई सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइयो । प्रयोगकर्ताले यसको प्रयोग इलेकट्रोनिक मेसेज पठाउनका लागि गर्छन् । यसको प्रयोग असाध्यै सुरक्षित पनि मानिन्छ । यसमा प्रयोगकर्ताले मेसेजबाहेक डकुमेन्ट, फोटो र भिडियो पनि पठाउन सक्छन् । यदि तपाईं निजी डाटा साझा नगरी मेसेज, फोटो, दस्ताबेज पठाउन चाहनुहुन्छ भने जिमेल सबैभन्दा उत्कृष्ट तरिका हो । सुरुमा जिमेलको डाटा स्टोर क्षमता १ जिबी थियो । अब यो बढेर १५ जिबी पुगेको छ । सन् २०१९ सम्म जिमेल प्रयोगकर्ताको सङ्ख्या १.५ अर्ब पुगेको थियो । 

पुरा विश्वलाई बाटो देखाइरहेको छ गुगल म्याप

आफूले नचिनेको ठाउँमा जानुपर्ने भयो भने गुगल म्याम्प्स तपाईंको मार्गदर्शक बन्नेछ । यसले विश्वभरिका थुप्रै देशका लागि सडकको म्याप उपलब्ध गराउँछ । यसको मद्दतले तपाईं पैदल कार, सार्वजनिक वाहन वा बाइकबाट कतै जाँदा सही बाटो खोज्न सक्नुहुन्छ । अब त गुगल म्याप्सले मानिसलाई कुन बाटो जाम छ, छिटो पुग्नका लागि कुन रुट समात्ने भनेर पनि जानकारी दिन्छ । 

कोरोनामा गुगल मिट बन्यो योजनाको सहारा

कोरोना महामारीका बेला सबै मानिस घर बसेर काम गरिरहेका थिए । त्यसैले गुगल मिट एप प्लानिङ र कर्मचारीबिच कुराकानीको सहारा बन्यो । यो गुगलको एक अडियो भिडियो कन्फरेन्सिङ एप हो । गुगलले यसलाई विशेष गरी व्यावसायिक प्रयोगका लागि नै डिजाइन गरेको छ । 

एप डाउनलोड गर्न गुगल प्लेस्टोर

गुगल प्लेस्टोर गुगलको एउटा प्लेटफर्म हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमका लागि आधिकारिक एप स्टोरको रूपमा काम गर्छ । यसले प्रयोगकर्तालाई एप्लिकेसन डाउनलोड गर्ने अनुमति दिन्छ । 

स्मार्टफोनको दुनियाँमा पनि सफल

गुगल पिक्सेल मोबाइल अक्टोबर २०१६ मा लञ्च गरिएको थियो । यो फोन ५ इन्च टच स्क्रिन डिस्प्लेको साथमा आएको थियो । यसको स्क्रिनको रिजोलुसन 1080×1920 पिक्सेल हो । यसको पिक्सेल डेन्सिटी ४४१ पिक्सेल प्रति इन्च आस्पेक्ट रेसियो हो । गुगल पिक्सेल फोन १.६ गिगाहर्ट्ज क्वाड–कोर क्वालकम स्न्यापड्र्यागन ८२१ प्रोसेसरसहित आउँछ । त्यसपछि गुगल पिक्सेल मोबाइलका थुप्रै मोडल आइसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप