आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाश मानसरोवर यात्रापछि प्रधानमन्त्री प्रचण्ड छङ्तुमा

शुक्रबार, १२ असोज २०८०, १३ : ४५
शुक्रबार, १२ असोज २०८०

चीन । चीन भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार चीनको ‘मध्य शरद राष्ट्रिय पर्व’ मनाउने अवसर पाएका छन् । गत शनिबार बिहान १०ः१० बजे चच्याङ प्रान्तको राजधानी हाङचौं पुगेर चीन भ्रमण सुरु गरेका प्रधानमन्त्रीको दैनिकी दौड प्रतियोगितामा भाग लिएको खेलाडीजस्तै भएको छ ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँहरुले मनाउने ‘राष्ट्रिय मध्य शरद पर्व’ सिचुवान प्रान्तको छङ्तुमा मनाउने छन् । शुक्रबार चीनमा राष्ट्रिय बिदा भए पनि सिचुवान प्रान्त छङ्तुका सरकारी अधिकारी र नेपाल मामलाका चिनियाँ जानकारहरु प्रधानमन्त्री प्रचण्डको स्वागत सत्कारका लागि दिनभर खटिने भएका छन् ।

‘चिनियाँहरुको बिदा भए पनि पाहुनाको स्वागत सत्कारका लागि कुनै कमी हुनुहुँदैन, यो हाम्रो चलन हो,’ प्रधानमन्त्री प्रचण्डको टोलीलाई सेवा दिन खटिएका तथा नेपाल मामलाका जानकार ताओ माले रातोपाटीसँग भने, ‘आज नेपालका प्रधानमन्त्रीले छङ्तुस्थित पाण्डा प्रजनन केन्द्रको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।’

छङ्तुमा रहेको यो केन्द्र हेर्न लाखौँ चिनियाँ छङ्तु पुग्ने गर्दछन् । पाण्डाको लागि छङ्तु प्रसिद्ध सहर हो । 

शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय पार्टी सचिव वाङ सिआओसँग प्रधानमन्त्री प्रचण्डको वार्ता, र साँझ रात्रिभोज आयोजना हुनेछ ।

आज चीनको मध्य शरद पर्व परेकाले नेपाली पाहुनालाई रात्रिभोजमा चिनियाँ  खाना बाहेक ‘चिनियाँ मुन केक’को स्वाद चखाइने छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभाबाट भाग लिएर हङकङ हुँदै गत शनिबार चीन आइपुगे लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गरेको ‘दिवाभोज’मा सहभागी भएका थिए । त्यसपछि राष्ट्रपति सीसँगको भेट, सोही दिन साँझ १९ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण शुक्रबार साँझको रात्रिभोजपछि औपचारिक रुपमा सकिने छ ।

बुधबार तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री हिन्दुहरुको पवित्र क्षेत्र कैलाश मानसरोवर पनि पुगे । त्यसपछि उनी शुक्रबार छङ्तु पुगेका हुन् ।

मानसरोवरको भ्रमणपछि प्रधानमन्त्री प्रचण्डले नेपालको हुम्लाबाट मानसरोवरका लागि सहज यात्रा गराउन पहल गर्ने आश्वासन समेत दिएका थिए ।

कोभिड महामारीपछि खुलेको कैलाश मानसरोवर दर्शनका लागि नेपालबाट सयौं सनातनी हिन्दु आएका थिए । भारतीय यात्रीले भने यसपटक कैलाश दर्शन गर्न पाएनन् । चिनियाँहरुले भारतीयहरुलाई परमिट नदिएपछि यात्रा हुन नसकेको हो ।

भारत बाहेक विदेशमा बस्ने केही भारतीयले भने आफू बस्ने देशको परिचयको आधारमा कैलाश मानसरोवर भ्रमणको अनुमति पाएका थिए ।  

शनिबार बिहान चिनियाँ समय अनुसार १०ः०५ बजे छेन्दुबाट प्रधानमन्त्री प्रचण्ड नेपालका लागि उड्ने छन् । उनी शनिबार बिहान ११ः१० बजे काठमाडौँमा अवतरण हुने जनाइएको छ ।

चीन भ्रमण आउनुभन्दा पहिला नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रममा छङ्तुको कार्यक्रम सार्वजनिक गरेको थिएन । तिब्बतबाट नेपालको सिधा हवाई यात्रा नभएका कारण छङ्तु हुँदै जानु पर्ने भएकाले शुक्रबारको कार्यक्रम पछिमात्र थप भएको हो ।

तिब्बतको ल्हासाबाट नेपाल हवाई उडान भएको भए एक घण्टा १० मिनेटमा नेपाल पुग्न सकिने थियो । छङ्तुबाट नेपाल पुग्नका निम्ति करिब ३ घण्टा १० मिनेट समय लाग्दछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप