आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल रह्यो :  सल्लाहकार आचार्य

शुक्रबार, १२ असोज २०८०, २२ : ३५
शुक्रबार, १२ असोज २०८०

छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य आचार्यले चीनको छन्दुमा शुक्रबार यो भ्रमणले दुई देशका बीचमा आपसी विश्वास र सद्भाव वृद्धि भएको बताए ।
 
यस भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यका साथै त्यसको अघिल्लो दिन दुई देशबीच भएका विभिन्न १३ ओटा सम्झौता र समझदारी नेपालको विकासका लागि कोशेढुङ्गा सवित हुने उनको भनाइ थियो ।
 
उनले भने– “जुन विश्वास र आपसी समझदारीका साथ यो भ्रमण सम्पन्न भएको छ, यसले दुई देश बीचको सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको छ र यस भ्रमणका क्रममा भएका सहमति र समझदारीका विषयहरू नेपालको हित र विकासमा सहयोगसिद्ध हुने कुरा आगामी दिनले नै देखाउनेछ ।”

सल्लाहकार आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई चीनका राष्ट्रपतिले महत्त्व दिएर प्राथमिकतामा राखेको आफूले पाएको बताए । प्रधानमन्त्री प्रचण्डसँग र नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति चिनफिङले गरेको कुराकानी र वार्ताका लागि दिएको समयले पनि यो कुरालाई पुष्टि गर्ने आचार्यको भनाइ थियो ।
 
त्यसपछि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग पनि महत्त्वपूर्ण रूपमा द्विपक्षीय कुराकानी भएको बताउँदै आचार्यले सो द्विपक्षीय भेटवार्ता दुई देशको सम्बन्धमा थप विश्वास र समझदारीको विकास गर्न सहयोगी रहेको टिप्पणी गरे ।
 
यो भेटले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको आफूले महसुस गरेको पनि उनले जानकारी दिए । उनले भने, “यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध र समझदारी नयाँ उचाइमा पुगेको छ, बुझाइमा एकरूपता कायम भएको छ र आगामी दिनमा यसको परिणाम मुलुकको हितमा रामै्रसँग देखिनेछ ।”

प्रधानमन्त्री दाहालसँगको द्विपक्षीय वार्तापछि भएका सम्झौताहरूका साथै भूकम्पपछि तथा कोभिडका समयमा बन्द भएका नाकाहरू खोल्ने सहमतिले दुई देशका सीमा क्षेत्रका नागरिकका मात्र नभएर देशकै व्यावसायिक रूपमा आयात निर्यातका समस्याहरू पनि समाधान भएर जाने उनको भनाइ छ ।
  
प्रधानमन्त्रीले तिब्बतको भ्रमण गर्नु र त्यहाँका नेताहरूसँग आपसी भेटघाट गर्नु भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो । नेपालसँगका प्रायः नाकाहरू तिब्बतसँग नै जोडिने र नेपाल तिब्बत व्यापार ऐतिहासिक रहेकाले प्रधानमन्त्री त्यहाँ पुग्नुभएको बताउँदै सल्लाहकार आचार्यले कैलाश मानसरोवर नै पुगेर त्यहाँ आउने हिन्दु तीर्थयात्री एवं अन्य पर्यटकको सम्भावनाका बारेमा पनि अध्ययन गरिएको बताए ।

कैलाश मानसरोवर नेपाल तथा भारतका हिन्दू धर्मावलम्बीहरूका आस्थाको स्थल भएको र त्यहाँ आउनका लागि तिब्बतको बाटो प्रयोग गरेर आउँदा निकै घुमाउरो र समस्या भएकाले नेपालकै बाटो भएर त्यहाँ आउनसक्ने अवस्थाको अध्ययनका लागि प्रधानमन्त्री त्यहाँ पुगेको उनले बताए ।

त्यहाँ पुगेपछि प्रधानमन्त्री दाहालले कैलाश मानसरोवरको दर्शन एवं भ्रमणका लागि आउने पर्यटकहरूलाई हुम्लाको हिल्सा नाकाबाट यता आउनेगरी हुम्लाको सिमकोट हिल्सा सडक निर्माणलाई दु्रत बनाउने गरी छिट्टै काम अघि बढाइने मानसिकता प्रधानमन्त्री दाहालले बनाउनुभएको सल्लाहकार आचार्यले जानकारी दिए ।

उनले यो भ्रमणले नयाँ विश्वास कायम गरी सम्बन्धका नयाँ आयामहरू निर्माण गर्न सफल भएको पनि बताए । उनले भने, “नेपालको आर्थिक सामाजिक विकासका साथै कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू थप गर्ने हिसाबले पनि यो भ्रमण सफल भएको छ र यसले नेपालको हितमा आगामी दिनमा राम्रै परिणाम पनि दिनेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप