सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
व्यक्तिचित्र

नेपाली कलामा टेकवीर मुखिया

बिहीबार, १८ असोज २०८०, १० : ०६
बिहीबार, १८ असोज २०८०

नेपाली कला जगत्मा टेकवीर मुखिया एक सुपरिचित नाम हो । मदन पुरस्कार गुठीबाट चार लाख राशिको ‘जगदम्बा–श्री’ सम्मानबाट यसपालि उहाँ सम्मानित हुनुहुँदैछ । उहाँले आफ्नो लामो एवम् अनवरत कलायात्राका क्रममा असङ्ख्य चित्ररचना गरिसक्नु भएको छ । पाठ्यपुस्तक एवम् साहित्यिक पुस्तकहरूका लागि हजारौँ आवरण चित्र बनाइसक्नु भएको छ । अनेकौँ पोस्टर, इलुस्ट्रेसन, कार्टुनचित्र उहाँले बनाइसक्नु भएको छ । 

ललितपुर भैँसेपाटीमा बस्नुहुने वरिष्ठ कलाकार टेकवीर मुखियाको नेपाली कलामा लामो समयदेखि ठुलो लगानी रहेको छ । उहाँको यही योगदानलाई कदर गर्दै ‘जगदम्बा–श्री’ सम्मान दिन थालिएको हो ।

उहाँको जन्म आजभन्दा ९२ वर्षअघि दार्जिलिङमा भएको हो । उमेरका कारण पनि केही वर्षदेखि उहाँले कलाकर्ममा ‘मन’ भए पनि ‘तन’ लगाउन सकिरहनु भएको छैन । ‘जगदम्बा–श्री’ सम्मानले आफूलाई ऊर्जा दिएको बताउँदै आफूले कलामै जीवन बिताएको र पाउनेभन्दा धेरै गुमाएको तर धेरैको मायाले हौसला मिलिरहेको उहाँको भनाई छ । यो उमेरमा यति ठुलो पुरस्कार पाउनु आफ्नो अहोभाग्य भएको पनि उहाँ बताउनुहुन्छ ।

आफ्नो बाल्यकाललाई सम्झिँदै उहाँ भन्नुहुन्छ– “मेरो बुबा कर्णवीर सुनुवार भारतीय सेनामा नोकरी गर्नुहुन्थ्यो । उहाँको पद ‘मुखिया’ थियो । पद मुखिया भएकाले सबैले उहाँलाई ‘मुखिया दाइ’ भन्थे । मैले पनि आफ्नो नामको पछाडि ‘मुखिया’ नै राखेँ । मावलीघर खर्साङमा मेरो बाल्यकाल बित्यो । हाम्रो पुर्ख्यौली थलो ओखलढुङ्गा हो भन्ने सुनेको छु तर म त्यता पुगेको छैन । मेरो प्रारम्भिक शिक्षा दार्जिलिङको ‘डेविस प्राइमरी स्कुल’बाट भयो । सानैदेखि मलाई चित्र कोर्न र बाँसुरी बजाउन पाएपछि अरू केही चाहिँदैन थियो ।” उहाँ ‘मेन्डोलिन’ बाजा पनि मजासँग बजाउनुहुन्छ ।

Tek Bir Mukhiya  (1)-001

चित्रकलाप्रति आफ्नो अभिरुचि कसरी जाग्यो भन्ने सन्दर्भमा उहाँ सुनाउनुहुन्छ– “म पढ्ने स्कुलमा जङ्गे नामका सरले हिसाब पढाउनुहुन्थ्यो । उहाँ निकै कडा मिजासका गुरु हुनुहुन्थ्यो । हातमा लामो लौरो सधैँ रहन्थ्यो । हाम्रो कक्षाकोठाको भित्तामा ट्याक्सीडर्मी गरिएको जरायोको टाउको राखिएको थियो । जङ्गे सरको उर्दी हुन्थ्यो, ‘नपढ्ने विद्यार्थीलाई यही जरायोको सिङमा झुन्ड्याइ दिन्छु ।’ म हिसाबमा कमजोर थिएँ । एकदिन म चित्र बनाउँदै थिएँ । जङ्गे सरले देख्नुभयो ।”

सोही घटनालाई सम्झिँदै मुखिया तिनै स्कुले जीवनमा पुग्नुहुन्छ– “अब लौरो खाइने हो कि जरायोको सिङमा झुन्ड्याइने हो भन्ने डरले मेरो सातो गयो । सरले चित्र हेर्नुभयो । त्यसमा मैले हातमा लामो लौरो लिएका क्रुद्ध स्वरूपका जङ्गे सरकै चित्र बनाएको थिएँ । चित्र हेरेपछि सरले सजायको बदला स्याबासी पो दिनुभयो । त्यस घटनाबाट चित्र बनाउनमा म झन् उत्साहित हुन थालेँ ।”

मुखियाका अनुसार उहाँका बुबालाई भने छोराले बाँसुरी बजाएको र चित्र बनाएको पटक्कै मन पर्दैनथ्यो । उहाँ छोरालाई आफूजस्तै सेनामा भर्ती गराउन चाहनुहुन्थ्यो । मुखिया परिवारका नाता कुटुम्ब सबैजना प्रायः सेना वा प्रहरीमा जागिरे थिए । उहाँको परिवार दार्जिलिङबाट कोलकाता बसाइँ सर्‍यो ।

ती दिन सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘कोलकातामा मैले सङ्गीत सिक्न थालेँ । साङ्गीतिक कार्यक्रमहरूमा भाग पनि लिन्थेँ । त्यसैताका मेरो सङ्गत त्यो बेला नाम चलेका कलाकार रामकुमारसँग हुन पुग्यो । उहाँमार्फत मैले चलचित्रका ‘पोस्टर’ बनाउने, पर्दामा चित्र बनाउने आदि काम पाउन थालेँ ।”

त्यसबखत आफू सिर्जनामा निकै सक्रिय रहेको सम्झना सुनाउँदै बेलाबखत ‘पोट्रेट’ बनाउने काम पनि आउँथ्यो भन्नुहुन्छ । उहाँका अनुसार तत्कालीन क्यान हाउस स्कुलका प्रिन्सिपल एफजी स्मिथले बराबर उहाँलाई ‘पोट्रेट’ बनाउने काम दिनुहुन्थ्यो । त्यही सीपको निरन्तरताले आफूले नेपाली साहित्य, कला, संस्कृतिका विशिष्ट व्यक्तित्वहरूलाई ‘पोट्रेट’ मा उतारिसकेको उहाँ बताउनुहुन्छ ।  

विसं. २०१० सालमा नेपालका तेन्जिङ शेर्पाले सर्वप्रथम विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समाचार सर्वत्र फैलियो । मुखियालाई पनि अब आफ्नै पुर्ख्यौली थलो फर्किने चाहना भयो । फलतः केही वर्ष लगत्तै उहाँ नेपाल आउनुभयो ।

उहाँ भन्नुहुन्छ– “काठमाडौँमा म मामा धनबहादुर थापासँग बस्न थालेँ । यहाँ मैले ‘हिम मनोरञ्जन’ गुठीमा गितार बजाउने काम पाएँ । यो विसं. २०२०/०२१ सालतिरको कुरा थियो । त्यहाँ म रातभरि पनि गितार बजाउने गर्थे । पारिश्रमिकबापत चिया र चिउराबाहेक अरू केही पाउँदिनथेँ । एकदिन म पशुपतिनाथ मन्दिर परिसरमा दृश्यचित्र बनाउँदै थिएँ । मेरो काम देखेर कुनै व्यक्तिले मलाई ‘बालाजुको जोरगणेश प्रेसमा यस्तै चित्र बनाउने मान्छे चाहिएको छ, तुरुन्तै जानुहोस्,’ भने ।”

Tek Bir Mukhiya  (2)-001

त्यस उप्रान्त उहाँले जोरगणेश प्रेसमा किताबको आवरण चित्र तथा रेखाचित्रहरू बनाउने काम पाउनुभयो । त्यो बेला उहाँको मासिक तलब तीन सय रुपियाँ थियो । त्यही तीन सय रुपियाँबाट बचाएर कोलकातामा रहेकी आमालाई पनि खर्चसमेत पठाउनु हुन्थ्यो । त्यसपछि रत्नपुस्तक भण्डार र साझा प्रकाशन आदिबाट प्रकाशित हुने पुस्तकहरूको डिजाइन गर्ने काम पनि पाउन थालेको उहाँ बताउनुहुन्छ ।

विसं. २०२२ सालदेखि उहाँले साझा प्रकाशनमा काम गर्न थाल्नुभयो । सो प्रकाशनबाट उहाँले अवकाश लिनुभएको पनि निकै वर्ष बितिसकेको छ । कलाकार मुखियाले आफ्ना क्यानभासमा प्रायः दृश्यचित्र र जनजीवनलाई उतार्दै आउनुभएको छ । समाजका विपन्न वर्गका  आकृतिहरू पनि उहाँका चित्ररचनामा भेटिन्छन् ।

उहाँले नेपाली साहित्यका धेरै स्रष्टाहरूको पोट्रेट पनि रचना गर्नुभएको छ । उहाँ यथार्थपरक र आधुनिक दुवै शैलीमा काम गर्नुहुन्छ । उहाँ पेन–एन्ड–इन्क, जलरङ, तेलरङ आदि विविध माध्यममा दक्षतापूर्वक काम गर्नुहुन्छ । उहाँले विसं. २०४८ र २०६३ सालमा नेपालको संसद्को लोगो डिजाइन गर्नु भएको थियो ।

उहाँले बनाएका व्यङ्ग्यचित्र र पोस्टर जापान, मलेसिया आदि मुलुकमा प्रकाशित भएका छन् । त्यसबाट राम्रो पारिश्रमिक पाएको पनि उहाँ बताउनुहुन्छ । अचेल उहाँ मानव जातिको उत्पत्ति र भाग्यबारे अध्ययन गरी ‘राशि शृङ्खला’ मा कलासिर्जना गरिरहनुभएको छ । भूतप्रेत, जादू, ज्योतिषशास्त्र, मनोविज्ञान आदिको अध्ययन र चित्रणमा पनि उहाँ जुट्नु भएको छ । पशुपंक्षीलाई दानापानी दिने, बोटविरुवा लगाउने र खानपानमा उहाँलाई गहिरो शोख छ । यसकै आधारमा हाल आफूले कलामा नयाँपन दिने कोसिस गर्दै आएको पनि उहाँ जानकारी दिनुहुन्छ । 

उहाँले अनेकौँ सम्मान र पुरस्कारहरू पाइसक्नु भएको छ । जसमा ‘रङ्गलाल बाङ्देल पुरस्कार’ (२०५५), ‘भाजुमान राष्ट्रिय प्रतिभा पुरस्कार’ (२०५८), ‘बासुदेव लुइँटेल पुरस्कार’ (२०६४), नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा ‘अरनिको राष्ट्रिय ललितकला सम्मान’ (२०६९) लगायत रहेका छन् । यस अतिरिक्त नेपाल बाल साहित्य समाजबाट उहाँ धेरैपल्ट सम्मानित भइसक्नु भएको छ । 

(सबै तस्बिर लेखक स्वयम्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप