शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रबहादुर केसी भन्छन् : ‘यही तरिकाले जनता विदेशिरहे दश बिस वर्षपछि देश रित्तै हुन्छ’

बिहीबार, १८ असोज २०८०, १५ : ३६
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशबाट युवा पलायनका अवस्था भयावह रहेको भन्दै त्यसप्रति संसद् गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि बैठकको विशेष समयमा बोल्दै उनले अहिलेको गतिमा जनताहरू विदेश पलायन भएन आगामी दश बिस वर्षमा देश रित्तो हुने बताए । 

उनले यसबारेमा विशेष रूपमा संसद्मा छलफल हुनुपर्ने बताए । उनले बझाङमा भूकम्पबाट पीडित बनेका जनतालाई अभिलम्ब राहत दिन पनि सरकारलाई आग्रह गरेका छन् । 

चित्रबहादुर केसीको सम्बोधन जस्ताको तस्तै : 

कुराजस्ता कुरा गरौँ भने चित्त फाट्ने, नाच जस्तो नाच गरौँ भने घाँघर फाट्ने भन्थ्यो रे एउटाले त्यस्तै यहाँ कसलाई जिम्मेवार बनाउने हो ? हामी बोल्ने बेला सबै चोखा अनि जिम्मेवार को हो त ? आज यो देशको लथालिङ्ग अवस्थामा ? 

बझाङ र त्यस आसपासका जनता भूकम्पबाट पीडित भएर बसेका छन् । सरकारले युद्ध स्तरमा उनीहरूलाई सहयोग गरोस् । अर्को कुरा हामी सबैले यहाँ गोहीका आँसु बगाउँछौँ । नेपालमा विद्यार्थीहरू, श्रमिकहरू सारा विदेशतिर गए, अनि यहाँ गोहीका आँसु चुहाउनुको औचित्य के होला ? म दङदास पर्छु । नेपालमा उद्योगधन्दा छैनन्, कलकारखाना छैनन्, उहिल्यै हामीले बेचेर लिलाम गरिसक्यौँ । त्यस्तो गर्ने हामी यहीँ छौँ । तैपनि हामीले गोहीका आँसु चुहाउन छोड्दैनौँ । 

अर्को कुरा नेपालमा विशुद्ध पढ्ने ठाउँ नभएर सबै बेरोजगार भएर काम नभएका मान्छे मात्र विदेश गएका छन् भन्ने हुँदै होइन । नेपालमा यस्तो खालको रोग लागेको छ कि मन्त्रीका छोरा, सांसदका छोरा, साहु महाजनका छोरा, धनी मानीका छोरा सबैको एउटै मात्रै उद्धेश्य के छ भने नेपालमा केही हुन्न । त्यसकारण जाने गन्तव्य ठाउँ अमेरिका, युरोप, अस्ट्रेलिया र त्यहाँ जान नसक्नेहरू जापान गइरहेका छन् । त्यसकारण सुनियोजित रूपमा देश रित्याउने जुन स्थिति भएको छ, यो एजेन्डामा संसद्मा हामी सबैले छलफल गर्नुपर्छ । 

के कारणले आज नयाँ पिँढी सारा रित्तिएर गइरहेको छ, यही रूपले जनता भाग्ने हो भने देश बिस वर्षपछि रित्तै हुन्छ । यसबारेमा हामीले संसद्मा विशेष रूपमा छलफल गर्नैपर्छ । राम्रो डाक्टर, राम्रो शिक्षक, राम्रा नर्स सबै विदेशमा नेपालमा पढाउने अनि उनीहरूबाट फाइदाचाँही विदेशले लिने भएपछि यसबारेमा संसद्मा गोहीका आँसु बगाएर मात्र हुँदैन ।

यसबारेमा एजेन्डा बनाएर नै संसदभित्र विस्तृत छलफल गर्नुपर्छ । यसको निराकरणका लागि समयमै हामी सचेत भएनौँ भने हामीले कुरा गरिरहने, हामीले गोहीको आँसु बगाइरहने, मुलुक रित्तो हुँदै जाने र अरूले आएर यहाँ शासन गर्ने अवस्था नहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप