शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यस पटक धान उत्पादन बढ्ने अनुमान

पानी, बतास, रोग र किराको प्रकोप सधैँभन्दा कम भएको धान विज्ञको दाबी
आइतबार, ०५ कात्तिक २०८०, ११ : ४५
आइतबार, ०५ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशमा यस पटक धान उत्पादन सामान्य ढंगले बढ्न सक्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन् । कोशी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी जिल्ला धान उत्पादनको भण्डार नै मानिन्छ । 

यी जिल्लाहरूमा अहिलेसम्म रोग, किरा, पानी, बतासलगायतका समस्याले धानमा ठुलो असर गरेको छैन । कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख तथा कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीका अनुसार झापा, मोरङ र सुनसरीमा यस पटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको बताए । 

‘अहिलेसम्मको अवस्था हेर्दा धान कोशी प्रदेशमा राम्रो उत्पादन हुने देखिएको छ । विगत वर्षको तुलनामा घट्ने भन्दा सामान्य बढ्न सक्ने हाम्रो अनुमान छ,’ डाँगीले भने, ‘रोग, किरा तथा हुरी बतास र पानीले यस पटक ठुलो असर गरेको रिपोर्ट छैन ।’ 

धान विज्ञ डा. राजेन्द्र उप्रेती पनि यस पटक धान उत्पादन बढ्ने दाबी गर्छन् । ‘गत वर्षभन्दा धेरै राम्रो उत्पादन हुने देखिएको छ । झापा, मोरङ, सुनसरीमा बोट हेर्दा पनि त्यो राम्रो हुने अनुमान गर्न सकिन्छ,’ उप्रेतीले भने, ‘अबको धानमा फूल उडाउने या हावा हुरीले लडाए पनि क्षति हुने सम्भावना छैन ।’ किसानहरूले धेरै धान रञ्जित र स्वर्ण प्रजातिका लगाएका छन् । उक्त धान अहिलेसम्ममा दूध पसेर, नुहाइसकेको र पाक्ने क्रममा रहेको कारण अब हावाहुरी र असिनाले धेरै असर गर्न नसक्ने उप्रेतीको दाबी छ । 

३ लाख ३२ हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । यो ९७.६७ प्रतिशत रोपाई भएको हो । गत वर्ष ९७.१ प्रतिशत अर्थात् ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । कोशी प्रदेश कृषि निर्देशनालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–२०८० मा भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन भएको थियो । कोशी प्रदेशमा धान उत्पादन हुने जमिन ३ लाख ४० हजार ८२९ हेक्टर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप