आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दसैँ

मन्त्री सुदन किराँतीको दसैँ

चौरी र भेडीगोठमा टीका लगाउने, गोठालाहरुसँगै रमाउने
सोमबार, ०६ कात्तिक २०८०, १२ : ३९
सोमबार, ०६ कात्तिक २०८०

विराटनगर । पाँच दिन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू गृहजिल्ला भोजपुर जाने जानकारी दिए । अन्य मन्त्री तथा नेताभन्दा पृथक शैलीले चर्चामा आएका किराँतीले यसपालि दसैँ गृहजिल्लामै हुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मैले सुरुमै घोषणा गरिसकेको छु । मेरो सम्मान र सुरक्षाका लागि प्रहरीको पहरा, फूल, माला र खादाको प्रयोग गरी समय, शक्ति र सम्पत्ति खेर नफालौँ । यसपटक अर्थात् आजको मितिबाट सार्वजनिक कार्यक्रमसम्बन्धी मेरा निम्न शर्तहरु छन्ः १) मलाई प्रमुख अतिथिका रुपमा निम्तो दिइएको कार्यक्रममा म मञ्चमा होइन, सहभागीहरुसँगै बस्ने छु ।  २) कार्यक्रम जुन विषय र क्षेत्रसँग सम्बन्धित हुन्छ, सोही क्षेत्रका अग्रज प्रमुख अतिथि हुनुहुनेछ, म विशेष अतिथिमात्र हुनेछु ।’

उनको यो स्टाटसमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । सान, मान र आडम्बरले भरिभराउ राज्यका माथिल्लो निकायका धेरै मानिसप्रति जागिरहेको जनताको वितृष्णालाई कम गराउने खालको उनको स्टाटस थियो ।

Sudan Kirati (4)

त्यो प्रतिबद्धतासहित जिल्ला पुगेका उनी लगातार जनतासँगको भेटघाटमा छन् । जिल्ला पुगेर उनले आमचोकस्थित सरस्वती मावि, दुङगमानालाई ६ लाख ४३४ रुपैयाँ सहयोग गरे । उनले यो सहयोग आफूलाई खादा माला लगाउनुको साटो दान गर्न गरेको आह्वान अनुसारको पैसा थियो । जेहेनदार छात्रवृत्तिका लागि उनले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

Sudan Kirati (5)

उनले जिल्लाको आमचोक गाउँपालिका वडा नम्बर ८, किनुवा र कोशी करिडोरको सडक अनुगमन गरे । आमचोककै वडा नम्बर ६ स्थित बोयङमा बलात्कारपछि हत्या गरिएकी ७ वर्षीय बालिकाको घरमा पुगेर उनले २० हजार नगद सहयोग गरे ।

त्यस्तै उनले आमचोकका १० वडामध्ये अधिकांश वडामा ४ दिन लगाएर जनताको गुनासो, पीडा र प्रतिक्रियाहरु लिए । पूरा गर्न सकिने कुरालाई पहल गर्ने बताए । पूरा गर्न नसक्ने जनताको मागको विषयमा भने कुरा ‘क्लियर’ गरेर उनी निरन्तर अभियानमा लागिरहेका छन् । सँगसँगै पर्यटन प्रवर्द्धनमा पनि उनी लागिरहेका छन् । दसैँको टीकाको दिन उनले सधैँजस्तो एक छुट्टै कार्यक्रम पनि गर्ने सुनाए ।

‘दसैँभरि म जिल्लामै रहन्छु । हरेक दसैँमा मैले टीकाको दिन सिर्जनात्मक काम गर्दै आएको छु । यसपटक मैंयु डाँडामा गएर चौँरी भेडीगोठालाहरुसँग दसैँ मनाउने । उनीहरुलाई सम्मान गर्ने योजना बनाएको छु,’ टीकाको दिन के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘चौँरी र भेडा गोठका गोठालाहरुका लागि एकसरो लुगा पनि ल्याइदिएको छु ।’

Sudan Kirati (7)

भेडा र चौँरी गोठ भनेको नेपालीको मौलिक परम्परा रहेको मन्त्री किराँतीले बताए । ‘त्यसलाई बचाउन र ब्राण्डिङ गर्न सके त्यो पर्यटनको एउटा आधार पनि बन्छ । मान्छे सहरबाट गएर गोठमा एक रात सुत्ने, आफैँ दुध दुहुने, आफैँ दुध तताउने, कुराउनी बनाउने, मोही पार्ने, ठुलाठुला खर्कमा फोटो खिच्ने गर्न सकिन्छ । त्यसलाई प्रोत्साहन गरौँ भनेर जाँदैछु त्यता,’ उनले भने ।

दसैँभर जनभेटघाट हुने उनले सुनाए । ‘दसैँको समयमा बढी भेटघाट गर्नेछु । दुई वटा पालिकाका अधिकांश वडा जाने अभियानमा छु । भेटघाट चाहिँ चार पाँच सय वटा हुन्छ होला,’ उनले सुनाए, ‘मेरो दसैँ गोठालासँगै हो । परिवार काठमाडौँतिरै छन् ।’

Sudan Kirati (6)

उनी सानै छँदा आमाको निधन भएको थियो । बुबाको पनि केही महिना अगाडि  निधन भयो । दसैँमा आमा, बुबाको अभाव उनलाई खड्किने गरेको छ । तर, त्यस्तो पीडालाई भुलेर जनताकोमा जाने उनी बनाउँछन् । यसपालाको दसैँ पहिला जस्तो नदेखिएको उनको अनुभव छ ।

‘जनतामा दसैँ आएको छ । पहिलाजस्ता पिङ खेल्ने संस्कृति घटेर गएको छ । ठाउँठाउँमा मनोरञ्जनका लागि पिङ लगाएको देखिन्छ । केही मानिस मार हान्न पनि लागेका छन् । गाउँमा मान्छे कम छन् । बसाइँ सराइ र वैदेशिक रोजगारीमा गएको हुनाले युवाहरु कम देखिन्छन्,’ उनले सुनाए, ‘बाटो खन्ने, माटोखन्ने, घर लिप्ने हाम्रो चलिआएको परम्परा भने कायमै देखिन्छ । अरु कुरा केही नयाँ देखिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप