बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गुटरेससँग ओलीको गुनासो : प्रधानमन्त्री प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुगेन

आइतबार, १२ कात्तिक २०८०, १८ : ३७
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको गुनासो गरेका छन् । आइबार संघीय संसद भवनमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढवा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज बन्न गएको बताएका हुन् । 

माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्र संघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यता, महासचिव गुटरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए । त्यसैगरी ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउने काममा सक्दो सहयोग गर्ने बताए । 

‘उहाँले शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुङ्गियोस् भनेर आफूले चाहेको उहाँले बताउनु भयो । हाम्रो तर्फबाट हाम्रो पार्टी अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुनु हुँदैन । त्यो चाहिँ पीडितहरूलाई ध्यान राखेर समाधान गरिनुपर्छ । हामी त्यसलाई छिटो भन्दा छिटो टुङ्ग्याउन चाहन्छौँ । तर प्रधानमन्त्रीज्यू जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो । आज प्रधानमन्त्री हुनुहुन्छ । उहाँले नै यी सबै विषयहरू टुङ्ग्याउन भूमिका खेल्नुपर्नेमा चाहिँ अलिकति हिंसालाई बढवा दिने खालको, हिंसालाई महिमा मण्डन गर्ने खालको उहाँका क्रियाकलापले अलिकति असहज जस्तो भएको छ । खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मान्यता दिने जुन कुराहरू भयो । यसले पीडितहरू अलिकति चिन्तामा छन् । हामीले चाहिँ शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आम माफी हुन नहुने, यसमा हाम्रा अन्तर्राष्ट्रिय कमिटमेन्टहरुलाई पनि ध्यान दिनुपर्ने, सर्वोच्च अदालतको जुन आदेश छ, त्यो कुरालाई समेत ध्यानमा राखेर त्यो विषय छिटो भन्दा छिटो टुङ्गियोस् भन्ने चाहन्छौँ । र, प्रतिपक्षले हैसियतले हाम्रो यसमा सहयोग रहन्छ भन्नुभएको छ । जलवायु परिवर्तनको सन्दर्भमा नेपालले सकारात्मक योगदान गर्दागर्दै पनि आफूले नगरेको गल्ती भोग्न परिरहेको कुरा बताउनु भयो । र, यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गर्नु भयो । त्यस्तै लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउन सहयोगको अपेक्षा गर्नु भयो । र, संयुक्त राष्ट्र संघलाई अझ बलियो, अझ प्रभावकारी भएको, खासगरी विकासशील देशहरूको एउटा बलियो अभिभावक बनेको देख्न चाहन्छौँ भन्नुभयो,’ ज्ञवालीले भने ।

महासचिव गुटरेससँग ओलीले संयुक्त राष्ट्र संघलाई नेपालजस्तो विकासोन्मुख देशहरूको बलियो अभिभावकको रूपमा हेर्न चाहेको पनि बताएका थिए । उनले भने, ‘शुरुमै महासचिव महामहिमज्युले नेपालप्रतिको आफ्नो लगावका केही सन्दर्भहरु उठाउनु भयो । भुटानी शरणार्थी समस्या समाधानमा यसभन्दा अघि पनि आएको कुरा जानकारी गराउँदै खास गरेर नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया, जो सफल भएको छ । त्यो कुरा नेपालले संयुक्त राष्ट्र संघको शान्ति मिशनमा गरेको असाधारण योगदान र शान्तिका प्रणेता गौतम बुद्धको थलो भएको कारणले पनि नेपालप्रति  आफ्नो विशेष माया रहेको कुरा उठाउँदै उहाँले आफ्ना ३ वटा एजेण्डाहरु रहेको बताउनु भयो । खास गरेर नेपाली चाहिँ जलवायु परिवर्तनका कारण जुन पीडाहरू भोग्नु परेको छ । यो विषयलाई म नजिकबाट हेर्न चाहन्छु । र, यसलाई एउटा एजेण्डा बनाएर अगाडि बढाउन चाहन्छु भन्नु भएको छ । नेपाल अल्पविकसित अवस्थाबाट ग्राजुयट हुँदै गर्दा हामी नेपालको साथमा छौँ भन्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप