बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के हो स्लिप प्यारालाइसिस ?

सोमबार, १३ कात्तिक २०८०, १५ : २२
सोमबार, १३ कात्तिक २०८०

निदाउने बित्तिकै वा निद्राबाट ब्युझने बित्तिकै कहिलेकाँही केही बेर शरीर हलचल गर्न सकिँदैन, न त मुखबाट एउटा शब्द निकाल्न सकिन्छ । कतिपयले यो स्थितिलाई भूत प्रेतसँग जोड्ने गरेको पाइन्छ । मेडिकल साइन्समा यस्तो अवस्थालाई स्लिप प्यारालाइसिस भनिन्छ ।

हामी सुत्दा स्लिप साइकलको दुई हिस्सा हुन्छः र्यापिड आई मुभमेन्ट र नन र्यापिड आई मुभमेन्ट । हामी पहिलो चरणमा भएको बेलामा सपना देख्छौँ । स्लिप प्यारालाइसिस पनि यही बेलामा हुन्छ । यस्तो बेलामा मस्तिष्क जागा हुन्छ, तर शरीर पूर्ण रुपमा जागिसकेको हुन्न । निद्रा खुलिसकेको हुन्छ शरीर भने पक्षघात भए जस्तै हलचल गर्न नसकिने भएकोले यस्तो स्थितिलाई स्लिप प्यारालाइसिस भनिएको हो ।

यस्तो बेलामा केही मानिसहरू राक्षस, भूत–प्रेत, एलियन वा आफ्ना मृत आफन्तहरू देखेको बताउँछन् । कतिले भने आफ्नो शरीरको केही हिस्सा नै हावामा तैरिएको देख्छन् । आफ्नो बगलमा आफ्नो जस्तै अनुहार भएको मान्छे देखेको बताउनेहरू पनि छन् । यही हेलोसिनेशनकै कारण आधुनिककालीन यूरोपमा बोक्सी जस्तो अन्धविश्वास बढेको अनुसन्धानकर्ताहरूको विश्वास छ ।

अहिले पनि राति यस्तो ऐँठन हुँदा बोक्सीले छल्न आयो भनेर भन्नेहरु पनि प्रशस्तै भेटिन्टन् । साहित्यमा पनि यो अवस्थाको प्रशस्तै व्याख्या भेट्न सकिन्छ । यसबारे वैज्ञानिक अनुसन्धान र खोज भने कमै भएका छन् । गएको १० वर्षमा यसप्रति वैज्ञानिकहरूको रुची बढेको देखिएको छ । अनुसन्धान र खोज बढेसँगै स्लिप प्यारालाइसिसका घटनाहरु प्रकाशमा आउने क्रम पनि बढेको छ ।

के कारण हुन्छ स्लिप प्यारालाइसिस ?

डाक्टरहरुका अनुसार निद्रा पुरा नहुनु स्लिप प्यारालाइसिसको मुख्य कारण हो । सुत्ने समय तालिका अनियमित हुनु वा तनावको कारण पनि यस्तो समस्या देखिन सक्छ । उत्तानो परेर सुत्दा पनि स्लिप प्यारालाइसिस हुन सक्ने केही डाक्टरहरु बताउँछन् । यो कुनै गम्भीर स्वास्थ्य समस्या भने होइन । यसले शरीरमा कुनै खतरा हुन्न । केहीमा ध्यान र योगाले पनि यो समस्या कम हुन्छ । अलौकिक शक्तिमा विश्वास राख्नेहरु स्लिप प्यारालाइसिसको सिकार धेरै हुने विज्ञहरु बताउँछन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप