शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्पबारे रिपोर्टिङ गर्दा पीडितको भावना, संवेदनशीलता र पत्रकार आचारसंहिता ख्याल गर्न महासंघको आग्रह

शनिबार, १८ कात्तिक २०८०, १३ : ५५
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति र प्रभावितहरूबारे समाचार सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता, पीडितको भावनाको सम्मान गर्दै पत्रकार आचार संहिताको पालना गर्न आग्रह गरेको छ । शनिवार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै विपद्को बेला रिपोर्टिङ गर्दा संवेदनशील हुन आग्रह गरेका हुन् । 

महासचिव पुरीले विज्ञप्तिमा भनेका छन्– ‘विपद्को रिपोर्टिङका क्रममा सुरक्षा संवेदनशीलता अपनाउन महासङ्घ पत्रकारहरूलाई आग्रह गर्दछ । भूकम्पको समयमा क्षति र हताहतीको रिपोर्टिङ गर्दा मानवीय संवेदनशीलता, पत्रकार आचारसंहिता तथा पीडितको भावनाको उच्च सम्मान गर्न महासङ्घ पत्रकार तथा सञ्चारकर्मीहरूलाई आग्रह गर्दछ ।’

उनले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति ११ : ४७ बजे गएको ६ दशमलव २ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल पत्रकार महासङ्घ गहिरो दुःख व्यक्त गरेको उल्लेख गरेका छन् ।  भूकम्पबाट ज्यान गुमाउने १३० भन्दा धेरै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासङ्घ परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् भने भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

भूकम्पबाट केही सञ्चार गृहमा भौतिक क्षति पुगेको बताउँदै कतिपय पत्रकारहरू पनि प्रभावित भएको उल्लेख गरेका छन् ।  भूकम्पपछि सरकारले थालेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन महासङ्घले सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

भूकम्पबाट १३० भन्दा धेरै नागरिकको ज्यान गएको दुःखद परिस्थितिमा महासङ्घले शोक मनाउन आफ्ना औपचारिक कार्यक्रमहरू तीन दिनसम्म स्थगित गरेको छ । साथै पत्रकार तथा सञ्चारकर्मीलाई उद्धार तथा राहतमा केन्द्रित भएर सञ्चारकर्ममा जुट्न आग्रह पनि आग्रह गरेको छ ।  साथै कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई निष्कासन गरेको विरोधमा घोषित आन्दोलनका कार्यक्रमहरू पनि तीन दिनसम्म स्थगित गरिएको पनि महासचिव पुरीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप