शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता : कमल थापा फाइनलमा

बुधबार, २२ कात्तिक २०८०, ११ : ४६
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।  ६५ वर्षमाथि पुरुष सिंगल्समा थापाले  विदुर विष्टसँग उपाधिका लागि भिड्ने भएका हुन् ।

यता प्रदीप खड्का र ऋतिक राणा पुरुष सिंगल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निसान श्रेष्ठलाई ६–२ र ६–१ तथा ऋतिकले बोरिस अधिकरीलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा अभिलाषा विष्टले जेनी खड्कालाई ६–१ र ६–१, माहिका राणाले रायना शाहलाई ६–३, ४–६ र ६–३, शुभाङ्गीलक्ष्मी शाहले गंगा शर्मालाई ६–२ र ६–३ तथा प्रकृति श्रेष्ठले आद्या पौडेललाई ६–३, ३–६ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापा तथा सक्षमविक्रम शाह र प्रितम परियारको जोडी फाइनलमा पुगे । सो स्पर्धाको गर्ल्समा प्रकृति श्रेष्ठ र रायना शाह तथा अभिलाषा विष्ट र माहिका राणाको जोडी फाइनलमा पुगे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्स फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई ६–३, ६–७ र १०–७ ले पाखा लगाउँदै पहिलो भए । ३५ वर्षमाथि पुरुष सिंगल्समा सिमान्त गुरुङ, सन्तोष खत्री, जितेन्द्र परियार र कमलबहादुर भण्डारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ र जीवन घिमिरेले उपाधि भिडन्त पक्का गरे ।

प्रतियोगिताअन्तर्गत जुनियरको यु–८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल तथा गर्ल्समा निम्ति कुँवरले स्वर्ण जितेका छन् । फाइनलमा भिरलले जिवश भट्टराईलाई १०–४ र १०–८ तथा निम्तिले तभिसी राणालाई १७–१५ र १०–३ ले पराजित गरे । यु–१२ ब्वाइज सिंगल्समा च्याम्पियन बन्ने क्रममा विश्वविशेष डल्लाकोटीले फाइनलमा स्पन्दन उदासलाई ६–०, ५–७ र ६–३ को सेटमा पाखा लगाए । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ र साल्भी शेरचन फाइनलमा पुगेका छन् ।

यु–९ सिंगल्सको ब्वाइजमा निश्चल ज्ञवाली तथा गल्र्समा सरा पन्त र थिअ श्रेष्ठ फाइनलमा स्थान बनाउन सफल रहे । यु–१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी र सुजन कुइँकेल फाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गर्ल्समा सरा पन्त र अनुश्री धोजुले फाइनल खेल्ने छन् । यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी र वृजेश अर्यालले स्वर्ण भिडन्त पक्का गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप