मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित

बिहीबार, ३० कात्तिक २०८०, १३ : ०५
बिहीबार, ३० कात्तिक २०८०

वुडसाइड । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उनीहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत भएका छन् । यद्यपि बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई अझै पनि आफूले ‘तानाशाह’ मानेको बताए ।  

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उनीहरूले हात मिलाए र ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा टहलिए ।  चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेवार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि उनीहरू सहमत भएका छन् ।

चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखे ।

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन । यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । 

यद्यपि सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भने, “हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ ।” द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेबारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उनले बताए । 

“हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्छौं र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा उहाँ र म सहमत भएका छौँ”, राष्ट्रपति बाइडेनले भने । उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्त्वपूर्ण’ थियो । तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो । 

दुवै पक्ष कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) का साथै आगामी महिना दुबईमा हुने कोप२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।   तर निकै दुःख गरेर तयार गरिएको दुई पक्षबीचको वार्ता बाइडेनले गरेको एउटा कूटनीतिक टिप्पणीपछि टुङ्गियो ।

एक पत्रकारले अझै पनि सीलाई तानाशाह मान्छन् भनी गरेको प्रश्नमा बाइडेनले ‘हो, उहाँ हुनुहुन्छ’ भने । बाइडेनको उक्त टिप्पणीपछि बेइजिङबाट रोषपूर्ण प्रतिक्रिया आयो ।  “उहाँ तानाशाह हुनुहुन्छ भन्ने अर्थमा उहाँ एउटा कम्युनिष्ट मुलुक चलाउने व्यक्ति हुनुहुन्छ जुन हाम्रोभन्दा पूर्णरूपमा फरक सरकारमा आधारित छ”, बाइडेनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप