आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर ६ र ७ गते नेसपाले बोलायो केन्द्रीय समिति बैठक

माओवादीसँग पार्टी एकताबारे निर्णय हुने
बिहीबार, ३० कात्तिक २०८०, १७ : ४३
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको महासचिव रमेश यादवले जानकारी दिए । यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने उनले बताए । 

‘बैठक ६ र ७ गते बस्छ । बैठकले एकीकरणसम्बन्धी माओवादी केन्द्रले पठाएको पत्र र समायोजन कार्यदल गठनबारे निर्णय गर्छ । यसको अतिरिक्त जारी अभियान, सङ्गठन विस्तार, सुदृढीकरण सम्बन्धमा निर्णय गर्छ’, रातोपाटीसँग महासचिव यादवले भने । 

यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए । यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

सहअध्यक्ष गङ्गानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीमा एक जना थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय गरेको थियो । माओवादीले पठाएको पत्रलाई लिएर नेसपाभित्र अध्यक्षद्वय भट्टराई र यादवबिच विवाद छ । भट्टराई तत्काल पार्टी एकता गर्ने पक्षमा देखिएको छैन भने यादव पूर्व सहमतिबाट पछि हट्न नहुने पक्षमा देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप