आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी-नेसपा एकता

पार्टी एकताको आन्तरिक तयारीमा नेसपा, बाबुराम फकाउँदै एकता पक्षधर

आलोकनगरमा चार नेताको बैठक, बाबुरामले नमाने बहुमतको निर्णय !
सोमबार, ०४ मङ्सिर २०८०, १४ : २३
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने विषयमा नेपाल समाजवादी पार्टी (नेसपा)ले आन्तरिक छलफल सुरु गरेको छ । 

आइतबार माओवादी केन्द्र र नेसपाका संयुक्त वार्ता टोलीस्तरमा एकता समायोजन समिति गठनका साथसाथै पार्टीको नाम, झन्डा, राजनीतिक र वैचारिक दस्ताबेज लेखनका लागि नेतृत्वलाई सुझाव दिने सहमति भएको थियो ।

 पार्टी एकताको विषय टुङ्ग्याउनका लागि नेसपाले यही मंसिर ६ र ७ गते केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । बैठकको पूर्वसन्ध्यामा शीर्ष नेताहरू अहिले आन्तरिक छलफलमा जुटेका हुन् । 

पार्टी केन्द्रीय  कार्यालय आलोकनगरमा बुधबार जारी बैठकमा अध्यक्षद्वय डा बाबुराम भट्टराई र महिन्द्रराय यादव तथा सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादव सहभागी रहेको स्रोतले बतायो । 

‘माओवादीसँग बाबुरामसहित पार्टी एकताका लागि पहल भइरहेको छ । छलफलमा वार्ता टोलीले गरेको सहमति पत्र, एकता समायोजन समिति गठन, वैचारिक तथा राजनीतिक विषयमा गम्भीर छलफल भइरहेको छ । माओवादीसँग पार्टी एकता गर्ने विषयमा बाबुरामसँग कुरा मिलिसकेको छैन । उनी अझै पनि पार्टीको नाम नेकपा राख्ने पक्षमा देखिएका छन्’, स्रोतको दाबी छ । 

यद्यपि यादव यादव पक्षका नेताहरू कुनै पनि हालतमा पूर्व सहमतिबाट ब्याक हुने पक्षमा देखिँदैनन् । सकेसम्म बाबुरामकै नेतृत्वमा एकता समायोजन समिति बनाउने  र नभए विकल्प खोज्ने सम्मको तयारी यादव पक्षको छ । 

यसबारेमा उपाध्यक्ष हिसिला यमिसँग प्रश्न राख्दा वार्ता टोलीले पार्टी एकताको सम्बन्धमा सहमति गरेकाले  केन्द्रीय समिति बैठकमा आफूले धारणा राख्ने बताइन् । 

‘पार्टी एकताको हामी विरोधी होइन । आइतबार मात्र वार्ता टोलीले एकता गर्नका लागि सुझाव लिने सहमति गरेको हो । एकताका लागि सहमति गरेको होइन । यस विषयमा केन्द्रीय समिति बैठकमा म आफ्नो धारणा राख्छु’, रातोपाटीसँग उनले भनिन् । 

एक वर्षअघि नै माओवादी केन्द्र र नेसापबीच पार्टी एकता गर्ने सहमति भएको थियो । सोहीअनुसार नेसपाले माओवादीको चुनाव चिन्हबाट गएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएको थियो । जसमा नेसपाबाट अध्यक्ष यादव र सह अध्यक्ष श्रेष्ठ निर्वाचित भएका थिए । 

तर निर्वाचनपछि पार्टी एकताका लागि भट्टराई अनिच्छुक देखिएको माओवादी केन्द्रको भनाइ छ । यहीबिचमा भदौको अन्तिम साता आफूलाई बाइपास गरी एकतासम्बन्धी पत्र पठाएको भन्दै भट्टराई पक्ष प्रचण्डसँग चिढिएको थियो । 

यसविषयले पार्टीभित्रै अविश्वास पैदा भएपछि निर्णय लिनका लागि बाबुरामले केन्द्रीय समिति बैठक बोलाएका हुन् । यहीबिचमा वार्तासमिति स्तरमा पनि एकताको प्रक्रिया अघि बढेपछि भट्टराई दवावमा परेका छन् । वार्ता समितिस्तरमा नयाँ बन्ने पार्टीको नाम नेकपा (समाजवादी) राख्नेबारेमा समेत मोटामोटी सहमति भएको बताइएको छ । 

यसअघि नेसपाको पदाधिकारी बैठकमा पनि एकताबारे गम्भीर छलफल भएको थियो ।  एकता प्रक्रियामा  बाबुराम सहभागी नभए अन्तिममा बहुमतको बलमा आवश्यक निर्णय गर्ने तयारीमा यादव पक्ष रहेको नेताहरूको भनाइ छ । यादवलाई गंगानारायण श्रेष्ठलगायतले बलियो साथ दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप