सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी-नेसपा एकता

बाबुराम र महिन्द्रबिच 'वारपार वार्ता'पछि माइन्युटमा हस्ताक्षरको तयारी

सोमबार, ०४ मङ्सिर २०८०, १७ : ३८
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग सिंगो पार्टी एकीकरण हुने वा नहुने भन्ने विषयमा सोमबार साँझ ८ बजे टुङ्गो लगाउने भएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई, महिन्द्रराय यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवबिच हुने 'वारपार वार्ता'ले पार्टी केन्द्रीय समिति बैठकको एजेन्डा र पार्टी एकताको विषयमा टुङ्गो लगाउने महासचिव यादवले रातोपाटीलाई बताए । वार्ताबाट सहमति भए मंगलबार माइन्युटमा हस्ताक्षर गर्नेगरी तयारी भएको छ ।  

यसअघि एकता सम्बन्धमा दुवै पार्टीका वार्ता टोलीले आइतबार गरेको सहमति पत्रको विषयमा छलफल गर्न सोमबार दिउँसो पनि पार्टी कार्यालयमा शीर्ष नेताहरूको बैठक बसेको थियो । उक्त बैठक औपचारिकतामै सीमित रहेको र बेलुका वारपारको छलफल गरेर निर्णयमा पुग्ने समझदारी भएको यादवले बताए ।

‘माओवादी पार्टीसँग एकताको विषयमा टुङ्गो लगाउन अध्यक्षद्वय बाबुराम र महिन्द्र, सहअध्यक्ष गंगा र मसमेतको बैठक बसेको थियो । उहाँहरू प्रधानमन्त्रीले बोलाएको बैठकमा भाग लिन जानुपर्ने भएकाले दिउँसो कुनै सहमति भएन । बेलुका ८ बजे फेरि बस्छ’, यादवले भने । 

बाबुराम निवास टोखामा बस्ने बैठकले केन्द्रीय  समितिको एजेण्डा तय र माओवादीसँग पार्टी एकताको टुङ्गो लगाउने महासचिव यादवले जिकिर गरे । यादवका अनुसार दुई दिन राखिएको केन्द्रीय समिति बैठक घटाएर ६ गते मात्र राख्ने तयारी भएको जानकारी दिए । त्यस्तै महाधिवेशनको एजेन्डा हटाएर एकतासम्बन्धी एजेण्डामात्र राख्ने तयारी भएको छ । 

यस्तै भट्टराई निकट उपाध्यक्ष एवं पार्टी प्रवक्ता दुर्गा सोवले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न मंगलबार पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् । वार्ता  टोलीले सहमति गरेको पत्रको आधारमा एकता प्रक्रिया अगाडि बढाउने उनले बताइन् । 

‘माओवादीसँग पार्टी एकता गर्ने विषयमा सकारात्मक छलफल भइरहेको छ । पार्टीभित्र  एकताको विरोध कसैले पनि गरेको छैन । विचार, सिद्धान्त, पार्टीको नाम लगायत विषयमा निर्णय लिन मंगलबार पदाधिकारी बैठक बोलाएको छ’, उनले भनिन् । 

पछिल्लो समय माओवादीसँग एकता गर्न आनाकानी गरिरहेका भनिएका बाबुरामलाई एकता पक्षधरहरूले फकाउने प्रयास गरिरहेका छन्। माओवादीसँग एकीकरण गर्ने पूर्वसहमति भइसकेकाले एकतावद्ध भएर सिंगो पार्टी  नै एकीकरणा जानुपर्ने एकता पक्षधरको जोड छ । त्यस्तै बाबुरामले भन आफू एकताको विरोधी नभएको तर पार्टीको नाम, सिद्धान्त र कार्यदिशा तथा राजनैतिक र वैचारिक विषयमा स्पष्ट भएर मात्र एकता गर्नुपर्नेमा उनले जोड दिँदै आएको र सोमबार दिउँसो पनि यस्तै धारणा राखेका बताइएको छ । 

सहअध्यक्ष र महासचिवबीच छुट्टै छलफल

यसैबीच अध्यक्षद्वय बाबुराम र महिन्द्र  बैठकबाट निस्किएपछि सहअध्यक्ष श्रेष्ठ र महासचिव यादवबीच छुट्टै छलफल भएको स्रोतले बताएको छ । श्रेष्ठ बाबुरामका विश्वासिला पात्र मानिने भएपनि पछिल्लो समय एकताको पक्षमा रहँदै आएका छन् । 

महासचिव यादव भने अध्यक्ष महिन्द्रका विश्वासिला पात्र हुन् । दुई जना नेताबीच भावनात्मक कुरादेखि पार्टी एकतासम्म कुरा भएको बुझिएको छ । दुवै जना दुवै अध्यक्षका २०/३२ वर्षको सम्बन्ध रहेकाले एक ढिक्का भएर पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए ।  नेपाल समाजवादी पार्टीमा १८९ जनाको केन्द्रीय कमिटी रहेको छ । जसमा एकता पक्षधरमा धेरै रहेको दाबी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप