सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिकाद्वारा निजी स्वास्थ्य संस्थाहरूको अनुगमन तीव्र

आइतबार, १७ मङ्सिर २०८०, १४ : ४४
आइतबार, १७ मङ्सिर २०८०

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्र पारेको छ । महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो । 

महानगरको सूचना प्रकाशन आधारमा निवेदन पेस भएका संस्थाहरूको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताए । हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइरहेको हो । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ ।

अनुगमनका क्रममा मापडण्ड पुरा भएकाहरूको दर्ता गरिनेछ भने पुरा नभएकाहरूलाई मापदण्ड पुरा गर्न अनुरोध गरिने छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शय्याको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो । हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ । दर्तामा नआई मापदण्ड विपरीत सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए । महानगरपालिकाले जनस्वास्थ्य ऐन ०७७ तथा स्वास्थ्य संस्था दर्ता नवीकरण तथा सञ्चालन अनुमति कार्यविधि ०७७ निर्माण गरी सोही अनुसार काम कारबाही अगाडि बढाउँदै आएको छ ।

भरतपुर महानगरले १५ शय्याको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को सङ्ख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप