आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीका मन्त्री भुसाल र ज्वालाको पार्टीभित्रै आलोचना

बुधबार, २० मङ्सिर २०८०, २२ : ५१
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएकाहरूको कार्यसम्पादन नतिजा राम्रो नभएको भन्दै पार्टीभित्र चर्को आलोचना भएको छ । पार्टीबाट मन्त्री बनेका नेताहरूले राम्रो काम गर्न नसकेको भन्दै देशभरका नेता कार्यकर्ताले आलोचना गरेका हुन् ।

नेता कार्यकर्ताको आलोचना पार्टी नेतृत्वसमक्ष आइपुगेको एक नेताले बताए । ती नेताका अनुसार पार्टीबाट मन्त्री भएकाहरूको कार्यसम्पादन मूल्याङ्कन प्रगति विवरण पार्टीले छिट्टै माग्ने तयारी समेत गरेको छ । ‘हाम्रा मन्त्रीहरूको काम कारबाही र प्रभावकारिताबारे छलफल भइरहेको छ तर हेरफेरको कुरा केही छैन’, ती नेताको भनाइ छ । उनका अनुसार पार्टी सचिवालय बैठकमा समेत मन्त्री भएकाहरूलाई तपाईँहरूले के के गर्नुभयो ? भनेर सोध्न थालेका छन् ।

‘प्रभावकारी काम गर्न नसक्ने हो भने सरकारमा बस्नुभन्दा छोड्नु राम्रो हुन्छ भन्ने आवाज उठ्न थालेको छ । उनीहरूमाथि दबाब चर्को छ तर उहाँहरूले लन्ठ्याङमन्ठ्याङ जवाफ दिइरहनुभएको छ’, एक पदाधिकारी भन्छन्, ‘देशभरका कार्यकर्ताले हाम्रा मन्त्रीले केही गरेनन्, हाम्रा योजना एउटै पारेनन्, हामीले जनतासामु मुख देखाउने ठाउँ नै भएन भन्ने गुनासो व्यापक आएको छ ।’

तर पार्टी नेताहरूबिच मन्त्रीहरूको प्रभावकारिताबारे अनौपचारिक कुरा हुँदा मन्त्रीहरूले अर्थमन्त्रीलाई दोष दिने गरेका छन् । मन्त्रीहरूले आफू नेतृत्वको मन्त्रालयमा अर्थमन्त्रीले पर्याप्त बजेट नदिएको भनेर पन्छिने गरेका छन् । ‘अर्थमन्त्रीले नै बजेट दिएनन्, हामीले भनेको जायज कुरा पनि कसैले सुन्दैनन् भन्ने जवाफ आउने गरेको छ’, अनौपचारिक कुराकानीका क्रममा मन्त्रीहरूले दिने गरेको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उनीहरू आफै गनगन गर्छन् ।’

नेकपा एकीकृत समाजवादीबाट हाल २ मन्त्री र एक राज्यमन्त्री छन् । पार्टी उपाध्यक्ष समेत रहेका डा.बेदुराम भुसाल कृषि तथा पुशपंक्षी मन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक योजना तथा निर्माण मन्त्री बनेका छन् । त्यस्तै नन्दा चपाई भौतिक योजना राज्यमन्त्री छन् । भुसाल राष्ट्रियसभा सदस्य हुन् भने ज्वाला प्रतिनिधिसभा सदस्य हुन् । उनीहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको तीन महिनापछि गठबन्धन सरकारमा २०७९ चैत १७ गते सामेल भएका थिए ।

कृषि मन्त्री भुसाल र ज्वाला दुवैले प्रभावकारी काम गर्न नसकेको आलोचना बढ्न पुगेपछि अध्यक्ष माधवकुमार नेपालले समेत उनीहरूको प्रभावकारिताबारे चासो देखाएका छन् ।

कृषि मन्त्रालय र भौतिक दुवै जनसरोकारका मन्त्रालय हुन् । यी मन्त्रालय र नेतृत्व गर्ने मन्त्री प्रत्यक्ष जनतासँग जोडिन्छन् । मलखाद, विउ विजन, सडक, यातायात, र विकास निर्माणमा महत्त्वपूर्ण काम गर्ने मन्त्रालयको जिम्मा पाएका एकीकृत समाजवादीका मन्त्री भुसाल त ज्वालाको तुलनामा लगभग ‘गुमनाम’ जस्तै देखिन्छन् ।

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीका मन्त्रीहरूको प्रभावकारिताबारे पार्टीभित्र औपचारिक छलफल नभएको बताए । ‘हाम्रा मन्त्रीहरूले सम्भवतः आगामी बजेट ल्याउँछन् । तर मन्त्रीहरूले यो बिचमा राम्रो काम गरेनन् भने तलमाथि पनि हुनसक्छ भन्ने कुरामा पार्टीमा हामी सिरियस नै छौ । दुनियाँले देख्ने गरी काम गरेनन् भने हामी खबरदार भन्छौ’, खतिवडाको भनाइ छ ।

यसअघि अध्यक्ष माधवकुमार नेपालले पनि पार्टीका मन्त्रीहरूको कार्यसम्पादन कस्तो भइरहेको छ भनेर सोध्ने र छलफल गर्ने तयारी गरेको रातोपाटीसँगको कुराकानीमा बताएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप