आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
अवरोधको तयारीमा पहिचानवादी

एमाले भर्सेज पहिचानवादी : भिडन्त रोक्न एकीकृत सुरक्षा योजना लागु गरिने

शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ५८
शुक्रबार, २२ मङ्सिर २०८०

विराटनगर । नेकपा एमालेले मङ्सिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रहरी प्रशासनले भने सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजना लागु गर्ने तयारी गरेको छ ।

पछिल्लो समय दुवै पक्षले एक अर्कालक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । पहिचानवादीले केही दिन अगाडि ओखलढुंगामा आयोजना गरेको सार्वजनिक सभामा बोल्दै नेता गोपाल किराँतीले जबर्जस्ती गरे आफूहरुको लासमाथि टेकेर हिँड्नुपर्ने चेतावनी दिए ।

एमालेबाट निर्वाचित कोशी प्रदेशसभाका सांसदहरुले प्रदेशसभामा बोल्दै मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधानविरोधी भएको बताएका छन् । पहिचानवादीको यस्तो भनाइ संविधानप्रदत्त अधिकारको उल्लङ्घन भएको एमालेको दाबी छ ।

‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुःखद् छ,’ एमाले पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।’

कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यलाई कोशीका पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अवरोध गर्ने उनीहरुको धम्की छ ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिं थेगिमले २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आह्वान गरेको जानकारी दिए । ‘हामीले २५ गतेदेखि घुर्मी–चिवाभन्ज्याङ जागरण अभियान कार्यक्रम सञ्चालन गर्दैछौँ । २६ गतेदेखि घुर्मी–चिवाभन्ज्याङ अनिश्चितकालीन बन्द आह्वान गरेका छौँ,’ थेगिमले भने, ‘८२ प्लस ३ लाई हामीले अवरोध गर्ने भनेका छौँ । ८२ जनालाई कुनै पनि हालतमा अवरोध गर्ने हो । तीन जनाले भने माफी मागेको अवस्थामा जान दिन्छौँ ।’

एमालेले मंसिर १४ गते (बुधबार)देखि मध्यपहाडी संकल्प यात्रा सुरु गरेको हो । उक्त यात्रा मङ्सिर २६ गते उदयपुरको घुर्मी आइपुग्नेछ । एमालेको उक्त अभियानमा प्रदेशसभाबाट कोशी नामकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको विरुद्धमा बोल्ने तीन जना एमाले नेताहरु अध्यक्ष ओलीसहित नेता योगेश भट्टराई र महेश बस्नेत पनि सहभागी हुन लागेको कारण अवरोध गर्न लागिएको पहिचानवादीको दाबी छ ।

एकीकृत सुरक्षा योजना लागु हुने

दुवै पक्षले एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्का बढेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाले आफूहरुले जुनसुकै शान्तिपूर्ण कार्यक्रमलाई पूर्ण सुरक्षा दिने बताए ।

‘लोकतन्त्र, गणतन्त्र, संविधानले दिएको अधिकारलाई कसैले थुनछेक गर्न सक्ने अवस्था छैन । कसैले आउँछु भन्छन्, कोही जान्न भन्लान् । कसैले अउनै दिन्न भन्लान् । तर, हाम्रो सरोकार सुरक्षाको हो । सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ,’ बाँस्तोलाले भने, ‘कुरा के हो भने कसैले कसैलाई पनि निषेध गर्न मिल्दैन । कसैले कसैलाई पनि हस्तक्षेप गर्न नमिल्ने भएकाले स्वतन्त्रतापूर्वक आफ्नो कार्यक्रम गर्न पाउँछन् ।’

उनले एउटै ठाउँमा कार्यक्रम गर्ने कुरामा भने पहिला जसले कार्यक्रम तय गरेको हो, उसैलाई छाडिदिने नेपाली संस्कृति भएका कारण सोही अनुसार हुनसक्ने बताए । ‘नेपालीको संस्कृति पनि मिलेर गर्ने नै हो,’ उनले भने ।

प्रहरीले व्यापक रुपमा पहाडतिर फोर्स पठाएको छ । ‘एकीकृत सुरक्षा योजना अनुसार त्यहाँ सुरक्षा व्यवस्था लागु हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौँ । तर, एक आपसमा झगडा हुन नदिने कुरामा भने राजनीतिक कार्यक्रम भएका कारण राजनीतिक शक्तिहरुले नै बसेर छलफल गरेर मिलाएर जानुपर्छ,’ उनले भने ।

पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्न प्रहरीले प्रयास गर्ने डीआइजी बाँस्तोलाले बताए । उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन हुन्छन् । बाँकी कुरा राजनीतिक पार्टी र राजनीतिक शक्तिहरुबिच सहमति हुने कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप