सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
तीन दलका शीर्ष नेताबिच छलफल

हिउँदे अधिवेशन बोलाउनबारे सत्ता गठबन्धनमा छलफल

सोमबार, २५ मङ्सिर २०८०, १६ : ०२
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । संसद्को हिउँदे अधिवेशन जतिसक्दो चाँडो बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता देखाएका छन् ।

आइतबार सभामुख देवराज घिमिरेसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले सोमबार सत्तारुढ तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । दुवै छलफलमा प्रधानमन्त्री प्रचण्डले जतिसक्दो छिटो संसद्को हिउँदे अधिवेशन बोलाएर महत्त्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा संघीय संसद्को बैठक बोलाउने सम्बन्धमा छलफल भएको सहभागी एक नेताले रातोपाटीलाई बताए ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड टीआरसी, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन लगायतका विधेयक चाँडो संसदबाट अनुमोदन गराउन चाहन्छन् । संविधान अनुसार संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु संघ सरकारले अघि नबढाएको भन्दै प्रदेश सरकारले समेत संघ सरकारमाथि लगातार दबाब दिइरहेका छन् । केही दिनअघि मात्र मधेस र बागमती प्रदेश लगायत प्रदेश सरकारका प्रतिनिधिहरु काठमाडौँ आएर प्रधानमन्त्रीलाई दबाब दिएपछि सत्ता गठबन्धनका नेताहरू छलफलमा केन्द्रित भएका छन् ।

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबारको बालुवाटार बैठकमा विभिन्न विधेयकलाई कसरी चाँडो अघि बढाउने भन्ने बारेमा छलफल भएको बताए ।

‘अहिले मधेस प्रदेशदेखि लिएर विभिन्न प्रदेशका सरकारहरूले ऐन कानुन बनाउन आग्रह गरेका छन् । निजामती कर्मचारी, प्रहरी ऐन, संघीयता कार्यान्वयनको सन्दर्भमा भन्नेबारेमा छलफल भयो । फेरि अर्कोपटक बैठक बस्नेछौं’, अध्यक्ष नेपालकोे भनाइ छ ।

सोमबारको बालुवाटार बैठकमा सहभागी माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि हिउँदे अधिवेशन बोलाउने र संसदमा विधेयकहरु लैजाने विषयमा छलफल भएको बताए ।  

‘सदनमा विधेयक लैजानुपर्ने छ । प्रदेशहरूले पनि संघीय ऐन, कानुन बनाउन दबाब दिएका छन् । अर्कोतर्फ सदन स्थगित छ । सदन छिटो डाकेर प्रक्रिया अगाडि बढाउने विषयमा एमालेको अभियानले अवरोध गरेको छ’, बैठकको छलफलबारे जानकारी दिँदै गुरुङले भने, ‘निर्वाचन आयोगले फेरि राष्ट्रिय सभाको निर्वाचनको मिति तय गरेको छ । यी विषयले गर्दा सदन सुचारु गर्न समस्या देखिएको छ । यी नै विषयमा छलफल भयो ।’

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड पुसको पहिलो वा दोस्रो सातामा संसद् अधिवेशन बोलाउने मनस्थितिमा छन् । पुस पहिलो सातासम्म प्रमुख प्रतिपक्ष नेकपा एमालेको संकल्प यात्रा भएकाले त्यसपछि संसद्को अधिवेशन बोलाउन सक्ने बुझिएको छ । हिउँदे अधिवेशनमार्फत टीआरसी टुंग्याउने प्रधानमन्त्री प्रचण्डको सोच रहेको नेताहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप