मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्छ : मुख्यमन्त्री जम्कट्टेल

शनिबार, ३० मङ्सिर २०८०, १४ : १२
शनिबार, ३० मङ्सिर २०८०

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए ।
प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्र्रदेश सरकार स्थापनादेखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अन्तर्गत बजेट विनियोजन गर्दै आएको बताउँदै उनले प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको उनले बताए । चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख रुपैयाँ सवारी खरिदका लगि विनियोजन गरेको उनको भनाई छ ।

प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न काममा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको र मानव सेवाका काममा पनि निरन्तर रुपमा लगानी गर्ने सोच रहेकाले उचित योजनाका साथ प्रस्ताव पेश गर्न आग्रह गरे ।

उक्त अवसरमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडक मानव मुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताइन् । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाहरुको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत् क्रियाशील रहने उनले बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरेअनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अंग तयार रहनुपर्नेमा उनले जोड दिइन् । सोहीअनुरुप मानवसेवा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान अघि बढिरहेको उनले बताइन् । आश्रममा आश्रित नागरिकहरुको विभिन्न समस्या समाधानमा प्रदेश सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएको र नागरिकता लगायतका विषयमा रहेका जटिलता हटाउन संघीय सरकारसँग नियमित छलफल तथा समन्वय भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीति पनि मानव सेवा कै लागि हुनुपर्ने बताए । उनले राजनीतिक दलहरुको मूल्य र मान्यता अन्य वादहरुमा भन्दा मानवतावादतर्फ केन्द्रीत हुन जरुरी रहेको बताए । मानव सेवा नै महान धर्म भएको उनको भनाइ छ । मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरु धर्मको आस्थाको केन्द्र भएपनि सबै धर्मको सार मानव सेवा नै रहेको उनले बताए ।

मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने उनको भनाई छ । राज्यले गम्भिर ढंगबाट मानव सेवाको कामलाई अघि बढाउन जरुरी रहेको उनले बताए । सडक मानव मुक्त देश निर्माण अभियानमा राज्यले आफ्ना योजनाहरु केन्द्रीत गर्नुपर्ने सभापति बानियाँले बताए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडा मानवताको शहरको रुपमा रहेको र हेटौंडाबाट मानवताको सन्देश विश्वभर फैलिने बताए । सुन्दर नगरीको रुपमा रहेको हेटौँडाको शोभा बढाउने काम मानव सेवा आश्रमले गरिरहेको र आश्रमको समस्याहरु समाधनमा हेटौँडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने उनको भनाइ छ ।

उनले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै नागरिकहरुको उचित व्यवस्थापन हुने गरी निर्णय गर्न जरुरी रहेको बताए । सडक विस्तारका क्रममा किनारमा भएका संरचना हटाउँदा नागरिकहरु सुकुम्बासी नहुने र विकासका काम पनि निरन्तर चल्ने प्रकृतिबाट गर्नुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप