बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग

दुबईमा आईपीएलको लिलामी आज, चर्चामा रहेका महँगा खेलाडी

मङ्गलबार, ०३ पुस २०८०, ०९ : ४२
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण आगामी मार्चमा २३ तारिखदेखि सुरु हुँदैछ । विश्व चर्चित यो फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि मंगलबार ‘अक्सन’ (खेलाडी खरिद प्रक्रिया) हुँदैछ ।

खेलाडी ‘अक्सन’ कार्यक्रम दुबईमा हुँदैछ । आईपीएलको इतिहासमा पहिलोपटक खेलाडी ‘अक्सन’ कार्यक्रम भारतबाहिर गर्न लागिएको हो । ‘अक्सन’ कार्यक्रम नेपाल समयअनुसार, १ :१५ बजे सुरु हुने बताइएको छ । आगामी आईपीएलमा सहभागी हुने १० वटै टोलीले ‘अक्सन’ मार्फत आफूले रुचाएका खेलाडी खरिद गर्नेछन् । 

आगामी आईपीएलका लागि विश्वभरका एक हजार एक सय ६६ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्ये भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ‘अक्सन’ का लागि तीन सय ३३ जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको थियो ।

‘अक्सन’ कार्यक्रममा अधिकतम ७७ जना खेलाडीमात्र खरिद गर्न पाइने छ । ‘अक्सन’ मा खरिद गर्न पाइने अधिकतम ७७ मध्ये विदेशी खेलाडीको सङ्ख्या ३० रहेको छ । यसपटक ‘अक्सन’ मा सहभागी हुने १० वटा टोलीले कूल दुई अर्ब ६२ करोड ९५ लाख भारतीय रुपैयाँ खर्च गर्न पाउने छन् ।

त्यसमध्ये गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद, कोलकाता नाइट राइडर्स र चेन्नइ सुपर किङ्ग्स गरी चारवटा क्लब ३०–३० करोड भारतीय रुपैयाँभन्दा बढी रकम बोकेर ‘अक्सन’ मा सहभागी हुनेछन् । यी चारमध्ये कुनै एक क्लबले यसपटक सबैभन्दा महँगो रकममा खेलाडी किनेर इतिहास रच्ने सम्भावना पनि उत्तिकै छ । मंगलबारको ‘अक्सन’ मा सबैभन्दा बढी मूल्यमा बिक्री हुने अनुमान गरिएका केही खेलाडीको विषयमा यहाँ चर्चा गरिएको छ ।

(१) रचिन रवीन्द्र (न्युजिल्यान्ड)

न्युजिल्यान्डका अलराउन्डर युवा खेलाडी हुन्, रचिन रवीन्द्र । प्रभावशाली बायाँहाते ब्याट्सम्यान रचिन स्पिन बलर पनि हुन् । हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यही विश्वकपमार्फत नै उनी चर्चामा आएका हुन् । 

rachin

एकदिवसीय विश्वकपमा उनले तीन शतक प्रहार गरेका थिए । ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका उनले विश्वकपमा कुल पाँच सय ७८ रन बनाएका थिए । २४ वर्षीय रचिन विश्वकपमा तीव्रगतिका बलर र स्पिन बलर दुबैविरुद्ध प्रभावशाली देखिएका थिए । उनले विश्वकपमा ६४.२२ को औसतले रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि रचिनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले आफ्नो देशका लागि खेलेको पछिल्ला १८ वटा टी–२० अन्तर्राष्ट्रिय खेलमा एक सय १८ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् । रचिन पहिलो पटक आईपीएलको अक्सनमा सहभागी भएका हुन् । हालसम्म ५३ वटा टी–२० खेलेका उनले एक सय २३ को ‘स्ट्राइक रेट’ मा रन बनाएका छन् ।

अक्सनमा रचिनको नाम सेट–२ मा परेको छ । किविज टोलीका यी अलराउन्डर खेलाडीले आफ्नो न्यूनतम मूल्य ५० लाख रुपैयाँ राखेका छन् । यसपटक आईपीएलमा सबै टोली अलराउन्डर खेलाडीको खोजीमा छन् । त्यसैले रचिन अधिकांश क्लबको रोजाइमा पर्ने निश्चित छ । गुजरात, हैदराबाद, कोलकाता, चेन्नई, पञ्जाब र दिल्लीसँग यसपटक अक्सनमा २९ करोड भारतीय रुपैयाँभन्दा बढीको कोष बाँकी छ । यीमध्ये कुनै एक क्लबले रचिनलाई ठूलो रकममा खरिद गर्ने सम्भावना देखिन्छ ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल १८ : रन १४५ : स्ट्राइक रेट : ११७.८८
  • टी–२० प्रतियोगितामा प्रदर्शन : खेल ५३ : रन ६१८ : स्ट्राइक रेट : १२२.८६
  • आईपीएल खेलेको पछिल्लो क्लब : पहिलो पटक अक्सनमा सहभागी ।

(२) ट्राभिस हेड (अस्ट्रेलिया)

 अस्ट्रेलियन टोलीका ओपनर ब्याट्सम्यान हुन्, ट्राभिड हेड । उनी अलराउन्डर खेलाडी हुन् । आक्रामक ब्याट्सम्याको परिचय बनाएका हेडले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अस्ट्रेलियालाई उपाधि दिलाउन विश्वकपको फाइनलमा पनि उनले एक सय ३७ रन बनाएका थिए । उनले विश्वकपमा ६ खेल खेलेका थिए । ३०औँ जन्मदिन मनाउने तयारीमा रहेका हेडले विश्वकपमा दुई शतकको मद्दतले कुल तीन सय २९ रन बनाएका थिए ।

विश्वकपमा उनको स्ट्राइकर रेट एक सय २७ भन्दा बढी थियो । बायाँहाते ब्याट्सम्यानका अतिरिक्त उनी स्पिन बलर पनि हुन् । उनी टोलीलाई आवश्यक पर्दा विकेटकिपरको भूमिका पनि निर्वाह गर्न सक्छन् । उनले देशका लागि हालसम्म २३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले १४६.०० को स्ट्राइक रेटमा कुल पाँच सय ५४ रन बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ९१ रन हो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । आईपीएलको १० खेलमा उनले १३८.५१ को स्ट्राइक रेटमा दुई सय पाँच रन बनाएका छन् । उनले पछिल्लो पटक सन् २०१७ मा रोयल च्यालेन्जर्स बैंगलोरको तर्फबाट आईपीएल खेलेका थिए ।

यसपटक अक्सनमा हेडको नाम सेट–१ मा रहेको छ । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ हो । यसपटक हैदराबाद, कोलकाता, गुजरात र दिल्ली माथिल्लो क्रममा खेल्न सक्ने आक्रामक ब्याट्सम्यानको खोजीमा देखिएका छन् । यी चारवटे क्लबसँग अक्सनमा खर्च गर्नका लागि २८ करोड भारतीय रुपैयाँभन्दा बढी पैसा छ । यस्तो स्थितिमा हेडका लागि माथिका क्लबमध्ये कुनै एकले १० देखि १५ करोड भारतीय रुपैयाँसम्म खर्चन सक्ने सम्भावना देखिन्छ ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल २३ : रन ५५४ : स्ट्राइक रेट : १४६.१७
  • आईपीएलमा प्रदर्शन : खेल १० : रन २०५ : स्ट्राइक रेट : १३८.५१
  • आईपीएल खेलेको पछिल्लो क्लब : रोयल च्यालेन्जर्स बैंगलोर ।

(३) ह्यारी ब्रुक (इङ्ल्यान्ड)

इङ्ल्यान्डको राष्ट्रिय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन्, ह्यारी ब्रुक । २४ वर्षीय यी दायाँहाते ब्याट्सम्यान आक्रामक ब्याटिङका लागि चर्चित छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको विषयमा एउटा भनाई चर्चित छ । स्पिनर हुन् वा तीव्रगतिका बलर, टी–२० प्रतियोगिताको हरेक छैटौँ बलमा उनी बाउन्ड्री प्रहार गरेरै छाड्छन् ।

ब्रुक खासगरी मध्यक्रममा ब्याटिङ गर्न आउँछन् । उनले हालसम्म देशका लागि २७ वटा टी–२० अन्तर्राष्ट्रि प्रतियोगिता खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १४५.०८ हो । उनले टी–२० अन्तर्राष्ट्रियमा कुल पाँच सय ३१ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ८१ रन हो ।

टी–२० मात्र होइन, एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट क्रिकेटमा समेत उनलाई आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छ । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले पछिल्लो पटक सनराइजर्स हैदराबादबाट आईपीएल खेलेका थिए । पछिल्लो आईपीएलमा हैदराबादले उनका लागि १३ करोड २५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो ।

तर, पछिल्लो आईपीएलमा हैदराबादको प्रतिकूल स्वभावको पिचका कारण उनले ११ खेलमा एक सय ९० रनमात्र बनाउन सकेका थिए । पछिल्लो आईपीएलमा उनले कोलकाताको पिचमा एक शतक पनि बनाएका थिए । 

यसपटक आईपीएलको अक्सनमा उनी सेट–१ मा परेका छन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ ताकिएको छ । यसपटक आईपीएलमा कोलकाता र गुजरात टाइटन्स मध्यक्रमको ब्याट्सम्यानको खोजीमा देखिएका छन् । त्यसैले यी दुईमध्ये एक क्लबले ब्रुकलाई १० करोड भारतीय रुपैयाँभन्दा बढीमा खरिद गर्न सक्ने सम्भावना देखिन्छ ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल २७ : रन ५३१ : स्ट्राइक रेट : १४५.०८
  • आईपीएलमा प्रदर्शन : खेल ११ : रन १९० : स्ट्राइक रेट : १२३.३८
  • आईपीएल खेलेको पछिल्लो क्लब : सनराइजर्स हैदराबाद ।

(४) सार्दुल ठाकुर (भारत)

भारतीय टोलीका तीव्रगतिका बलर हुन्, सार्दुल ठाकुर । टोलीलाई आवश्यकता पर्दा उनी आक्रामक ब्याटिङ पनि गर्छन् । अप्ठ्यारो स्थितिमा रहँदा उनले महत्त्वपूर्ण विकेट लिएर आफ्नो टोलीलाई जित दिलाएका पर्याप्त उदाहरण छन् ।

३२ वर्षीय सार्दुल तल्लोक्रममा ब्याटिङ गर्न आएर आक्रामक पाली खेल्दै टोलीलाई जित दिलाउने क्षमता पनि राख्छन् । सार्दुलले हालसम्म भारतका लागि २५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले ३३ विकेट लिइसकेका छन् ।

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर चार विकेट हो । उनले भारतको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको खेल खेलिसकेका छन् ।

shardul

उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । सन् २०२२ को आईपीएलमा उनी दिल्लीमा आबद्ध भए । दिल्लीले उनका लागि १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्चिएको थियो । पछिल्लो सिजन भने उनले कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले एक सय १३ रन बनाउँदै ६ विकेट पनि लिएका थिए ।

सार्दुलले हालसम्म आईपीएलमा ८६ खेल खेल्दै ८९ विकेट लिएका छन् । उनले हालसम्म आईपीएलमा दुई सय ८६ रन पनि बनाएका छन् । यसपटक अक्सनमा उनी सुट–२ मा परेका छन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ रहेको छ ।

यसअघि उनले पञ्जाब, पुणे, चेन्नई, दिल्ली र कोलकाताबाट आईपीएल खेलिसकेका छन् । अहिले आईपीएलका हरेक टोली तीव्रगतिको प्रभावशाली बलरको खोजीमा देखिन्छन् । त्यसमाथि सार्दुल अलराउन्डर पनि हुन् । यस्तो स्थितिमा गुजराज, चेन्नई, हैदराबाद, पञ्जाब र बैंगलोरमध्ये कुनै एक क्लबले सार्दुललाई ठुलो रकममा खरिब गर्ने सम्भावना देखिन्छ ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल २५ : रन ६९ : विकेट : ३३
  • आईपीएलमा प्रदर्शन : खेल ८६ : रन २८६ : विकेट : ८९
  • आईपीएल खेलेको पछिल्लो क्लब : कोलकाता नाइट राइडर्स ।

(५) प्याट कमिन्स (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका प्रभावशाली खेलाडी हुन्, प्याट कमिन्स । उनी अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

कमिन्सको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि पनि जितिसकेको छ । उनले अस्ट्रेलियालाई एसेस शृङ्खला र टेस्ट च्याम्पियनसिपको उपाधि पनि जिताइसकेका छन् । कमिन्स टोलीका अलराउन्डर खेलाडी हुन् ।

उनले हालसम्म अस्ट्रेलियाका लागि ५० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ५५ विकेट लिएका छन् भने एक सय १६ रन पनि बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३० वर्षीय यी खेलाडीले चार सय ३८ विकेट लिनुका साथै एक हजार सात सय १७ रन पनि बनाएका छन् ।

कमिन्सले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म आईपीएलको ४२ खेलमा तीन सय ७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनले सन् २०२१ मा कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले केवल १४ बलमा अर्धशतक बनाएका थिए ।

सन् २०२० मा भने कमिन्स १५ करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए । यसपटक पनि उनी ठुलो रकममा बिक्री हुने अनुमान गरिएको छ । यसपटक अक्सनमा उनको नाम सेट–२ मा परेको छ । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको छ ।

यसअघि उनले मुम्बई र दिल्लीबाट पनि  आईपीएल खेलिसकेका छन् । यसपटक खासगरी चेन्नई, हैदराबाद, पञ्जाब र बैंगलोरमध्ये एक टोलीले उनका लागि ठुलो रकम खर्चने सम्भावना देखिन्छ । यी चार टोली भविष्यमा क्षमतावान कप्तानको खोजीमा पनि देखिएका छन् । त्यसैले पनि कमिन्स उनीहरुको रोजाइमा पर्न सक्छन् ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल ५० : रन ११६ : विकेट : ५५
  • आईपीएलमा प्रदर्शन : खेल ४२ : रन ३७९ : विकेट : ४५
  • आईपीएल खेलेको पछिल्लो क्लब : कोलकाता नाइट राइडर्स ।

(६) वानिन्दु हसरंगा (श्रीलंका)

विश्व क्रिकेटकै प्रभावशाली स्पिन बलर हुन्, वानिन्दु हसरंगा । यी श्रीलंकाली बलर हाल आईसीसी टी–२० वरीयताको तेस्रो नम्बरमा आसीन छन् । आफ्नो स्पिनका जादुमा माहिर ब्याट्सम्यानहरुलाई समेत घुमाउन सक्ने यी बलर अहिले आईपीएलमा हरेक क्लबको रोजाइमा परेका छन् ।

hasaranga

यसका अतिरिक्त उनी तल्लोक्रममा आएर राम्रो ब्याटिङ पनि गर्न सक्छन् । उनले हालसम्म श्रीलंकाका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । यी अलराउन्डर खेलाडीले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ९१ विकेट लिएका छन् भने पाँच सय ३३ रन पनि बनाएका छन् ।

वानिन्दु हसरंगाले यसअघि पनि आईपीएल क्रिकेट खेलिसकेका छन् । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले उनका लागि १० करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो । तर, घाइते समस्याका कारण उनले अघिल्लो सिजनको आईपीएलमा धेरै खेल खेल्न सकेनन् ।

आईपीएलमा हालसम्म आफूले खेलेको २६ खेलमा उनले ३५ विकेट लिएका छन् । यसपटक आईपीएलको अक्सनमा उनी सेट–२ मा परेका छन् । उनको न्यूनतम मूल्य एक करोड ५० लाख भारतीय रुपैयाँ तोकिएको छ ।

यसअघि उनले बैंगलोरबाट तीन सिजन खेलिसकेका छन् । यसअघि उनलाई खरिद गर्न हैदराबादले पनि चासो देखाएको थियो । यसपटक कोलकाता र चेन्नइ सुपर किङ्सले उनलाई खरिद गर्न बढी चासो देखाएको छ । यी दुईमध्ये कुनै एक क्लबले उनको लागि ठुलो रकम खर्च गर्न सक्ने सम्भावना छ ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल ५८ : रन ५३३ : विकेट : ९१
  • आईपीएलमा प्रदर्शन : खेल २६ : रन ७२ : विकेट : ३५
  • आईपीएल खेलेको पछिल्लो क्लब : रोयल च्यालेन्जर्स बैंगलोर ।

(७) मिचेल स्टार्क (अस्ट्रेलिया)

अस्ट्रेलियन टोलीका अलराउन्डर खेलाडी हुन्, मिचेल स्टार्क । उनी आठ वर्षपछि पुनः आईपीएल खेल्ने तयारीमा छन् । उनी बायाँहाते तीव्रगतिका बलर हुन् । उनी नयाँ र पुरानो दुवै बलले उत्तिकै आक्रामक बलिङ गर्न सक्छन् ।

स्टार्कले पछिल्लो पटक सन् २०१५ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए । उनी तल्लोक्रममा क्रिज सम्हाल्न आएर उत्तिकै आक्रामक ब्याटिङ गर्न पनि खप्पिस छन् । हालै सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै १६ विकेट लिएका थिए ।

अस्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि चुमाउन उनको भूमिका महत्त्वपूर्ण रहेको थियो । उनले हालसम्म देशका लागि ५८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ७३ विकेट पनि लिएका छन् ।

टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिलाउँदा उनले लिएको विकेट सङ्ख्या ६ सय ४७ पुग्छ । आईपीएलमा पनि उनले हालसम्म २७ खेल खेल्दै ३४ विकेट लिएका छन् । उनले हालसम्म दुई सिजनमात्र आईपीएल खेलेका छन् ।

सन् २०१८ को आईपीएलमा उनलाई कोलकाता नाइट राइडर्सले नौ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, घाइते समस्याका कारण उनी अधिकांश समय मैदानभन्दा बाहिरै रहेका थिए । यसपटक अक्सनमा उनी सेट–४ मा परेका छन् ।

स्टार्कको न्यूनतम रकम दुई करोड रुपैयाँ तोकिएको छ । यसपटक राजस्थान र हैदराबादलाई छाडेर अन्य सबै क्लबले उनलाई भित्र्याउन सक्ने सम्भावना रहेको छ । उनी यसपटक अक्सनमा सबैभन्दा महँगा बलर पनि बन्न सक्छन् ।

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन : खेल ५८ : विकेट ७३ : इकोनोमी रेट : ७.६३
  • आईपीएलमा प्रदर्शन : खेल २७ : विकेट ३४ : इकोनोमी रेट : ७.१७
  • आईपीएल खेलेको पछिल्लो क्लब  : रोयल च्यालेन्जर्स बैंगलोर ।

(८) जेराल्ड कोट्जी (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकाका प्रभावशाली बलर हुन्, जेराल्ड कोट्जी । दायाँहाते तीव्रगतिका यी बलरको सामना गर्न विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानहरु पनि हच्किन्छन् । २३ वर्षीय कोट्जीले दक्षिण अफ्रिकाका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।

हालसम्म भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनले विश्वकपमा २० वटा विकेट लिएका थिए । भारतीय पिचमा पनि उनको प्रदर्शन अब्बल रहँदै आएको छ । 

cotzee

कोट्जीले हालसम्म दक्षिण अफ्रिकाका लागि चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ६ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन ३२ रन दिएर तीन विकेट हो । 

घरेलु टी–२० क्रिकेटमा भने उनले ४२ खेल खेलेर ६० विकेट लिइसकेका छन् । आईपीएलमा भने उनी पहिलो पटक अक्सनमा सहभागी भएका हुन् । यसपटक अक्सनमा उनी सेट–२ मा परेका छन् । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको छ । गुजरात, हैदराबाद र पञ्जाब बाहेक अन्य सबै क्लबले उनलाई खरिद गर्ने सम्भावना छ । कोलकाता, रोजस्थान र बैंगलोरले उनका लागि ठुलो रकम खर्चने सम्भावना देखिन्छ । 

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन  : खेल ४  : विकेट ६  : इकोनोमी रेट  : १०.५०
  • टी–२० क्रिकेटमा प्रदर्शन  : खेल ४२  : विकेट ६०  : इकोनोमी रेट  : ८.०८
  • आईपीएल खेलेको पछिल्लो क्लब  : पहिलो पटक अक्सनमा सहभागी ।

(९) हर्षल पटेल (भारत) 

भारतीय टोलीका तीव्रगतिका बलर हर्षल पटेललाई रोजय च्यालेन्जर्स बैंगलोरले रिलिज गरेको हो । उनी सबैभन्दा बढी आईपीएलको खेल खेल्ने खेलाडीको सूचिमा पनि पर्छन् । उनले हालसम्म आईपीएलमा ९१ खेल खेलिसकेका छन् । 

आईपीएलमा उनले हालसम्म एक सय ११ विकेट लिइसकेका छन् । ३३ वर्षीय हर्षल दायाँहाते मध्यमतेज गतिका बलर हुन् । उनले हालसम्म भारतका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेल्ने अवसर पाएका छन् । 

आफ्नै शैलीको बलिङका कारण उनी ब्याट्सम्यानहरुलाई झुक्याउन खप्पिस मानिन्छन् । खासगरी मिडिल र डेथ ओभरका लागि उनी निकै उपयुक्त मानिन्छन् । तल्लोक्रममा क्रिज समाल्न आएर उनी टोलीलाई आवश्यक पर्दा आक्रामक ब्याटिङ पनि गर्न सक्छन् । 

harshal

हर्षलले हालसम्म भारतका लागि २५ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २९ विकेट पनि लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २५ रन दिएर चार विकेट हो । 

अघिल्लो सिजनको आईपीएलमा उनले १३ खेल खेलेर १४ विकेट लिएका थिए । उनलाई त्यतिबेला बैंगलोरले १० करोड ७५ लाख भारतीय रुपैयाँमा किनेको थियो । त्यतिबेला चेन्नई र हैदराबादले पनि उनलाई खरिद गर्न चासो देखाएका थिए । 

यसपटक आईपीएलको अक्सनमा उनको नाम सेट–२ मा परेको छ । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ निर्धारण गरिएको छ । उनलाई लखनउ, पञ्जाब, मुम्बई, हैदराबाद, चेन्नइ र दिल्लीमध्ये एक क्लबले भित्राउने सम्भावना छ । 

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन  : खेल २५  : विकेट २९  : इकोनोमी रेट  : ९.१८
  • आईपीएलमा प्रदर्शन  : खेल ९१  : विकेट १११  : इकोनोमी रेट  : ८.५९
  • आईपीएल खेलेको पछिल्लो क्लब  : रोयल च्यालेन्जर्स बैंगलोर ।

(१०) लोकी फर्गुसन (न्युजिल्यान्ड) 

न्युजिल्यान्डको राष्ट्रिय टोलीका तीव्रगतिका बलर हुन्, लोकी फर्गुसन । अघिल्लो सिजन उनले कोलकाता नाइट राइडर्सबाट आईपीएल खेलेका थिए । आगामी सिजनका लागि उनलाई कोलकाताले रिलिज गरिदिएको हो ।

अघिल्लो सिजनको आईपीएलमा उनका लागि कोलकाताले १० करोड भारतीय रुपैयाँ खर्चिएको थियो । ३२ वर्षीय फर्गुसन मिडल र डेथ ओवरमा विकेट लिन सक्ने विशेष क्षमता भएका बलर हुन् । उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

loki fur

फर्गुसनले टेस्ट भने एउटा मात्र खेलेका छन् । यसका अतिरिक्त उनले न्युजिल्यान्डका लागि ३३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ४४ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २१ रन दिएर पाँच विकेट हो । 

फर्गुसनले आईपीएलमा पनि ३८ खेल खेलिसकेका छन् । आईपीएलमा उनले ३७ विकेट पनि लिएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि ६५ खेल खेल्दै ९९ विकेट लिएका छन् । तर, टेस्ट क्रिकेटमा भने उनले विकेट लिन सकेका छैनन् । 

यसपटक आईपीएलको अक्सनमा उनको नाम सेट–४ मा परेको छ । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ ताकिएको छ । कोलकाताका अतिरिक्त यसअघि उनले गुजरात र पुणेबाट पनि आईपीएल खेलिसकेका छन् । यसपटक अक्सनमा उनका लागि राजस्थान, बैंगलोर, चेन्नई, मुम्बई, हैदराबाद र पञ्जाबमध्ये एक टोलीले ठुलो रकम खर्च गर्ने सम्भावना देखिन्छ । 

  • टी–२० अन्तर्राष्ट्रियमा प्रदर्शन  : खेल ३३  : विकेट ४४  : इकोनोमी रेट  : ७.८२
  • आईपीएलमा प्रदर्शन  : खेल ३८  : विकेट ३७  : इकोनोमी रेट  : ८.६६
  • आईपीएल खेलेको पछिल्लो क्लब  : कोलकाता नाइट राइडर्स ।

००००

आईपीएलको इतिहासमा महँगा खेलाडी 

(१) साम करन (इंग्ल्याण्ड)

  • न्यूनतम मूल्य  : २ करोड भारतीय रुपैयाँ
  • पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको

(२) क्यामरन ग्रिन (अस्ट्रेलिया)

  • न्यूनतम मूल्य  : २ करोड भारतीय रुपैयाँ
  • मुम्बईले सन् २०२३ मा १७ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको

(३) बेन स्टोक्स (इङ्ल्यान्ड) 

  • न्यूनतम मूल्य  : २ करोड भारतीय रुपैयाँ
  • चेन्नईले सन् २०२३ मा १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको

(४) क्रिस मोरिस (दक्षिण अफ्रिका) 

  • न्यूनतम मूल्य  : ७५ लाख भारतीय रुपैयाँ
  • राजस्थानले सन् २०२१ मा १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको

(५) निकोलस पुरन (वेस्ट इन्डिज)

  • न्यूनतम मूल्य  : २ करोड भारतीय रुपैयाँ
  • लखनउले सन् २०२३ मा १६ करोड भारतीय रुपैयाँमा किनेको

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप