आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मासिक ५० किमी दौडिने कर्मचारीलाई बोनस दिने घोषणा

शुक्रबार, ०६ पुस २०८०, १४ : १३
शुक्रबार, ०६ पुस २०८०

चीन । चीनको एउटा कम्पनीले वर्षको अन्त्यमा कर्मचारीहरूलाई बोनस बाँड्ने एउटा कार्यक्रमलाई व्यायामको प्रवर्द्धन गर्ने तयार पारिएको योजनाले विस्थापित गरेको छ । दैनिक रूपमा व्यायाम गर्ने कर्मचारीहरूलाई कम्पनीले वित्तीय पुरस्कार दिने भएको छ । कागज बनाउने कम्पनी क्वाङतोङ तोङफो पेपरको नाम हालै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा छाएको थियो ।

कम्पनीले परम्परागत प्रदर्शनको आधारमा कर्मचारीलाई बोनस बाँड्ने योजनालाई त्यागेर खेलकुद प्रदर्शनमा आधारित भएर बोनस दिने घोषणा गरेको छ । कम्पनीमा सय जना कार्यरत छन् । कर्मचारीहरू माझ स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न कम्पनी व्यवस्थापनले कर्मचारीले दैनिक गर्ने व्यायामका आधारमा बोनस दिने निर्णय गरेका हुन् । महिनामा ५० किमी दौडिने कर्मचारीले मासिक बोनस पूरै पाउनेछन् ।

४० किमी दौडिनेले बोनस रकमको ६० प्रतिशत पाउनेछन् । यस्तै ३० किमी दौडिनेले भने ३० प्रतिशत पाउनेछन् । एउटै महिनामा सय किमी दौडिएको प्रमाणित गर्नेले ३० प्रतिशत अतिरिक्त बोनस पाउनेछन् । ‘कर्मचारीहरू स्वस्थ रहे भने मात्रै मेरो व्यवसाय टिक्न सक्छ,’ क्वाङतोङ तोङफो पेपरका हाकिम लिन चियोङले भनेका छन् । आफूले गएको तीन वर्ष कर्मचारीहरूलाई खेलकुद र फिटनेशको मज्जा लिन प्रेरित गर्दै आएको उनले बताए । हरेक कर्मचारीहरूले दौडिएर पार गरेको दूरीलाई तिनीहरूको फोनमा एपमार्फत ट्र्याक गरिन्छ ।

एपले हिमाल चढेको र हिँडाइको गति लगायत कुरा पनि हेर्छ । तोकिएको कूल व्यायाममा यी दुईको अनुपात क्रमशः ६० प्रतिशत र ३० प्रतिशत छ । यो बोनस योजना निकै सफल भएको बताएको छ । चिनियाँ सञ्चार माध्यमहरूले पनि क्वाङतोङ तोङफो पेपरका कर्मचारीहरू नयाँ बोनस प्याकेजबाट खुसी भएको भन्दै खबर छापेको थियो । कम्पनीको यो नीतिप्रति इन्टरनेटमा सकारात्मक प्रतिक्रिया आइरहेको छ । केहीले भने यसले भेदभाव बढाउन सक्ने बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप