बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा स्थानीय तहको बेरुजु झण्डै १० अर्ब, असुल गर्न भएन पहल

बुधबार, ११ पुस २०८०, १२ : २८
बुधबार, ११ पुस २०८०

रौतहट । रौतहटको सबै स्थानीय तहमा गरेर कुल बेरुजु रकम झण्डै १० अरब पुगेको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन २०७९ अनुसार रौतहटका १८ पालिकामा ९ अर्ब ९० करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

जिल्लाका पालिकाहरुमा २०७९ असार ३२ गतेसम्म कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुखका नाममा २ अर्ब २१ करोड ५२ लाख २५ हजार ३० रुपैयाँ बेरुजु देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी ईशनाथ नगरपालिकामा ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ बेरुजु छ । दोस्रोमा राजपुर नगरपालिकामा ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

पालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फर्स्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फर्स्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

रौतहटका पालिकाहरुले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रुपमा प्रयोग गरी वित्तीय विवरण तयार गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । पालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार स्थायी पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको पाइएको छ ।

धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।

गौर नगरपालिकाको बेरुजु २७ करोड १७ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिक बेरुजु २७ करोड ९४ लाख ७३ हजार रुपैयाँ छ । साथै, गौर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर र लेखा प्रमुख सोहैल अन्सारीका नाममा १० करोड ७६ लाख ८२ हजार ७५ रुपैयाँ बेरुजु छ ।

ईशनाथ नगरपालिकामा पुरानो बेरुजु ७६ करोड १३ लाख ४२ हजार रुपैयाँ छ भने अद्यावधिक बेरुजु ८४ करोड २९ लाख ४२ हजार रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत भूदेव झा, खिमबहादुर भुजेल र लेखा प्रमुख मनोज कुमार ठाकुरको नाममा ११ करोड ९१ लाख ७८ हजार १ सय १२ रुपैयाँ बेरुजु छ ।

कटहरिया नगरपालिकाको ३९ करोड ३३ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८÷७९ मा अद्यावधिक गर्दा ५८ करोड १९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यो पालिकामा प्रशासकीय अधिकृत राम प्रकाश साह र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १८ करोड ८५ लाख ८७ हजार ८ सय ६१ रुपैयाँ बेरुजु छ ।

गढीमाई नगरपालिकाको अघिल्लो आर्थिक वर्षसम्ममा विभिन्न शीर्षकमा ५४ करोड १३ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८÷७९ सम्ममा अद्यावधिक गर्दा ६४ करोड १५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र लेखा प्रमुख कामेश्वर सहनीका नाममा १४ करोड ५९ लाख ५१ हजार ५ सय ७२ रुपैयाँ बेरुजु छ ।

गरुडा नगरपालिकाको ४४ करोड ८२ लाख १९ हजार रुपैयाँ बेरुजु बाँकी रहेकामा अद्यावधिक गर्दा ५६ करोड २८ लाख ५० हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादव र लेखा प्रमुख कुमार ठाकुरका नाममा ११ करोड ४६ लाख ३० हजार ८ सय ९४ रुपैयाँ बेरुजु छ ।

गुजरा नगरपालिकामा २८ करोड ३० लाख २८ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ३६ करोड ४१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यहाँ प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवाल र लेखा प्रमुख शैलेन्द्र कुमार श्रीवास्तवका नाममा ८ करोड ११ लाख ३ सय २१ रुपैयाँ बेरुजु छ ।

चन्द्रपुर नगरपालिकामा विगतका वर्षको ५४ करोड ८४ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा २०७८–७९ को लेखा परीक्षणबाट ७१ करोड ६१ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रमुख प्रशासकीय अधिकृतहरू सुरेन्द्र प्रधान, कृष्ण प्रसाद सिग्देल, हरिलाल पुरी र लेखा प्रमुख अपर्णा देवकोटाका नाममा १६ करोड ७७ लाख ३३ हजार ९ सय ९३ रुपैयाँ १६ पैसा बेरुजु छ ।

देवाही गोनाही नगरपालिकामा ४० करोड ६० लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८–७९ मा समायोजन र सम्परीक्षणबाट फर्स्यौट गर्दा अद्यावधिक बेरुजु ४८ करोड ५ लाख ५० हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद चन्द्रवंशी, मनोज कुमार यादव र लेखा प्रमुख प्रदिप कुमार यादवका नाममा ७ करोड ४५ लाख ८ हजार ८ रुपैयाँ बेरुजु छ ।

परोहा नगरपालिकामा २६ करोड ४९ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा आर्थिक वर्ष २०७८÷७९ सम्म आइपुग्दा अद्यावधिक बेरुजु ३४ करोड ८३ लाख ५७ रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, मो. महफुज अहमद र लेखा प्रमुख शिवपुजन मण्डलका नाममा ८ करोड ३७ लाख ७६ हजार ४ सय ५४ रुपैयाँ बेरुजु छ ।

फतुवा विजयपुर नगरपालिकामा ४६ करोड ७५ लाख ८२ हजार रुपैयाँ रहेकोमा अद्यावधिक बेरुजु ६१ करोड ८६ लाख १२ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार गुप्ता, शम्भु कुमार यादव र लेखा प्रमुख नवीन कुमार यादवका नाममा १५ करोड २ लाख ९१ हजार ९ सय ४१ रुपैयाँ बेरुजु छ ।

बौधीमाई नगरपालिकामा बेरुजु ४५ करोड ६८ लाख ९ हजार रुपैयाँ रहेकोमा अद्यावधिक गर्दा ५० करोड ३६ लाख ७९ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव र लेखा प्रमुख अरबिन्द कुमार यादवका नाममा ८ करोड ६४ लाख २३ हजार ७ सय ९ रुपैयाँ बेरुजु छ ।

माधवनारायण नगरपालिकामा लेखा परीक्षणबाट ३१ करोड ८१ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएकोमा अद्यावधिक बेरुजु ३७ करोड ६३ लाख ९८ हजार रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत जियालाल राय यादव, प्रलभ कायस्थ र लेखा प्रमुख रामबलम यादवका नाममा ५ करोड ८२ लाख ६७ हजार ४ सय २५ रुपैयाँ बेरुजु छ ।

मौलापुर नगरपालिकामा ५१ करोड ७ लाख ३४ हजार रुपैयाँ बेरुजु देखिएकोमा समायोजन र सम्परीक्षणबाट ५५ करोड १५ लाख ६५ हजार रुपैयाँ अद्यावधिक भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साह र लेखा प्रमुख जय प्रकाश महतोका नाममा १० करोड ५ लाख ९३ हजार ७ सय ५७ रुपैयाँ बेरुजु छ ।

राजदेवी नगरपालिकामा ५३ करोड ४६ लाख ३७ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु ६६ करोड ८८ लाख ९० हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत सुबोध साह र लेखा प्रमुख नागेन्द्र साहका नाममा १३ करोड ४२ लाख ५२ हजार ८ सय ७८ रुपैयाँ बेरुजु छ ।

राजपुर नगरपालिकामा ६५ करोड १६ लाख २५ हजार रुपैयाँ बेरुजु रहँदै आएकोमा अद्यावधिक बेरुजु ७८ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर र लेखा प्रमुख मनोज राज कर्णका नाममा १३ करोड ९९ लाख ५३ हजार ६७ रुपैयाँ बेरुजु छ ।

दुर्गा भगवती गाउँपालिकामा ५७ करोड ९७ लाख ४१ हजार रुपैयाँ बेरुजु रहँदै आएकोमा ८ लाख ६ हजार फर्स्यौट भए पनि अद्यावधिक बेरुजु ६८ करोड ८२ लाख २५ हजार रुपैयाँ पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव र लेखा प्रमुख विवेक कुमार सहनीका नाममा १० करोड ९२ लाख ८९ हजार ८ सय ७५ रुपैयाँ बेरुजु छ ।

यमुनामाई गाउँपालिकामा ३५ करोड ६७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएकामा ८ लाख ६ हजार फर्स्यौट भएको छ । अद्यावधिक बेरुजु ४९ करोड ९८ लाख ३५ हजार रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत राम श्रेष्ठ, राय यादव र लेखा प्रमुख श्रीनारायण झाका नाममा १४ करोड ३० लाख ९५ हजार ३२ रुपैयाँ बेरुजु छ ।

वृन्दावन नगरपालिकाको २०७८–७९ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको छैन । २०७७–७८ को लेखा प्रतिवेदनअनुसार ३९ करोड २३ लाख ७९ हजार रुपैयाँ बेरुजु छ । प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव र लेखा प्रमुख सिताराम पालका नाममा २० करोड ९९ लाख १७ हजार ७२ रुपैयाँ बेरुजु छ ।

रौतहटका कोष नियन्त्रक सन्तोष प्रसाद साहका अनुसार स्थानीय निकाय आफैँमा एउटा सरकार भएकाले बेरुजु रकम असुलका लागि सम्बन्धित व्यक्ति अथवा संस्थालाई पत्र लेखेर पहल गर्नु पर्दछ । स्थानीय निकायले असुलको लागि बेवास्ता गरेमा महालेखा परीक्षकको कार्यालयले पहल गर्नुपर्ने कुशवाहाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप