आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

माओवादीबाट राष्ट्रियसभा उम्मेदवार : जनयुद्धका घाइतेदेखि सहिद परिवारका सदस्यसम्म

सोमबार, २३ पुस २०८०, ०६ : १०
सोमबार, २३ पुस २०८०

काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गठबन्धन दलहरूबिच सहमति भएपश्चात् माओवादीले आफ्नो कोटामा परेका ६ सिटका लागि उम्मेदवार टुङ्गो लगाएको हो ।

माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारीका लागि कोशीबाट महिलातर्फ चम्मादेवी कार्की, बागमतीबाट अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, गण्डकीबाट महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीबाट अन्यतर्फ झक्कु सुवेदी, कर्णालीबाट दलिततर्फ विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट महिलातर्फ रेणु चन्दको नाम अनुमोदन गरेको हो । मधेस प्रदेशमा माओवादीले सिट पाएको छैन । कोशीका कार्की र बागमतीका अधिकारी जनयुद्धका घाइते नेता हुन् । गण्डकीकी शर्मा सहिद परिवारबाट आएकी हुन् । कालिकोटका बिक पुराना नेता हुन् । सुवेदी र चन्द माओवादीभित्र प्रभाव राख्ने नेतामा गनिन्छन् । उम्मेदवार रहेका ६ जनामध्ये ५ जना केन्द्रीय सदस्य हुन् भने एक जना प्रदेश समिति सदस्य हुन् ।

सुदूरपश्चिम प्रदेशको बैतडीकी रेणु चन्द केन्द्रीय सदस्य हुन् । उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपाध्यक्ष समेत हुन् । प्रदेश समितिले महिलामा चन्दसहित अन्जिता श्रेष्ठ र सरु चौधरीको नाम सिफारिस गरेको थियो । तर सबैलाई पछि पार्दै चन्द टिकट लिन सफल भइन् ।

बुबा गोपाल चन्दको प्रेरणाबाट राजनीतिमा होमिएकी उनको माओवादीका शीर्ष नेताहरू सबैसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ । उनी २०६४ को निर्वाचित संविधानसभा सदस्य हुन् । दशरथन्द नगरपालिका–९ की स्थायी बासिन्दा रहेकी चन्द बालकलाकार हुँदै माओवादी आन्दोलनमा लागेकी थिइन् । यसअघि उनी डोटी, बाजुरा, अछाम र बैतडीको जिल्ला इन्चार्ज भएकी थिइन् ।

कोशीबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारका रूपमा छानिएकी चम्पादेवी कार्की केन्द्रीय सदस्य हुन् । २०५४ मा एमालेबाट वडा सदस्य जितेकी उनी २०५७ देखि पूर्णकालीन माओवादी कार्यकर्ता भएकी थिइन् । त्यतिबेला उनी एमालेसँग विद्रोह गरी माओवादी आन्दोलनमा लागेकी हुन् । युद्धको क्रममा उनको एउटा हात गुमेको छ । उनी ओखलढुंगा इन्चार्ज र माओवादी निकट महिला संघको सचिव छिन् । माओवादीबाट आकाङ्क्षी देखिएका लक्ष्मी न्यौपाने, करुणा बस्नेत, ममता ताजपुरिया, अस्मिता कार्की लगायतलाई पछि पार्दै उनी उम्मेदवार बन्न सफल  भएकी छिन् ।

यस्तै, विष्णु विश्वकर्मा कालिकोटका पुराना नेता हुन् । सुरुदेखि नै माओवादी आन्दोलनमा लागेका उनी पार्टीभित्र इमानदार नेता मानिन्छन् । मालकोटमा शिक्षक रहेका उनी २०५४ सालमा राजीनामा दिएर माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । उनी पनि सहिद परिवारबाट आएका हुन् । कर्णाली प्रदेश दलित मुक्ति मोर्चाको संयोजक हुँदै केन्द्रीय सचिव भएका उनले यसअघि पार्टीमा थारुवान, पश्चिम र भेरी–कर्णालीको कमाण्ड सम्हालेका थिए । माओवादी युद्धमा धेरै सहिद भएको नरहरिनाथ गाउँपालिका मालकोटका उनी स्थायी बासिन्दा हुन् । विष्णुबहादुर अहिले माओवादी केन्द्रीय सदस्य छन् । युद्धको क्रममा मालकोट महिलाहरूले सुरक्षाकर्मीको राइफल खोसेका घटनाले चर्चित छ । कर्णाली प्रदेशमा उनी दलित कोटाबाट राष्ट्रिय सभा उम्मेदवार बनेका हुन् ।

लुम्बिनी प्रदेशमा झण्डै तीन दर्जन अकांक्षीलाई पछि पार्दै  झक्कु सुवेदी राष्ट्रिय सभाको उम्मेदवार बन्न सफल भएका छन् । रोल्पाका स्थायी बासिन्दा रहेका सुवेदी तत्कालीन एमालेबाट २०४९ को निर्वाचनमा जिल्ला सभापति जितेका थिए । माओवादी युद्धसँगै भूमिगत भएका उनले प्रवासमा रहेर काम गरेका थिए । २०६४ मा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका सुवेदी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–२ बाट नेपालसँगै पराजित भएका थिए । उनी २०७४ को निर्वाचनमा समेत काठमाडौँ–६ बाट उम्मेदवार बनेका थिए । तर कांग्रेसका नेता भीमसेन दास प्रधानसँग १३०० मतले पराजित भए । त्यतिबेला काठमाडौँ–६ मा हिमाल शर्मा बलिया उम्मेदवार रहे पनि राष्ट्रिय सभा सदस्य बनाउने सर्तमा प्रचण्डले अन्तिममा सुवेदीलाई टिकट दिएका थिए । शर्मा अहिले पनि बागमतीबाट उम्मेदवारका आकाङ्क्षी थिए । सुवेदी अहिले माओवादीको केन्द्रीय सदस्य हुन् ।  

बागमतीमा अपाङ्गता कोटाबाट उम्मेदवार रहेका श्रीकृष्ण अधिकारी नुवाकोटका पुराना नेता हुन् । २०५३ पुस १९ गते युद्धका क्रममा रामेछापको बेथान चौकी आक्रमणको क्रममा उनले एउटा आँखा गुमाएका थिए । अधिकारीलाई जनयुद्धको घाइतेका रूपमा लिइन्छ । पुराना र इमानदार नेताका रूपमा चिनिएका उनी माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेशका अध्यक्षसमेत हुन् । अधिकारी नुवाकोट सूर्यगढी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

गण्डकी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारका रूपमा चयन भएकी मनरुपा शर्मा सहिद परिवारकी सदस्य हुन् । २०५७ सालदेखि भूगोलमा काम गर्दै आएकी उनी वडा हुँदै २०६३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष भएकी थिइन् । त्यतिबेला उनी पार्टीको जिल्ला कमिटी सदस्य थिइन् । अहिले गण्डकी प्रदेश सचिवालय सदस्य र पर्वतको संयोजक रहेकी उनले स्याङ्जा, कास्की, गुल्मी र पर्वतमा बसेर काम गरेकी थिइन् । कुश्मा नगरपालिका–१० स्थायी घर रहेकी मनरुपाको श्रीमानलाई २०६१ साल मङ्सिर १७ गते स्याङ्जाको श्रीसीकोटमा सुरक्षाकर्मीले हत्या गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप