गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि
काठमाडौँ । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ ।
कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु बाह्य पर्यटकहरुले भरिभराउ छन् ।
सौराहामा घुम्न आउने बाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र बाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ । सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र बाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् ।
पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् ।
क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताए । उनले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक बाह्य रहेको बताए । उनले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताए । उनले जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताए । उनले सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने उल्लेख गरे ।
क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताए । उनले पछिल्लो समय सौराहामा आन्तरिक तथा बाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गरे । उनले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताए । उनले व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताए । उनले राष्ट्रिय निकुञ्जको नियम कानुनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक, हात्ती सफारी, जीप सफारी, बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताए । उनले सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको भन्दै निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको बताए ।
सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरुको आगमन भइरहेको बताए । उनले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताए । उनले आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि समेत भइरहेको बताए । उनले राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेकाले बताए । उनले विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजी गर्न आवश्यक रहेको बताए । उनले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिए पनि त्यहाँबाट पर्यटन व्यवसायीले अझै फाइदा लिन नसकिरहेको उल्लेख गरे ।
त्यस्तै होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताए । उनले सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको बताए । उनले विदेशी पर्यटकको बसाई लम्ब्याउनको लागि सरकारले राष्ट्रिय निकुञ्जमा जानको लागि एक दिनको लागि मात्रै टिकट दिने व्यवस्था परिवर्तन गर्न माग गरे ।
होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृतिक रमणीय होटलहरु बढी रुचाउने गरेको बताए । उनले समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी गरे । उनले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाईमा पर्ने गरेको बताए । उनले बिदाको समयमा सौराहामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले वनवास रिसोर्ट रोजाइमा पर्न थालेको बताए । उनले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताए ।
सौराहामा पर्यटन आगमन सहज बनाउनको लागि सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या अझ बढ्न नसकेको व्यवसायीको गुनासो छ । त्यस्तै व्यवसायीहरुले चितवन आउने पर्यटकको लागि हवाई यातायात पनि महँगो भएको बताए । व्यवसायीहरुले सौराहामा पर्यटन वृद्धि भएसँगै नयाँ लगानी र सम्भावनाका ढोका खुल्दै जाने अवस्था सिर्जना हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिसहित उच्च पदस्थलाई बाँसको कुर्सी उपहार
-
काठमाडौं बसन्तपुरस्थित ओमवहालमा मध्यराती भएको आगलागी नियन्त्रणमा
-
काठमाडौं न्युरोड क्षेत्रको झोंछेमा मध्यरातमा आगलागी
-
१२ बजे, १२ समाचार : बीआरआईले सत्तारुढ एमाले-कांग्रेसबीच खटपटदेखि मध्यरातमा रविलाई पोखरा दौडाएकोमा रास्वपा आक्रोशितसम्म
-
काठमाडौं-तराई द्रूतमार्गका लागि ग्राभेल बोकेको टिपर दुर्घटनामा चालकको मृत्यु
-
१० बजे १० समाचार : बीआरआई सम्झौतापछि कांग्रेस–एमालेको बैठक आह्वानदेखि रवि पक्षधरको गुहारसम्म