शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विद्यालय शिक्षा विधेयक

निजी लगानीका विद्यालयप्रति विद्यार्थी संगठनहरू आक्रामक

सार्वजनिक व्यक्तिका छोराछोरी अनिवार्य सार्वजनिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था गर्न माग
आइतबार, २९ पुस २०८०, १८ : ४८
आइतबार, २९ पुस २०८०

काठमाडौँ । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा विद्यार्थी संगठनहरूले आफ्नो सुझाव राखेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतका विद्यार्थी संगठनले विधेयकमाथि आइतबार आफ्नो धारणा राखेका हुन् ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेकाले त्यही आधारमा शिक्षा प्रदान गर्नुपर्ने उनीहरुको भनाइ छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने बताए । ‘नेपालको संविधानले माध्यमिक तहसम्म पूर्ण रूपमा निःशुल्क भनेको छ । यस विषयमा सर्वोच्च अदालतले पनि ब्याख्या गरेको छ,’ उनले भने, ‘यसलाई हुबहु कायम गर्नका लागि म हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै शिक्षण पेसाप्रतिको आकर्षण घट्दो क्रममा रहेको भन्दै त्यसलाई लोक सेवा समान हैसियतको बनाउनुपर्नेमा अध्यक्ष शेर्पाको जोड छ ।

‘उपत्यका बाहिर म्याथ, साइन्सको टिचर पाउन गाह्रो छ । शिक्षण पेसाप्रतिको आकर्षण घटिरहेको छ । शिक्षण पेसाप्रतिको आकर्षणलाई कसरी बढाउने र यसलाई कसरी सम्मानित बनाउने भन्ने विषयमा साझा सङ्कल्पका साथ अघि बढ्नुपर्छ,’ उनले भने, ‘शिक्षकको सेवा सुविधाको कुरामा लोक सेवा सरह मान्यता दिनुपर्छ भन्नेमा नेपाल विद्यार्थी संगठनको स्पष्ट धारणा छ ।’

शिक्षकसँग गरेको सम्झौताको विरुद्धमा नेविसंघ:

dujang shrepa

शिक्षा मन्त्रालयले अस्थायी, करार तथा राहत शिक्षकहरूसँग गरेको सम्झौताको विरुद्धमा नेविसंघ उभिएको छ । नेविसंघले शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट मात्रै हुनुपर्ने विकल्प अघि सारेको हो ।

‘अस्ति भर्खर शिक्षा मन्त्रालयले करार, राहत शिक्षकहरूसँग गरेको सम्झौता नेपाल विद्यार्थी संगठनका लागि कुनै पनि हालतमा मान्य हुँदैन । अब नियुक्ति हुने सबै शिक्षक खुला प्रतिस्पर्धामार्फत नै नियुक्ति हुनुपर्छ भन्ने हो,’ अध्यक्ष शेर्पाले भने ।

सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढ्नुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । ‘नगर प्रमुख, शिक्षक, मुख्यमन्त्री, प्रधानमन्त्री सबैको छोराछोरी सार्वजनिक विद्यालयमा पढाउन जोड दिनुपर्छ’, अध्यक्ष शेर्पाले भने, ‘पुँजीवादी देशहरुले पनि शिक्षा निःशुल्क गरेका छन् । हामी समाजवाद उन्मुख देशले माध्यमिक तहसम्म निःशुल्क गर्न लाग्नुपर्छ ।’

नेविसंघले प्रधानाध्यापकको नियुक्ति, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको नियुक्ति लगायतका विषयमा समेत समितिलाई सुझाव पेस गरेको थियो । अब खुल्ने विद्यालयको राष्ट्रिय मापदण्ड तय हुनुपर्ने, विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि छुट्टै शिक्षकको दरबन्दी हुनुपर्ने लगायतका विषयमा समेत नेविसंघले सुझाव पेस गरेको हो ।

निजी लगानी बन्द गर्नुपर्छ : अनेरास्ववियु

samik badal

अनेरास्ववियुले शिक्षामा निजी लगानी बन्द गरिनुपर्ने धारणा राखेको छ । अनेरास्ववियु अध्यक्ष समिक बडालले निजी लगानीको विद्यालय शैक्षिक गुठीमा जानुपर्ने भनिएको विषयमा आपत्ति जनाए ।

विधेयकको दफा ४ मा निजी लगानीका विद्यालयको स्थापना र सञ्चालनका सम्बन्धमा आफ्नो सुझाव राख्दै अध्यक्ष बडालले विद्यालय शिक्षामा सरकारी लगानी र परोपकारी सामाजिक संघ संस्थाहरूको लगानी बाहेक निजी लगानी बन्द गर्नुपर्ने बताएका हुन् ।

ऐन प्रारम्भ भएमा प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भइ सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई निश्चित अवधिपछि शैक्षिक गुठीमा जान सकिने व्यवस्था विधेयकमा गरिएको छ । तर, अनेरास्ववियुका अध्यक्ष बडालले निजी शिक्षण संस्थाहरूलाई निश्चित अवधि तोकेर (५ देखि ७ वर्ष) अनिवार्य रूपमा सार्वजनिक शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने बाध्यात्मक प्रावधान राख्नुपर्ने बताए ।

प्रहरी, सेना, शिक्षक र राष्ट्रसेवकका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा अनेरास्ववियुले समेत जोड दिएको छ । ‘नीति निर्माणमा हुनेले सार्वजनिक विद्यालयमा पढाउन रुचि नदेखाउने भएकाले ऐनमै यो व्यवस्था राख्नुपर्छ,’ अध्यक्ष बडालले भने ।

त्यस्तै शिक्षण भाषाको माध्यममा मूल विषयमध्ये गणित, विज्ञान र कम्युटर विषय अंग्रेजी वा नेपाली भाषामा अध्ययन गराउनुपर्ने व्यवस्था गर्न अनेरास्ववियुको माग छ । विधेयकमा यी विषयहरू अंग्रेजी भाषामा मात्र अध्यापन गराउनुपर्ने व्यवस्था थियो । गणित, विज्ञान र कम्प्युटर विषयलाई अंग्रेजीमै मात्र पढाउनुपर्ने व्यवस्था उपयुक्त नहुने र नेपाली पढ्न चाहनेलाई बन्देज लगाउन नहुने अनेरास्ववियुको तर्क छ ।

अनेरास्ववियुले विधेयकका विभिन्न ५३ वटा दफामा संशोधनका लागि सुझाव दिएको छ । त्यस्तै विद्यालय शिक्षा विधेयकमा विभिन्न १७ वटा विषय अनिवार्य रूपमा समावेश गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

दुई खाले शिक्षा अन्य गर्नुपर्छ : अखिल क्रान्तिकारी

pancha singh

अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले समेत सार्वजनिक विद्यालयमा राष्ट्रसेवक र कर्मचारीका छोराछोरीलाई पढाउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

निजी लगानी र सार्वजनिक गरी दुई खाले शिक्षाको व्यवस्था गर्न नहुने उनले बताइन् । ‘निजीलाई प्रोत्साहन गर्न खोजिएको छ । धेरै पैसा, धेरै शिक्षा । कम पैसा, कम शिक्षा र छैन पैसा, छैन शिक्षा भन्ने ढङ्गले विधेयक ल्याइएको छ । मुठ्ठीभर माफियाका लागि निःशुल्क शिक्षाको दायित्वबाट पन्छन पाइन्नँ,’ अध्यक्ष सिंहले भनिन् ।

शिक्षकहरुले स्थानीय तहको मातहत नबस्ने भन्दै राखेको मागमा सरकारले सम्झौता गरेकोमा उनले असन्तुष्टि जनाइन् । ‘शिक्षकहरूले स्थानीय तहको मातहत बस्दैनौँ भनेर आन्दोलन गरेका छन् । संविधान विपरीत स्वेच्छाचारी ढङ्गले हामी कहाँ बस्छौँ, कहाँ बस्दैनौँ भन्न मिल्दैन,’ उनले भनिन् ।

राष्ट्रिय पाठ्यक्रम परिषद्मा निजी विद्यालयका सञ्चालकलाई राख्ने कुरा उचित नभएको उनले बताइन् । खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्नुपर्ने अखिल क्रान्तिकारीको माग छ । शत प्रतिशत शिक्षक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने अध्यक्ष सिंहले बताइन् । शिक्षामा २० प्रतिशत लगानी अनिवार्य गर्नुपर्नेमा उनको जोड थियो ।

विद्यार्थी आन्दोलनमा सहिद भएकाबारे पढाउनुपर्ने : अनेरास्ववियू

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष आरती लामाले विद्यार्थी आन्दोलनमा सहिद भएकाहरूको बारेमा पनि पढाइनुपर्ने बताएकी छन् । विद्यार्थी आन्दोलनबाटै प्राप्त भएको गणतन्त्रदेखि प्रजातन्त्रसम्म विद्यार्थीहरूलाई ज्ञान दिनुपर्नेमा जोड दिइन् ।

शिक्षालाई उत्पादनसँग जोड्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘शिक्षा क्षेत्रमा आवश्यक जनशक्तिको अनुमान गर्न सकिरहेका छैनौँ,’ अध्यक्ष लामाले भनिन्, ‘शिक्षालाई उत्पादनसँग कसरी जोड्ने, त्यसमा ध्यान दिन आवश्यक छ । हाम्रो शिक्षा घोकन्ते मात्रै छ । हाम्रो माटोसँग मेल खाने, हाम्रो मौलिकतासँग मेल खाने शिक्षा भएन । केवल सर्टिफिकेट दिने शिक्षामात्रै देखिन्छ ।’

बालबालिकालाई मेन्टल हेल्थको बारेमा समेत ज्ञान दिनुपर्ने भन्दै गर्न हुने र गर्न नहुने विषयबारे पनि बालबालिकालाई विद्यालय तहमै शिक्षा दिनुपर्ने उनले बताइन् ।

सरकारी विद्यालयमा समेत अंग्रेजीको नाममा शुल्क लिने काम भइरहेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने अध्यक्ष लामाले बताइन् ।  

जनता समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवले पनि नेपाल सरकारबाट पारिश्रमिक लिने गरेका कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए । ‘सरकारी कर्मचारीहरुलाई नै विश्वास छैन कि क्या हो, सरकारी विद्यालयमा पढाइ हुन्छ भन्ने ?’ उनले भने, ‘मन्त्रीका छोराछोरीहरुको नाम सरकारीमा लेखाउनुहोस् । तलबभत्ता सरकारको खाने तर शिक्षककै छोराछोरी सरकारीमा पढ्दैनन् । अरुलाई कसरी विश्वास हुन्छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप