शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
न्यायालय

न्यायाधीश भुवन गिरीविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा

बुधबार, ०३ माघ २०८०, १३ : २६
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । जिल्ला अदालतका निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । 

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको थियो ।  न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । 

जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् । 

न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी छन् । 

अदालतमा मुद्दा र निवेदन विचाराधीन रहेकै अवस्थामा रावलले केही दिनअघि सर्वोच्च अदालत अगाडि आत्मदाह गर्ने भन्दै सञ्चारकर्मीलाई खबर गरेर अदालत अगाडि पुगेकी थिइन् । विचाराधीन मुद्दा र निवेदनलाई प्रभावित पार्ने गरी हर्कत गरेको भन्दै प्रहरीले रावललाई सोही दिन पक्राउ गरेको थियो । मंगलबारसमेत सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोजेपछि रावललाई प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप