सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिष्टल प्यालेसमाथि आर्सनलको शानदार जित

आइतबार, ०७ माघ २०८०, ०६ : ३९
आइतबार, ०७ माघ २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।

आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक-एक गोल गरे । एक गोल भने उपहार पाएको थियो ।

११ औँ मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा क्रिष्टलका डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो ।

ट्रोसान्डले ५९ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गरेपछि आर्सनल ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

जितपछि आर्सनल ४३ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो । समान ४३ अङ्क भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अङ्क रहेको छ ।

लिभरपुल भने ४५ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनलसँग पराजित भएको क्रिष्टल प्यालेस भने १४ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप