बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कन्सर्ट हेर्न राष्ट्रपति सरकारी हेलिकप्टर चढेर गएपछि ...

मङ्गलबार, ०९ माघ २०८०, १४ : ३५
मङ्गलबार, ०९ माघ २०८०

मनिला । यतिबेला फिलिपिन्सका राष्ट्रपति विवादमा घेरिएका छन् । बेलायती रक ब्यान्ड कोल्डप्लेको कन्सर्ट हेर्नका लागि आफ्नो आधिकारिक चपर विमान चढेर गएपछि राष्ट्रपति फर्डिनान्ड मार्कोज जुनियर विवादमा मुछिएका हुन् । 

गएको शुक्रबार मनिलाको उत्तरमा रहेको फिलिपिनी अरेनामा कोल्डप्लेको कन्सर्ट आयोजना भएको थियो । सो कन्सर्ट हेर्न मार्कोज पत्निसहित पुगेका थिए । सडकको जाम छल्न उनले राष्ट्रपतिको आधिकारिक विमानको प्रयोग गरेका थिए ।

सामाजिक सञ्जालमा उनको यो कदमको तत्कालै विरोध भएको थियो । निजी मनोरञ्जनका लागि करदाताहरुले तिरेको पैसा दुरुपयोग गरेकोमा उनीमाथि प्रश्न गर्न थालियो । फिलिपिन्सको सडकमा दुसाध्य बन्दै गइरहेको जामको समस्या समाधान नगरेको भन्दै उनको आलोचना पनि हुन थाल्यो । 

कन्सर्ट हेर्न गएका हजारौँ आम फिलिपिनीहरुले सडकको जाम सहँदै गए । तर जाम छल्नकै लागि राष्ट्रपतिले चपर चढे । कन्सर्टमा जान केही व्यक्ति ७ घन्टा अगाडि नै घरबाट निस्किएका थिए ।

कयौं मानिस जाममा फसेर आधा कन्सर्ट सकिँदा बल्ल कन्सर्ट स्थलमा पुगे । चौतर्फी विरोध चुलिनथालेपछि राष्ट्रपतिको सुरक्षा कमान्ड हेर्ने जर्नेल नेल्सल मोरालेसले शनिबार विज्ञप्ति जारी गर्नु पर्‍यो । 

कन्सर्टमा ४० हजारको भिड हुने अनुमान र राष्ट्रपतिको सुरक्षा जोखिमलाई हेरेर चपर प्रयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको थियो । यो विज्ञप्तिले आलोचना केही मत्थर गरेपनि प्रश्न उठ्न छाडेको छैन । सुरक्षा जोखिम भएको ठाउँमा राष्ट्रपति नगएको भएपनि भैहाल्थ्यो नि भन्ने आवाजहरु उठिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप