बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
मधेस सरकार

जनमतका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा थिए मुख्यमन्त्री यादव

मङ्गलबार, ०९ माघ २०८०, १८ : ०१
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनमत पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको खुलेको छ । उक्त योजनाकै बिच जनमतका मन्त्रीले मंगलबार राजीनामा दिएका छन् भने सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिने निर्णय भएको  नेता चन्दन सिंहले जानकारी दिए। 

 सिंहले मधेस सरकारमा मतभेद उत्पन्न भएपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थन समेत फिर्ता लिएको रातोपाटीलाई जानकारी दिए । ‘पार्टी सरकारबाट बाहिरिएको छ । हामीले मुख्यमन्त्रीलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने निर्णय गरेका छौँ’, उनले भने । 

गत माघ ३ गते मधेस सरकारले मधेस स्वाभिमानी दिवस मनाइरहेको बेला जनमत नेताहरूले समारोहस्थलमै मुख्यमन्त्री र अर्थमन्त्रीमाथि भ्रष्टाचारीको आरोप लगाउँदै नाराबाजी गरेका थिए । सो घटनापछि आक्रोशित मुख्यमन्त्री यादवले त्यही दिन जनमत पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएका थिए । तर जनकपुरमै रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले रोकेका थिए । 

मधेस सरकारका एक मन्त्रीले भने, ‘मुख्यमन्त्रीले केही मन्त्रीसँग मन्त्रीहरू फायर गर्नेबारे छलफल गरिसक्नु भएको थियो । तर, पार्टी अध्यक्षले रोक्नुभयो ।’ दुई पार्टीबीचको विवाद अझै साम्य नभएपछि बर्खास्तीबारे मुख्यमन्त्रीले पुनः पार्टीमा छलफल चलाएकै बेला जनमत सरकारबाट बाहिरिएको हो । 

कृषि विश्वविद्यालय शिलान्यासबारे लफडा

जनमत र जसपाबीच मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने विषयमा पनि विवाद थियो । विशेषतः प्रमुख अतिथि को बन्ने भन्ने भन्नेमा सीके राउत र उपेन्द्र यादवबिच विवाद थियो । तर, सीकेलाई रोकेर यादव आफैँ प्रमुख अतिथि बन्ने तय भएपछि विवादले उग्र रूप लिएको थियो । 

विवादका कारण उक्त कार्यक्रमलाई रोक्न जनमतका मन्त्रीहरू नै लागि परेका थिए । जसअनुसार जनमत पार्टीबाट मधेस प्रदेशमा शिक्षा मन्त्री बनेका महेश यादवले कार्यक्रम स्थगित गर्न मुख्यमन्त्री यादवलाई दबाब दिएका थिए । 

माघ ७ गते विज्ञप्ति जारी नै गरेर उनले माघ ८ गते हुने शिलान्यास कार्यक्रमलाई स्थगित गर्न आग्रह गरेका थिए । उनले आग्रह मात्र होइन, कार्यक्रम स्थगित नगरे त्यसबाट हुने अप्रिय घटनाको जिम्मेवार मन्त्रालयले नहुने समेत विश्वविद्यालयका भिसी र रजिस्टारलाई समेतलाई चेतावनी दिएका थिए । त्यसपछि मुख्यमन्त्री यादव जनमतका मन्त्रीप्रति झन् आक्रोशित भएका थिए । 

मुख्यमन्त्री शिक्षा मन्त्री महेश यादवलाई तत्कालै बर्खास्त गर्ने अवस्थामा पुगेका थिए । तर फेरि अध्यक्ष उपेन्द्र यादवले रोके । त्यही दिन जनकपुरमा आयोजित एउटा कार्यक्रममा मुख्यमन्त्री यादवले मन्त्री महेश यादवमाथि आक्रोशित हुँदै भनेका थिए, ‘गठबन्धनले भन्यो भने म आजै बर्खास्त गर्छु । आज गरिएन भने माघ ११ गतेपछि गर्छु नै ।’

किन सम्हालिएका थिए उपेन्द्र यादव ?

अध्यक्ष उपेन्द्र यादवले यसरी पटक पटक मन्त्रीलाई बर्खास्त गर्नबाट रोक्नुको कारण हो राष्ट्रिय सभाको चुनाव । राष्ट्रिय सभाको चुनावअघि जनमतलाई चिढ्याउँदा चुनावी नतिजा तलमाथि हुनसक्ने यादवको बुझाइ थियो ।  सोहीअनुसार यादवले आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सरोजलाई जनमतका मन्त्रीमाथि कुनै कदम नचाल्न भनेका थिए । 

मधेस प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री सञ्जय यादवले आफूहरुको चाहना जनमतको बहिर्गमन नै होस् भन्ने रहेकाले राजीनामालाई स्वाभाविक रूपमा लिएको बताए ।  मुख्यमन्त्री यादवले पटक पटक औपचारिक कार्यक्रममै पनि जनमतलाई सरकार छाडेर जान भनेको पनि उनले स्मरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप