सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा, ४ हजार २९ सुरक्षाकर्मी मैदानमा

२ हजार ४७ मतदाताको हातमा ५० जनाको भाग्य परीक्षा
बुधबार, १० माघ २०८०, २१ : ५९
बुधबार, १० माघ २०८०

काठमाडौँ । माघ ११  गते (भोलि) हुने राष्ट्रियसभा निर्वाचनको सबै तयारी पुरा भएको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि बिहीबार निर्वाचन हुँदैछ । 

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई बताए ।

'भोलि गर्नुपर्ने काम भोलि नै गर्नुपर्छ । त्योभन्दा अगाडि गर्नुपर्ने सबै तयारी पुरा भएका छन्,' उनले भने,  'मतदान केन्द्रमा कर्मचारीहरु खटिसकेका छन्। मतदान केन्द्र निर्माण भइसकेका छन् । सबै राजनीतिक दलसँग गर्नुपर्ने बैठकहरु भएका छन् । हामी भोलि बिहानको ९ बजेको प्रतीक्षामा छौँ ।'

उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

प्रदेशसभा सदस्यका लागि एउटा र पालिका प्रमुख उपप्रमुखका लागि एउटा गरी हरेक प्रदेशमा दुई दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको पौडेलले बताए ।

सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए । 'राष्ट्रियसभा निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय हाम्रो स्थायी संरचना भयो । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचनको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीशको नेतृत्वमा सबै निर्वाचन केन्द्रमा ९-९ जना कर्मचारीको व्यवस्था गरिएको छ,' उनी भन्छन्, 'तीन जना कर्मचारी प्रदेश निर्वाचन कार्यालयकै छन् । पाँच जना कर्मचारी मात्रै अन्य छन् ।'

निर्वाचन हुने कलस्टर अनुसार कम्तीमा ७ र बढीमा १० जना कर्मचारी एउटा मतदान केन्द्रमा रहने पौडेलको भनाइ छ । भोलि बेलुकका ७ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन आयोगको अपेक्षा छ ।

'भोलि दिउँसो तीन बजे निर्वाचन सकिन्छ । एक डेढ घण्टा कागजपत्र, मुचुल्का लगायतको औपचारिकता पुरा गरिन्छ । राजनीति दल र उम्मेदवारका प्रतिनिधि बसेर केही छलफल गर्ने काम गर्छन् । त्यसपछि मतगणना सुरु हुन्छ । भोलि बेलुका ६ ७ बजेसम्ममा नजिता आइसक्ने आयोगको अपेक्षा छ,' उनले भने ।

पौडेलका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र पालिका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

कति छन् मतदाता ?

निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट ५ सय ४९ प्रदेशसभा सदस्य र १४ सय ९८ पालिका प्रमुख उपप्रमुखले भोलि राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न पाउने छन् । ५५० जना प्रदेशसभा सदस्य मध्ये एक जनाको निधन भएको छ ।

यस्तै १५०६ जना पालिका प्रमुख उपप्रमुख मध्ये ४ जनाको निधन र ४ जना निलम्बनमा परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ । 

४ हजार २९ जना सुरक्षाकर्मी मैदानमा

नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार राष्ट्रियसभा निर्वाचनको सुरक्षाका लागि जम्मा ४ हजार २९ जना प्रहरी मैदानमा खटाइएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम लुम्बिनी प्रदेशमा सुरक्षाकर्मी खटाइएको पाइन्छ ।

कोशी प्रदेशमा ३ सय ८, मधेस प्रदेशमा २ हजार ८ सय ७३, बागमती प्रदेशमा २ सय ७३, गण्डकी प्रदेशमा १ सय ५४, लुम्बिनी १ सय १८, कर्णाली प्रदेशमा १ सय २८ र सुदूरपश्चिम प्रदेशमा १ सय ६८ जना सुरक्षाकर्मी खटाइएको छ । केन्द्रमा एक सय जना सुरक्षाकर्मी तैनाथ अवस्थामा राखिएको प्रवक्ता ढकालले रातोपाटीलाई बताए ।

५० जना चुनावी प्रतिस्पर्धात्मक मैदानमा

राष्ट्रियसभा  सदस्यका लागि सातै प्रदेशबाट ५० जना चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । गठबन्धनसँग मुकाबिला गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ । 

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन् । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन् ।

गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले  अन्यतर्फ विजेता झा र  महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ । यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ ।

मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, झा र महासेठबिच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनीबिच प्रतिस्पर्धा हुने छ ।

यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपांङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका  घनश्याम रिजाल भिड्दै छन् ।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ । यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङगतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

अन्यतर्फ  बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र  दुवालबिच भिडन्त हुने छ । यस्तै दलिततर्फ रिजाल, विक र  नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपाङगतर्फ  अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

अन्यतर्फ सुवेदी, घर्ती, थापा र चौधरी गरी चार जना भिड्दैछन् भने महिलातर्फ सापकोटा, सिंह र केसीबिच प्रतिस्पर्धा हुने छ ।

यस्तै कर्णाली प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया,  दलीततर्फ माओवादीका विष्णुबहादुर विश्वकर्मा र महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल चुनावी मैदानमा छन् ।

यता एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत विक उम्मेदवार छन् । अन्यतर्फ रोकाय र भट्टको प्रतिस्पर्धा हुने छ भने दलीतर्फ विश्वकर्मा र विकबिच भिडन्त हुने छ । महिलातर्फ मल्ल र शाही भिड्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहोरा र अपाङ्गतर्फ नारायणदत्त भट्ट उम्मेदवार छन् भने महिलातर्फ माओवादीकी रेणु चन्द चुनावी मैदानमा छन् । यस्तै एमालेबाट महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गतातर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेलले उम्मेदवार छन् ।

अन्यतर्फ बोहोरा र खरेल भिड्दा महिलातर्फ चन्द र घिमिरेबिच प्रतिस्पर्धा हुने छ । यस्तै अपाङ्गतर्फ भट्ट र जोशी भिड्ने छन् । भोलि हुने निर्वाचनमा ५० जना उम्मेदवारको भाग्य परीक्षा २ हजार ४७ मतदाताको हातमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप