सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

दलका नेताबाट खगराजलाई हटाइएपछि के भन्छन् सुदूरपश्चिमका माओवादी नेताहरू ?

शुक्रबार, १२ माघ २०८०, २१ : ०४
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता परिवर्तन गरिएसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टलाई संसदीय दलको बहुमतले हटाएको हो ।

शुक्रबार बसेको बहुमत सदस्यहरूको बैठकले सभाका प्रमुख सचेतक समेत रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो । उक्त निर्णय प्रदेशसभा सचिवालयमा पठाइसकेको नेता धामीले बताएका छन् ।

बैठकमा नेता खगराज भट्टसहित सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सांसद जानकीदेवी कुँवर भने सहभागी थिएनन् । संसदीय दलको नेता परिवर्तन भए पनि तत्काल मन्त्रिपरिषद् फेरबदल नहुने धामीले प्रस्ट पारेका छन् ।

यता संसदीय दलको नेता परिवर्तन भएको विषयमा आफूलाई कुनै जानकारी नभएको मन्त्री साउदले बताएका छन् । आफू कृषि समितिको बैठकमा रहेकै बेला दलको नेता हटाएको सूचना आफूले सामाजिक सञ्जालबाट पाएको उनले जानकारी दिए ।

‘यसबारे मैले बुझेको छैन । यदि त्यस्तो हो भने यसले पार्टीभित्र विवाद सिर्जना हुनसक्छ । यस्ता गतिविधिले सरकारसमेत अप्ठ्यारोमा पर्न सक्छ,’ मन्त्री साउदले भने, ‘हामी बसेर छलफल गर्छौं । दलका नेता र पार्टी इन्चार्जसँग बसेर एउटा निष्कर्ष निकाल्छौँ ।’

यता संसदीय दलका नेता परिवर्तन सम्बन्धमा पार्टीलाई  कुनै जानकारी नभएको प्रदेश अध्यक्ष हरिराम चौधरीले बताए । यद्यपि संसदीय दलमा बहुमत सदस्य नेता परिवर्तनको पक्षमा रहेको आफ्नो जानकारीमा रहेको उनले बताए । संसदीय दलको विवाद पार्टी हेडक्वार्टरमा पुगेकाले आफूहरूले केही गर्न नसक्ने उनको भनाइ थियो ।

‘तत्काल के गर्ने भन्ने विषयमा हेडक्वार्टरले नै निर्णय गर्ने विषय हो । मागदाबी केन्द्रमा बुझाएकाले अब केन्द्रले नै आवश्यक निर्णय गर्छ,’ प्रदेश अध्यक्ष चौधरीले भने, ‘अहिले हामीले केही सोचेका छैनौँ । अहिले सांसदहरूले मात्रै यस विषयलाई अगाडि बढाएका छन् ।’

चौधरीका अनुसार बहुमत सांसदहरूले आफ्नो मागदाबी पार्टी हेडक्वार्टरमा बुझाएको भनेका छन् । पार्टी अध्यक्षले राष्ट्रियसभा निर्वाचनपछि विवाद टुङ्ग्याउँला भनेकोबाहेक आफूलाई थप केही थापा नभएको उनले बताए ।

यसअघि पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा धामीसहित ७ जना सदस्यले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्नुपर्ने, संसदीय दलको नेता फेर्नुपर्ने लगायत मागदाबी पेस गरेका थिए ।

सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन र संसदीय दलका नेताको भूमिका राम्रो नदेखिएको उनीहरुको आरोप थियो । उनीहरुले प्रचण्डलाई लिखित पत्र नै बुझाएका थिए । पत्र बुझाउनेमा धामीसहित प्रदेश सभामुख भीमबहादुर भण्डारी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए ।

स्रोतका अनुसार चौधरीसहित नेता भट्ट र बिना मगर तीन दिनअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका थिए । भेटवार्ता सकारात्मक भएको बुझिएको छ । अहिले संसदीय दलको नेता परिवर्तन पनि प्रचण्डकै निर्देशनमा आएको स्रोतको दाबी छ ।

‘संसदीय दलको विवादलाई लिएर तीन दिनअघि खगराज भट्ट, हरिराम चौधरी र बिना मगरले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसबेला उहाँले के भन्नुभयो थाहा छैन । तथापि खगराजजीसँग पछिल्लो समय अध्यक्षज्यू सकारात्मक भएको देखिँदैन’, एक नेताले भने, ‘संसदीय दलको नेताको भूमिका जेजस्तो खेल्नुपर्थ्यो, उहाँले त्यो गर्न नसकेको अध्यक्षलाई लागेको मैले बुझेको छु ।’

सरकारमा सहभागी मन्त्रीहरूको वरीयताक्रम, संवैधानिक समितिमा खेल्नुपर्ने भूमिका र विपक्षी दलसँग समन्वय पुगेन भन्ने बुझाइ रहेको उनले बताए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले हेडक्वार्टरबाट निर्देशन आएर नेता फेरिएको भए आफूले केही गर्न नसक्ने बताए । पार्टीको निर्देशनबिना नै फेरबदल भएको भए सहमतिमा टुङ्ग्याउन सक्ने उनको भनाइ छ । यद्यपि अध्यक्ष प्रचण्डसँगको भेटमा पार्टीको संस्थागत निर्णयबाटै विवादलाई हल गर्नुपर्ने सुझाव आएको उनले जानकारी दिए ।

‘बहुतम सांसद बसेर निर्णय ग¥यौँ भन्ने खबर आएको छ । यसअघि हामीसँगको भेटमा पनि अध्यक्षज्यूले बहुमत सदस्यहरूको निर्णय आफूलाई मान्य हुने बताउनु भएको थियो,’ पुनले भने, ‘उहाँसँगको भेटमा हामीले यसलाई पार्टीको संस्थागत निर्णय बनाउनुपर्ने सुझाव दिएका थियौँ । त्यसका लागि पार्टी हेडक्वार्टरले पहल लिनुपर्छ । प्रदेशकै सचिवालय बनेको छ । उसले पनि पहल लिनुपर्छ भन्ने हाम्रो सुझाव थियो ।’

पछिल्लो समय के कसरी परिस्थिति विकास भयो भन्नेबारे आफूलाई थाहा नभएको उनले बताए । ‘हेडक्वार्टरबाट नै निर्णय भएको भए हामीले केही गर्न सक्दैनौँ’, उनले भने ।

संसदीय दलको विवादका विषयमा हेडक्वार्टर बाहेक पार्टीको कुनै पनि तहमा छलफल नभएको पनि पुनले स्पष्ट पारे । सांसदहरूको डेलिगेसनपछि समस्या समाधानका विषयमा पुसको तेस्रो हप्ता अध्यक्ष प्रचण्डसँग छलफल भएको उनले स्वीकारे ।

पुस २५ गते विवाद समाधानका लागि पुनसहित पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, लक्ष्मणदत्त जोशी, तारामान स्वाँर, शरदसिंह भण्डारी लगायत नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप