सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रङ्गमञ्च

हलमा छैन फिल्म, थिएटर नाटकले भरिभराउ

शनिबार, १३ माघ २०८०, १४ : १२
शनिबार, १३ माघ २०८०

काठमाडौँ । नेपाली फिल्मका नियमित दर्शक अहिले निराश छन् । किनभने गत पुस २९ मा रिलिज भएको ‘चित्रा’ र ‘पर्खी बसेँ तिमिलाई’पछि उनीहरूले नयाँ फिल्म हेर्न पाएकै छैनन् ।

पहिलो, दोस्रो र तेस्रो साता पुसमा कुनै पनि फिल्म हेर्न नपाएका दर्शकले अन्तिम साता ‘चित्रा’ र ‘पर्खी बसेँ तिमिलाई’ हेर्दा माघमा धेरै फिल्म हेर्ने अपेक्षा थियो ।माघको दोस्रो सातासम्म आउँदा त्यो अपेक्षा पुरा हुन सकेको छैन । अहिलेसम्मको फिल्म रिलिजको क्यालेन्डर हेर्दा माघको तेस्रो साता पनि कुनै फिल्म छैन । आफ्ना फिल्म रिलिजका लागि सधैँ तँछाडमछाड गर्ने, एकै मितिमा ४ वटासम्म जुधाउने निर्माता, निर्देशक अहिले सुस्ताउँदा माघको पहिलो सातादेखि नै हलमा नयाँ नेपाली फिल्म अभाव छ ।

हलमा फिल्म नभए पनि यो समय नाट्य थिएटर भने नाटकले भरिभराउ छन् । यसले पछिल्लो समय थिएटर राम्रो चलायमान भएको अनुमान गर्न सकिन्छ ।

केही समयदेखि थिएटर राम्रो चलायमान रहेको आरोहण गुरुकुलका राजकुमार पुडासैनी बताउँछन् । ‘अहिले थिएटरमा नाटक नियमित भएको मात्र होइन, दर्शक पनि बढेका छन्’, पुडासैनीले भने ‘यो थिएटर चलायमान भएको सङ्केत हो ।’ केही महिनायता सबै थिएटरमा नाटक नियमित जस्तो रहेको उनको भनाई छ ।

पुडासैनीको बिचारसँग सहमत छन् शिल्पी थिएटरका कुमार आले पनि । उनी पनि पछिल्लो समय नाटकमा दर्शक बढेको बताउँछन् । भन्छन्, ‘नाटकमा दर्शक बढेपछि थिएटरमा नाटक पनि नियमित हुन थालेका छन् ।’ दर्शक बढेपछि नाटकमा फिल्मी कलाकारको आकर्षण समेत बढेको उनी सुनाउँछन् ।

  • यस्ता छन् थिएटरमा नाटक

यतिबेला राजधानीमा तीन नाट्य घर मण्डला थिएटर, गुरुकुल थिएटर र ओपरा थिएटरमा प्याक छ । जसमा ‘द जू स्टोरी’, ‘समयको पीडा’ र ‘मासिन्या’ नामक नाटक मञ्चन भइरहेको छ । ‘द जू स्टोरी’ आरोहण गुरुकुलमा मञ्चनमा छ, भने ‘समयको पीडा’ ओजस थिएटरले ल्याएको हो । ‘मासिन्या’ मण्डला थिएटरमा नियमित मञ्चनमा छ । फरक फरक थिएटरमा मञ्चमा रहेका सबै नाटकका विषयवस्तु र कलाकार भन्ने भिन्न छन् ।

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘द जू स्टोरी’ अमेरिकन नाटककार एडवर्ड अल्बीको नाटकलाई द वर्ड थिएटर नेपालले नेपाली भाषामा रूपान्तरण गरेको हो ।  नाटकलाई सजग रानाले निर्देशन गरेका छन् ।

एक्लोपन महसुस गरिरहेका युवा पुस्ता, मानसिक रोगले पीडित दुई विम्ब प्रतिको लैङ्गिक पहिचान नाटकमा देखाउन खोजिएको छ । द वर्ड थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटकमा नाटकमा कलाकार राजकुमार पुडासैनी, विजय ताम्राकार, नर क्षेत्री र अदिति श्रेष्ठको अभिनय छ ।

त्यस्तै नाटक ‘समयको पीडा’ रातोपुलस्थित ओजस थिएटरमा मञ्चन भइरहेको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक गत बुधबारदेखि सुरु भएको हो ।

कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुति रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण हो । नाटकमा रोजगारी लागि नेपालबाट बिदेसिएका नेपालीहरू नफर्केपछि एक्लिएका बा–आमाको पीडालाई नाटकमा समावेश गरिएको छ । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेरसँगै आफ्नो सन्तति पनि घट्ने रहेछन् । यो साँच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा छ ।

नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पूर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दीप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा छन् ।

त्यस्तै ‘मासिन्या’ थापागाउँस्थित मण्डला थिएटरमा छ । नाटकमा विशेषतः तामाङ समुदायले भोग्दै आएको उत्पीडनको कथालाई प्रस्तुत गरिएको छ । त्यसैमा समुदायको जीवनपद्धति, संस्कृति, लय र परिवेशहरू नाटकमा देख्न सकिन्छ । तामाङ समुदायमाथि गरेको विभेद र अत्याचारको जीवन्त प्रस्तुत समेत नाटकमा छ ।

राजु स्याङ्तान, लक्ष्मी रुम्बा र रावतको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामा हुन् । बिहीबारदेखि सुरु भएको नाटक माघ २८ गतेसम्म मञ्चन हुनेछ ।

नाटकमा रुपेश तामाङ, रोहनी लामा, सुनिल तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, रविन दोङ, विकास लामा, इंगीहोपो कोइँच सुनुवार, शीतल थोकर, विजय नेपाल, निर्मल साउद लगायतका कलाकारहरुको अभिनय छ ।

  • मञ्चनको तयारी पनि

‘द जू स्टोरी’, ‘समयको पीडा’ र ‘मासिन्या’ मात्र होइन, थिएटरमा दर्शकले ‘दि डिपाचर’ र ‘गंगालाल’ नाटक पनि हेर्न पाउँछन् । ‘दि डिपाचर’ र ‘गंगालाल’ केही दिनमै मञ्चन सुरु हुने नाटक हो । ‘दि डिपाचर’ कालिका स्थित सर्वनाम थिएटर स्थानमा २० माघबाट मञ्चन हुँदैछ, भने   ‘गंगालाल’ १९ माघबाट शिल्पी थिएटरमा मञ्चन हुँदैछ ।

‘दि डिपाचर’मा नरेन भट्टराईको लेखन निर्देशन रहेको छ । उच्चशिक्षा अध्ययनको निम्ति विभिन्न देशमा पुगेका र जाने तैयारीमा रहेका युवा र तिनका परिवारले भोग्ने झमेलाहरू लाई नाटकले देखाउनेछ । बिदेसिनु रहर हो कि बाध्यता यो अर्को बहसको विषय होला, तर नाटकमा बिदेसिएकाहरू र बिदेसिने तैयारी गरिरहेकाहरूको आफन्त  र परिवारको महत्त्व कति हुन्छ भन्ने कुरा समेत देख्न पाइन्छ ।

नाटकमा नरेन भट्टराई, शोभा कार्की, धिरज थापा मगर, सुरज पराजुली, विध्यक तिलक, स्वस्थानी राउत, सुदिस थापा मगर, मुकेश हमाल लगायतको अभिनय देख्न सकिन्छ ।

त्यस्तै ‘गंगालाल’ चे शंकरको लेखन निर्देशन रहेको नाटक हो । सहित गंगालाल फाउन्डेसन  नेपालको प्रस्तुतिमा गार्डेन थिएटर कम्युनिटीको रहेको नाटक शहिद गंगालालको जीवनीमा आधारित भएर मञ्चन हुन लागेको हो । नाटकमा इनार बानु, निरज दाहाल, कुमु एडेन बात्री, रोशन चन्द, दिपक पच्छलदङ्या, रेवन राई, निर्भिक भट्टराई, एलिजा तुम्बापो, शकु शाहलगायतको अभिनय रहने छ । नाटक सहिद गंगालाल श्रेष्ठको चित्रहरूमा आधारित रहेर बनाइएको निर्देशक चे शंकरले बताए । उनले गंगालालको राजनीतिक, साहित्यिक लगायतका विभिन्न आयाम नाटकमा देखाइने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप