आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुटले तोडे दुई दिग्गज क्रिकेटर तेन्दुल्कर र पोन्टिङको कीर्तिमान

सोमबार, १५ माघ २०८०, १६ : ४६
सोमबार, १५ माघ २०८०

काठमाडौँ । इङ्ल्यान्डले भारतलाई उसैको घरेलु मैदानमा हराएको पहिलो टेस्ट क्रिकेटमा केही रोचक कीर्तिमान पनि बनेका छन् । हैदरावादमा सम्पन्न पहिलो टेस्टको चौथो दिन भ्रमणकारी टोली इङ्ल्यान्डले भारतलाई २८ रनले हराएको थियो ।

उक्त खेलपछि इङ्ल्यान्डका जो रुट भारत–इङ्ल्यान्ड टेस्ट शृंखलाको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको रुपमा दरिन पुगेका छन् । उनले आइतबार सम्पन्न पहिलो टेस्टको पहिलो पालीमा २९ र दोस्रो पालीमा दुई रन बनाएका थिए ।

पहिलो पालीमा १० रन बनाएसँगै रुटको नाममा उक्त कीर्तिमान लेखिएको थियो । उनले भारतकै महान क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका हुन् । त्यसअघि तेन्दुल्कर भारत–इङ्ल्यान्ड टेस्ट क्रिकेट शृंखलामा सबैभन्दा बढी रन बनाउने खेलाडी थिए ।

भारत–इङ्ल्यान्ड टेस्ट क्रिकेट शृंखलामा तेन्दुल्करले कुल दुई हजार पाँच सय ३५ रन बनाएका थिए । आइतबार सम्पन्न पहिलो टेस्टपछि रुटले भारत–इङ्ल्यान्ड टेस्ट शृंखलामा बनाएको रन सँख्या कुल दुई हजार पाँच सय ५७ पुगेको छ ।

यसैगरी इङ्ल्यान्डका रुट आइतबार सम्पन्न टेस्टपछि भारतविरुद्ध सबैभन्दा बढी टेस्ट रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । उनले अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको कीर्तिमान तोडेका हुन् । यसअघि भारतविरुद्धको टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पोन्टिङ थिए ।

आइतबार सम्पन्न पहिलो टेस्टको दोस्रो पालीमा दुई रन बनाएसँगै रुटले उक्त कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । भारतविरुद्धको टेस्ट क्रिकेटमा पोन्टिङले कुल दुई हजार पाँच सय ५५ रन बनाएका थिए । रुटले भारतविरुद्ध बनाएको टेस्ट रनको सँख्या भने दुई हजार पाँच सय ५७ पुगेको छ । पोन्टिङले २९ र रुटले २५ खेलमा उक्त रन बनाएका हुन् ।

यसैगरी हैदराबाद टेस्टसँगै भारतका रविचन्द्रन आश्विन विश्व टेस्ट च्याम्पियनसिपमा लिएको विकेट सँख्या पनि एक सय ५४ पुगेको छ । उनी विश्व टेस्ट च्याम्पियनसिपमा सर्वाधिक विकेट लिने बलरको सूचिमा तेस्रो स्थानमा छन् । पहिलो स्थानमा अस्ट्रेलियाका स्पिनर नाथन लियोन (एक सय ७४ विकेट) र दोस्रो स्थानमा अस्ट्रेलियाकै तिब्रगतिका बलर प्याट कमिन्स (एक सय ६९ विकेट) छन् ।

यसैगरी हैदराबाद टेस्टसँगै भारतका रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय ५० विकेटको कोशेढुंगा पुरा गरेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको कुल विकेट सँख्या पाँच सय ५३ पुगेको छ । उनले टेस्टमा दुई सय ८०, एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय २० र टी–२० अन्तर्राष्ट्रियमा ५३ विकेट लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप