बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिको हराएको जग्गा खोजी गर्न मन्त्री किरातीको निर्देशन

मङ्गलबार, १६ माघ २०८०, १४ : ३९
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोष अन्तर्गत रहेको तर हराइरहेको जग्गाको खोजी गर्न कोषलाई निर्देशन दिएका छन् ।  

मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा बोल्दै मन्त्री किरातीले पशुपतिको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिँदै हराएको जग्गाको खोजी गर्न समेत निर्देशन दिएका हुन् ।

बैठकको एजेण्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किरातीले कोषको जग्गामा हैकम जमाएर व्यवशायीक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् । तत्काल कानुनी प्रक्रिया पुराएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिशान घर खाली गराउन मन्त्री किरातीको निर्देशन अनुसार बोर्डले निर्णय गरेको छ । 

पशुपति क्षेत्र विकास कोषको काठमाडौँ महानगरपालिका वडा नम्बर ८ गाँचा पोखरीस्थित साबिक कित्ता नम्बर ९३, हालको कित्ता नं १०२,३३३,३३५,११०,४१९,३११,२८६,११२,११७,२८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाएर भोगचलन गर्दै आएका छन् । 

त्यस्तै वडा नं ३ भगवानस्थानमा साबिक कित्ता नं ५१बाट हालको कित्ता नं १४३,१४४,६५,२८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको पाइएको छ । 

त्यस्तै सिफलस्थित लामा पोखरी रहेको कित्ता नं १३५,१८०,८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन् । यी जग्गामा रहेको संरचना हटाउनका लागि कानुनी प्रक्रिया पुरा गरी प्राविधिक मुल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । 

बोर्डका सदस्य समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक मुल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । 

त्यस्तै गोठाटारसँगै पशुपतिको क्षेत्रविकास कोषको नाममा देशभरि रहेको जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने समेत बोर्ड बैठकमा निर्णय भएको छ । 

हराएको जग्गा खोजीका लागि पूर्वसचिव स्तरीय उच्च समिति गठन गरिने मन्त्री किरातीले बताए  ।  

यससँगै विवादित पशुपति आर्यघाटको आरतीको विषयमा सत्यतथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति समेत गठन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप